खानेपानी आयोजनामा लापरवाही,स्थानीयसँग स्वीकृति नलिई सडक भत्काइयो

धरान । एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदानमा सञ्चालन भइरहेको धरान खानेपानी आयोजना निर्माणको क्रममा ठेकेदार कम्पनी तियञ्जिन तुदी जेभीले लापारवाही गरेको पाइएको छ । धरान १८ स्थित बुद्धचोक र दुर्गा चोकबीचको सडकखण्डमा स्थानीय उपभोक्ताहरुसँग पुर्वस्वीकृति नलिई पक्की सडक भत्काएको पाइएको छ ।
आयोजना निर्माणको क्रममा पाइपलाइन विस्तार गर्नुअघि स्थानीयबासी एवं सडक उपभोक्ता समितिसँग छलफल गरी लिखितरुपमा सहमति लिएर मात्र सडक भत्काउने आयोजना, परामर्शदाता र ठोकेदारबीच त्रिपक्षीय समझदारी थियो ।स्थानीय उपभोक्ताहरुले आफुहरुलाई थाहै नदिई पक्की सडक भत्काएको भन्दै धरान उपमहानगरपालिकामा मौखिक गुनासो गरेपछि मात्र ठेकेदार कम्पनीको लापरवाही बाहिरिएको हो । गुनासो आएलगत्तै उपमहानगरपालिकाले आयोजनाको परामर्शदाता बिल्डिङ डिजाइन अथोरिटी(बिडिए)लाई जानकारी गराएर तत्काल काम रोक्न निर्देशन दिएको थियो । निर्देशन आएपछि बिडिएले पनि आइतबारै ठेकेदार कम्पनीलाई काम रोक्न निर्देशन दिएको थियो ।
त्रिपक्षीय समझदारीअनुसार ठेकेदार कम्पनीले अनिवार्य पिआरओ अर्थात जनसम्पर्क अधिकारी राख्नुपर्ने हुन्छ । ती अधिकारीले काम शुरु गर्नुअघि स्थानीयबासी एवं उपभोक्ता समितिसँग समन्वय गरी कामको बारेमा विस्तृतरुपमा जानकारी गराउने र लिखितरुपमा स्वीकृति लिनुपर्ने हुन्छ । कतिपय सडक उपभोक्ताहरुको सहभागीतामा भर्खर पक्की भएको र पाइपलाइन विस्तार गनेक्रमा भत्काउनु पर्दा विवाद अथाव मझेला नहोस् भनेर यस्तो समझदारी गरिएको थियो । कतिपय सडकका उपभोक्ताहरुले भर्खर पक्की गरेको सडक नकाटियोस भन्ने चाहना व्यक्त गरिरहेका छन् । ‘ठेकेदारले पिआरओ राखेर काम गर्नुअघि स्थानीयबासीसँग छलफल गरेर लिखितरुपमा सहमति लिनुपर्ने थियो’–धरानका कार्यकारी अधिकृत टिकादत्त राईले भने–‘तर, ठेकेदारको लापरवाही देखियो, यसबारेमा परामर्शदातालाई निर्देशन दिइसकेका छौं ।’
यसअघि पनि ठेकेदार कम्पनीले खटाएको कमदारहरुले उपभोक्ताहरुबाट घरमा पाइपलाइन विस्तार गर्दा पैसा असुल गरेको भेटिएको थियो । आयोजनाको डिजाइन तथा अनुगमनको लागि परामर्शदाताकोरुपमा बिडिएले नियुक्ती पाएको हो । यस्तै, धरानका राजनैतिक दलका प्रतिनिधिहरुको छुट्टै अनुगमन समिति पनि छ । तर, प्रभावकारी अनुगमन नभएको गुनासो पनि खेप्दै आएको छ । पानीको नाममा एडिबिको ठुलो ऋणको भारी धराने जनतालाई बोकाएको भन्दै आयोजनाले शुरुवातदेखि नै चर्को विरोधको सामना गर्नुपरिरहेको छ । बुद्धचोकको घटनाबारे जानकारी आएलगत्तै उपमहानगरले आइतबारै परामर्शदातालाई बुदागतरुपमा लिखित निर्देशन समेत दिएको कार्यकारी अधिकृत राईले जानकारी दिए । ‘यो घटना आएपछि आजै बुदागतरुपमा लेखेर दिएका छौं, अब ठेकेदारले त्यसअनुसार मात्र काम अघि बढाउनुपर्छ’–उनले भने ।
उपमहागनरपालिकाले अनिवार्यरुपमा जनसम्पर्क अधिकारी राख्नुपर्ने, काम गर्नुअघि स्थानीयसँग बैठक राखेर स्वीकृति लिएर मात्र काम गर्ने र काम सकेपछि तुरुन्तै पिचिङ वा क्लियर गराउन लिखितरुपमा निर्देशन दिएको हो । उपमहानगरपालिकाको निर्देशन परामर्शदाता बिडिएमार्पmत ठेकेदारमा पुग्नेछ । बिडिएका निर्देशक अरुण नेपाल स्थानीयसँग समन्वय नगरी काम गरेको थाह पाएलगत्तै काम रोकेको बताए । साथै उनले ठेकेदार कम्पनीलाई चेतावनी पत्र पठाउने र चाडै समस्या हल गर्ने दाबी गरे । ‘जानकारी पाएलगत्तै माइन्युट बुझाउ भने । बेलुका ३, ४ बजे कामदार खाली भएपछि शनिबार केही स्थानीयलाई सोधेर सडक खन्ने काम भएको रहेछ’–नेपालले भने–‘समन्वय नगरी काम गर्न पाइदैन । अरु सबैतिर घुमेका छौं, यस्तो कही भएको थिएन ।’ ठेकेदार कम्पनीका प्रोजेक्ट मेनेजर अशोक अधिकारीले जनसम्पर्क अधिकारी भए नभएको स्पष्ट जवाफ दिएनन् । ‘अरुतिर समन्वय भएर नै काम भइरहेको थियो, त्यहाँ स्थानीय कामदार नै भएकोले उनीहरुले नै समन्वय गर्नुपर्ने हो’–उनले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे