कलाकार सन्तोष पन्त र केटिएम सेक्युरिटी प्रमुखद्धारा महिला गार्डमाथि दुव्र्यहारको आरोप

सबैभन्दा अगाडि ढाका टोपी लगाएका सन्तोष पन्त र केटिएम प्रमुख रामेश्वर शाह
धरान । वरिष्ठ कलाकार सन्तोष पन्तसहित केटिएम सेक्युटिरी सर्भिस प्रालिका प्रमुख रामेश्वर शाह आफ्नै महिला गार्डमाथि यौन दुव्र्यहारको आरोपमा फसेका छन् ।
कलाकार पन्त र शाहले शनिबार बिहान करिब अढाई बजे डिउटी चेकजाँच गर्ने नाममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रेरणा न्यु गल्र्स होस्टलकी महिला गार्डमाथि दुव्र्यवहार गरेको आरोप लागेको हो । डिउटी चेक गर्न भन्दै होस्टल पुगेका पन्त र शाह मादक पदार्थ सेवन गरेको सुरक्षा गार्डहरुको दाबी छ । केटिएमले करिब एक बर्षअघि प्रतिष्ठानको सुरक्षा ठेक्का पाएको हो । कलाकार शाह केटिएमका ब्राण्ड एम्बासडर हुन् । पीडित महिलाले महिला सञ्जालको नेतृत्वमा शनिबारै इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिन पुगेका थिए । तर, प्रहरीले शनिवार सार्वजनिक विदा परेकोले जाहेरी दर्ता गरेन । घटनाबारे जानकारी पाएपछि शनिबार दिउँस २ बजेपछि कन्ट्रोल रुममा भेला भएका सेक्युरीटि गार्डहरु निक्कै आक्रोशित थिए । उनीहरु २ बजेपछि सुरक्षा पोष्टमा खटिएका पनि थिएनन् । प्रतिष्ठानमा १ सय २९ गार्डमध्ये १२ जना महिला छन् ।
पीडित महिला गार्ड सविता सुयलका अनुसार करिब अढाई बजे गार्ड हेड राजेश तामाङ, इन्सपेक्टर विष्णु कोइरालालाई साथमा लिएर शाह र पन्त होस्टलमा पुगेका थिए । इन्सपेक्टर कोइरालाले बोलाएर ढोका खोल्न आग्रह गरेका थिए । प्रेरणा गल्र्स होस्टलमा नियमअनुसार राती ११ बजेपछि कसैलाई पनि भित्र पस्न वा बाहिर निस्कन अनुमति छैन । आपतकालीन अवस्थामा पनि वार्डनबाट निर्देशन आएमात्र गार्डले ढोका खोलिदिने अनुमति छ । त्यही नियम बताउदा पनि कम्पनीका प्रमुख शाह स्वयमले ढोका खोल्न भनेपछि ढोका खोलर आफु गेट बाहिर निस्किएको सुयल गार्डले बताइन् । ‘११ बजेपछि ढोका खोल्न मिल्दैन भन्दा पनि कम्पनीका प्रमुखहरुले नै खोल्न भनेपछि ढोका खोलेर म बाहिर निस्किए । फेरी सन्तोष पन्तले किन ढोका खोलेको भनेर सोध्यो’–उनले भनिन्–‘मातेर आएको रहेछ, ह्वास्सै रक्सी गन्हायो । किन यति मोटो भएको भन्दै मेरो शरीर, पेटतिर हात पु¥यायो । कसैले पनि केही भनेनन् ।’
पीडित सुयलका अनुसार केटिएम प्रमुख शाहले पनि नाम के हो, सुयल के हो, बिहे भएको छ कि छैन ? श्रीमान साथमा छ कि छैन ? जस्ता अनावश्यक प्रश्नहरु प्टक पटक सोधेका थिए । केटिएमको तलबले त मोटाएको होला नि जस्ता वचन पनि बोलेको उनको भनाई छ । ‘म पछाडि हात बाधेर सर्तक अवस्थामा उभिरहेको थिए, उहाँहरुको बोली र व्यावहारले के भन्ने, के गर्ने भनेर सोच्नै सकिन’–प्रहरी कार्यालयमा उजुरी दिन पुगेकी उनले भनिन् । इन्टर्न होस्टलमा डिउटी भएकी पवित्रा राईले पनि आफुलाई बिहे भएको छ कि छैन जस्ता प्रश्न गरेको बताइन् । ‘उहाँहरु मातेर हल्लिएको अवस्थामा थियो । म भएकोमा पनि आएर बिहे ग¥यौं भन्दै सोध्यो । मैले १४ बर्षको त छोरा छ सर भन्दा सानैमा बिहे गरेको भन्यो’–उनले भनिन्–‘बुढा साथमा छ कि छैन भनेर सोधेपछि मैले ढाटेर साथमै छ भन्नुप¥यो ।’ खासमा उनी सहिद पत्नी एकल महिला हुन् ।
अर्की महिला गार्ड जस्मिन राईले त भदौ २९ गते बुधबार विरामीका २ जना आफन्त(महिला)को हातबाट डिउटीमा हुदा आफु कुटिएको बताइन् । घटनाबारे कन्ट्रोल रुममा आएर जानकारी गराउदा त्यही पनि तारा राई नामको व्यक्ति आएर गाटी निमोठेको तर कम्पनीले अहिलेसम्म पनि घटनालाई ढाकछोप गरेको उनले बताइन् । ‘दुई जना महिला मिलेर मलाई भक्कु कुटे, घटनाबारे कन्ट्रोलरुममा जानकारी गराउदै थिए । मेरो छोरीलाई किन कुटिस भनेर तारा राईले मेरो घाटी निमोठ्यो । केटी पो रहेछ भन्दै एकछिनपछि छोड्यो’–उनले भनिन्–‘म प्रहरीमा जाहेरी दिन्छु भन्दा मिलाउछौं भनेपछि कम्पनीमा निवेदन दिए, तर सुनुवाई भएन । अरुको सुरक्षा गर्ने हामी नै पो असुरक्षित भयौं ।’ जस्मिनलाई घाँटी अठ्याउने तारा राई कुनै बेला धरानमा गुण्डागर्दीमा कहलिएका व्यक्ति हुन् ।
स्रोतका अनुसार प्रतिष्ठानमा शुक्रबार राती अबेरसम्म पार्टी चलेको थियो । उक्त पार्टीमा सुनसरीका प्रजिअ, प्रतिष्ठानका पदाधिकारीसमेत सामेल थिए । पार्टीमा अत्यधिक मदिरा सेवन गरेका शाह र पन्त भने बिहानको समयमा डिउटी चेक गर्न भन्दै निस्किएको थिए । केटिएमका क्षेत्रीय निर्देशक तथा नेपाल प्रहरीका पुर्व डिएसपी रुपम लामाले घटनाबारे अनभिज्ञता जनाए । केटिएमका प्रमुख शाहले भने मादक पदार्थ सेवन नगरेको र महिला गार्डमाथि दुव्र्यवहार पनि नभएको दाबी गरे । ‘सबै वाहियात कुरा हुन् । हामी डिउटी चेक गर्न गएका थियौं । धेरै जना पोष्टमा निदाएको भेटियो । कारबाही होला भनेर यस्तो हल्ला फिजाएको हुनसक्छ’–उनले भने–‘केही पनि भएको होइन ।’
बीपी प्रतिष्ठानका एक पदाधिकारीले भने साँझ पार्टी भएको स्वीकार गरेपनि घटनाबारे जानकारी नआएको बताए । उनका अनुसार घटना भएको भनिएको क्षेत्र पुर्ण निषेधित क्षेत्र हो । त्यहाँ राती ११ बजेपछि उपकुलपति नै गएपनि ढोका नखोल्न कडा निर्देशन दिइएको छ । ‘यदि त्यहाँ गएर यी सबै घटना भएको हो भने कम्पनी र संलग्नलाई कारबाही हुन्छ’–ती पदाधिकारीले भने–‘तर, अहिलेसम्म औपचारिक जानकारी पाएका छैनौं, सत्य के हो आइतबार छानबिन हुन्छ ।’




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे