सेटिङ भएर भारत जान्छ चीनीया अदुवा


धरान । मंगलबारयता पुर्वी नाका काकडभिट्टाबाट भारतले नेपालको अदुवा निकासीमा रोक लगाएपछि व्यापारी र किसान चिन्तित छन् । तर, धरानका अदुवा निर्यातकर्ता(व्यापारी) नन्दकिसोर शाहलाई भने यो नौलो कुरा लागेन । कुनै दिन यस्तो अवस्था आउछ भन्ने उनलाई पुर्वअनुमान थियो ।
नेपाली अदुवा भन्दै चीनमा उत्पादन भएको अदुवा धमाधम भारत निकासी भइरहेकोबारे उनी जानकार थिए । यसले नेपाली अदुवाको बजार तहसनहस पार्छ भन्ने उनलाई पहिल्यै लागेको थियो । त्यसैले करिब डेढ महिना दिनअघि उनले मेची भन्सार कार्यालय, रानी भन्सार कार्यालय, वीरगञ्ज मुल भन्सार र बेहलिया भन्सार कार्यालय रुपन्देहीलाई चाइनीज अदुवाको चोरी निकासी रोकिदिन माग गर्दै निवेदन दिए । कहीबाट पनि उनको निवेदनको सुनुवाई भएन । ‘भारतमा चाइनीज अदुवा प्रतिबन्ध छ, तर नेपालबाट चोरीतस्करी गरेर भारतीज बजारमा गइरहेको छ’–शाहले भने–‘चाइनीज अदुवाले नेपाली अदुवाको बजार बिगार्छ भन्ने थाह थियो, त्यही भएर सबै भन्सार कार्यालयलाई निवेदन गरेको थिए । कहीबाट सुनुवाई भएन ।’
धरानका व्यापारी शाह कोशी पहाडी जिल्लामा उत्पादन हुने अदुवाको सबैभन्दा ठुला निर्यातकर्ता हुन् । उनलाई जुन कुराको आशंका थियो, अहिले नेपाली अदुवा व्यापारी र किसानले सरकारी अर्कमण्यताको त्यही नीयती भोगिरहेका छन् । भारतले नेपालबाट अदुवा निकासी रोक लगाउनुमा अवैधरुपमा चाइनीज अदुवा निकासी प्रमुख कारण हो । नेपालमा उत्पादन हुने अदुवाको खपत ९० प्रतिशत भन्दा बढी भारतीय बजारमा निर्भर छ । भारत निकासी गर्न नपाएपछि व्यापारीले किसानबाट खरीद गरिसकेको माउ अदुवा गोदाममा थन्किएको छ भने व्यापारीले पनि अदुवा खरीद गर्न छाडे पछि किसानको बारीमा नै अदुवा कुहिन लागेको छ । पुर्वको कोशी र मेची पहाडी जिल्लामा उत्पादन हुने अधिकांश अदुवा काकडभिट्टा नाका हुदै भारत निकासी हुनेगर्छ ।
नेपालमा उत्पादन हुने अदुवाको खपत स्वदेशमा सम्भव छैन भन्ने सबै सरकारी निकायलाई थाह छ । तरपनि सरकारले चाइनीज अदुवा आयात गर्न छुट दिएको छ । स्थानीय व्यापारीहरुका अनुसार नेपालका ठुला घरानाका उद्योगी, व्यावसायीहरुले नै चाइनीज अदुवा ल्याएर सेटिङ गरी भारत निकासी गर्छन् । यसको मारमा अहिले नेपालका किसान र अन्य व्यापारीहरु परेका हुन् । आफ्नै देशको उत्पादनले बजार नपाएर भारत निकासी भइरहदा आयात गरिएको चाइनीज अदुवा पनि भारत निकासी गर्नुको विकल्प छैन । भारतमा प्रतिबन्धित चाइनीज अदुवा नेपाल हुदै निकासी भइरहेको बारे नेपाल र भारत दुवै भन्सारका अधिकारीहरु पनि जानकार छन् । तर, आर्थिक प्रलोभनमा परी मिलेमतोमा भन्सार पास गराउछन् ।
व्यापारीहरुका अनुसार चाइनीज र नेपाली अदुवा परैबाट प्रष्ट छुटिन्छ । चाइनीज अदुवा आधुनिक प्रविधिबाट धोएको, ठुलो र राम्रो ग्रेडिङ भएको हुन्छ भने २० किलोको प्याकेजिङ भएर आएकोे हुन्छ । तर, चाइनीज अदुवा नेपालको कृर्षि बजारस्थल वा खुद्रा बजरसम्म आइपुग्दैन । ठुला व्यापारीहरुले आफ्नो गोदाममा स्टक गर्छन् र, त्यसलाई नेपाली अदुवा जस्तो बनाउन जुटको बोरामा पुनः हालेर निकासी गर्छन् । ‘चाइनीज अदुवा परैबाट प्रष्ट चिनिन्छ, तर बजारमा कही देखिदैन’–व्यापारी राकेश शाह भन्छन्–‘चाइनीज अदुवा २० केजीको राम्रो प्याकिङ हुन्छ, त्यसलाई नेपालमा आएपछि खन्याउछ, र बोरामा प्याक गरेर नेपालकै अदुवा हो भनेर भारत लैजान्छ ।’
अदुवा निर्यातकर्ता नन्दकिसोर शाह त चाइनीज अदुवा आयात गर्न दिने मन्त्रालय, सरकारी अधिकारी, ठुला घरानाका व्यापारीहरु मिलेर किसान मार्ने काम गरेको दोष दिन्छन् । उनका अनुसार आर्थिक प्रलोभनमा परी चाइनीज अदुवालाई नेपालको उत्पादन हो भनेर उद्योगी, व्यावसायीको संस्था र सरकारी अधिकारीहरुले सिफारिश गरिदिएको हुन्छ । चाइनीज अदुवा प्रष्टै देखेपनि नेपाल र भारत दुवैको भन्सार अधिकारीले हिस्सा पाएपछि नदेखे भैm गर्छन् र, भारत निकासी हुन्छ । ‘ठुलो उद्योगपतिहरुले चाइनीज अदुवा मगाउछ, पैसा खाएर कतिपय संघहरुले पनि नेपाली अदुवा हो भनेर लेखिदिन्छ । नेपाल र भारतको भन्सारले पनि पैसा पाएपछि रोक्दैन’–शाह भन्छन्–‘चाइनाबाट अदुवा आउदा नेपाली किसान मर्छ भन्ने सबैलाई थाह छ, तर हिस्सा पाएपछि माथिका सबै सरकारी मान्छे चुप छन् । किसानमारा त सरकार नै हो ।’ एक गाडी चाइनीज अदुवा पास गराउदा नेपालका भन्सार अधिकारीले ७५ हजार र भारतीय भन्सारले १ लाख रुपैया लिनेगरेको उनको दाबी छ ।
धरान १३ स्थित कृर्षि उपज बजारस्थलका व्यावस्थापक लक्ष्मण भट्टराई पनि लुकीछिपी चाइनीज अदुवा भारत निकासी भइरहेको जानकारी आएपनि बजारस्थलले चाइनीज अदुवाबारे सिफारिश नदिएको बताउछन् । विगत ५ बर्षअघिदेखि रानी भन्सार कार्यालयले नेपाली अदुवा भएको सिफारिश माग गरेपछि बजारस्थलले सिफारिश गर्दै आइरहेको छ । तर, अन्य नाकाबाट भने यस्तो सिफारिश माग भएको छैन । ‘जोगवनीको भारतीय भन्सारले अदुवा नेपालकै उत्पादन हो भनेर सिफारिश माग्नुले पनि चाइनीज अदुवा निकासी भइरहेको बारे भारतीय भन्सारलाई पहिल्यै थाह थियो । त्यही भएर त जोगवनीले नेपालकै हो भनेर प्रमाणित गर्ने सिफारिश मागेको हो’–व्यावस्थापक भट्टराई भन्छन्–‘किसानबाट कृर्षि बजारमा संकलन भएर यही खरीद गरी लोड भएको अदुवालाई मात्र नेपालको भनेर सिफारिश गछौं ।’ सिफारिश भएपनि अहिले रानी भन्सारबाट पनि अदुवा निकासी ठप्प छ ।
कृर्षि बजार विकास निर्देशनालयका वरिष्ठ कृर्षि बजार विज्ञ मकवुल अलि नेपालमा भारत र चीनबाट कृर्षिजन्य वस्तु खुलारुपमा आयात हुने तर नेपालबाट निर्यात गर्न भने समस्या हुने गरेको बताउछन् । अदुवाको पछिल्लो समस्या नेपाल र भारत दुवै देशबीच समन्वय अभावले सृर्जना भएको उनको बुझाई छ । ‘नेपालमा आयात गर्न सहज छ, तर नेपालको उत्पादन निर्यात गर्न गाह्रो छ । भारत र चीन दुवै देशले कडा सर्त राख्छन्, शंका लाग्दा रोक लगाउछन् । तर, यो रोक अस्थायी मात्र हो’–उनले भने–‘अहिल कोअर्डिनेशनको समस्या हो, उच्च सरकरीस्तरबाट यो समस्या सुल्झाउनुपर्छ ।’
......................................................
                           किसानको बारीमा ३० प्रतिशत अदुवा
असारदेखि भदौ महिना माउ अदुवा उत्पादन हुने प्रमुख समय हो । व्यापारीहरुका अनुसार किसानको बारीबाट अझै पनि ३० प्रतिशत माउ अदुवा निकाल्न बाँकी नै छ । चाडै निकासी नखुल्ने हो भने ती माउ अदुवा किसानको बारीमा नै कुहिने व्यापारी दिलबहादुर राई बताउछन् । ‘३० प्रतिशत माउ अदुवा त अभैm बारीमा निकाल्न बाँकी नै छ, २÷४ दिनसम्म त केही हुदैन । त्यसपछि कुहिन थाल्छ’–व्यापारी राईले भने–‘ भारत नै पठाउन नपाएपछि अब हामीले पनि किनेर के गर्ने ?’
व्यापारीहरुका अनुसार निकासी समस्या लम्बिए सिजन शुरु हुनु अगावै किसानहरुको नयाँ अदुवाको लगानी पनि अन्यौल बनेको छ । नयाँ अदुवा असोजदेखि मात्र उत्पादन शुरु हुन्छ । कृर्षि उपज बजारस्थलका व्यावस्थापक लक्ष्मण भट्टराईका अनुसार यो बर्ष करिब १० हजार मेट्रिक टन कारोबार हुने अनुमान गरिएको छ । कोशी पहाडी जिल्लाका अदुवा यो बजारस्थल हुदै निकासी हुन्छ । अहिले ३ हजार मेट्रिक टन अदुवा किसानको बारीमा भएको अनुमान छ । गत आर्थिक बर्षमा ६ हजार ८ सय २१ मेट्रिक टन अदुवाको कारोबार भएको थियो ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे