धरानको फोहोर धानखेतमा थुप्रिएपछि बक्लौरीबासीको फोहोर उपहार

धरान । सिमसिम पानी परिरहेको थियो । केही युवाहरु नारा लगाउदै धरान उपमहानगरपालिका परिसरभित्र छिरे । उनीहरुको पछिपछि एउटा ट्रयाक्टर । त्यसमा धरान उपमहानगरपालिकालाई उपहार लेखिएको ब्यानर थियो ।  नारा लगाउदै युवाहरु आएपछि उपमहानगरपालिका परिसर रमिता बन्यो ।
कर्मचारी र आफ्नो काम लिएर आएका धराने जनताहरु भेला भए । नारा लगाउने युवाहरु धरानदेखि दक्षिणी गाविस बक्लौरीका रहेछन् । खहरे खोलाले धरानबाट बगाएर लगेको प्लाष्टिकजन्य फोहोरले धानखेत पुरिएको विरोधमा उनीहरु एक ट्रयाक्टर फोहोर उपमहानगरपालिकालाई ल्याएका रहेछन् । केहीबेरको वादविवादपछि उनीहरुले निमित्त प्रमुख एवं वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाको रोहबरमा उपमहानगरपालिका परिसरमा फोहोर थुपारिदिए । साथै, बक्लौरीको ३ वटा पैनीमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न ३ दिनको अल्टिमेटम दिएर उनीहरु फर्किए ।
मनसुन लम्बिए पछि पुर्वी नेपालमा निरन्तर बर्षात भइरहेको छ । बर्षाले धरानबासीहरुले ड्रेन तथा खहरेहरुमा जथाभावी फालेको फोहोरलाई बाढीले बगाएर दक्षिणी गाविसको पैनी हुदै धानखेत र घरआँगनसम्मै पु¥याउने गरेको छ । बषौंदेखि बक्लौरी, भरौल गाविसबासीहरुले धरानको फोहोरले दुःख दिएको भन्दै उचित व्यावस्थापन गर्न आग्रह गर्दै आइरहेको छ । तर, धरान उपमहनगरपालिकाले उचित व्यावस्थापन गर्न सकेको छैन । गत बिहिबार पनि बक्लौरीबासीहरुले ज्ञापनपत्र बुझाउदै उपमहानगरपालिकालाई फोहोर व्यावस्थापन नगरे आन्दोलनको चेतावनी दिएको थियो । ‘हामीले धेरै पटक आग्रह ग¥यौं, धानखेत फोहोरले पुरियो भनेर ज्ञापन पत्र बुझायौं । तर, धरान उपमहानगरपालिकाले सुनेन’–युवाहरुको नेतृत्व गर्दै आइपुगेका पुष्प प्याकुरेलले भने–‘त्यसैको विरोधमा धानखेतबाट एक ट्रयाक्टर फोहोर उठाएर उपहार ल्याइदिएका छौं ।’
बक्लौरीबासीका अनुसार अहिले धरानका दुई खहरे खोलाले बगाएको फोहोरले कजरा, सुनसरी र गोलझाप्रे पैनी थुनिएको छ भने ती पैनी हुदै बाढीले फोहोरलाई धानखेतमा लगेर थुपारेको छ । स्थानीयका अनुसार करिब ६ किलोमिटर पैनीको क्षेत्रफलमा फोहोर थुप्रिएको छ भने फोहोरले ९ वटै गाविस प्रभावित छ । ‘गर्भपन गरेर फालिएको बच्चा, शिसा, जुत्ता चप्पल, कण्डम, सिरिञ्ज, हेल्मेट, कोक, पानीको बोतल के छैन धानखेतमा ?’–नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाका केन्द्रीय अध्यक्ष प्याकुरेलले आक्रोशित हुदै भने–‘गाईबस्तुले प्लाष्टिक खाइदिएर मर्छ, खेतीलाई असर गरिसक्यो । सिसा, सिरिञ्जले घोचेर उपचारमा हजारौं खर्च भइरहेको छ ।’ धरानेहरु आफु सफा बसेर गाउँका मानिसलाई पीडा दिएको र उर्बर धानखेती नाश भइरहेको उनले थप आरोप लगाए ।
निमित्त प्रमुख एवं प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले उपमहानगरपालिका कार्यालयले व्यावस्थापन गरेको फोहोरले समस्या नभएको बताए । तर, नगरबासीहरुले घरबाटै खहरेमा अव्यवस्थितरुपमा फालेको फोहोर बगेर बक्लौरी गाविसमा असर पुगेको उनले स्वीकार गरे । ‘उपमहानगरपालिकाले आफुले म्यानेज गरेको फोहोर व्यवस्थित नै छ, तर नगरबासीले खहरेमा फलेको फोहोरले यो समस्या सृर्जना गरेको हो’–उनले भने–‘घरबाटै खहरेमा फालिने फोहोरलाई व्यवस्थित गर्नुपर्ने चुनौती छ, त्यसको लागि छलफल र जनचेतना जगाउनेबारे गम्भीर छौं ।’ धरान उपमहानगरपालिकाले दैनिकरुपमा बजारक्षेत्रबाट संकलन भएको फोहोरलाई सेउती खोला किनारमा बाँझगरा सामुदायिक वन क्षेत्र डम्पिङ गर्ने गरेको छ । त्यहाँ फोहोरलाई खोलाले बगाएर नलैजाओस भनेर फेन्सिङ वाल बनाएपनि वन क्षेत्रमा फोहोर थुपारेको भन्दै बेला बेला विरोधको सामना गर्नुपरिरहेको छ ।
उपमहानरपालिकाका सरसफाई अधिकृत शिशिर श्रेष्ठका अनुसार धरान क्षेत्रमा दैनिक ४० टन फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये २० देखि २५ प्रतिशत टन फोहोर मात्र उपमहानगरपालिकाले दैनिकरुपमा संकलन गरेर डम्पिङ गर्ने गरेको छ । बाँकी फोहोर ड्रेन, खहरे हुदै बर्षातमा बगेर बक्लौरी, भरौल गाविसतिर पुग्छ । घरमा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गीकरण गरे छुट्टयाउने र व्यवस्थापन गर्ने प्रणाली नअपनाएसम्म यो समस्याबाट मुक्ति नमिल्ने श्रेष्ठले बताए । ‘फोहोर व्यावस्थापनको जिम्मा नगरपालिकाको मात्र हो भन्ने आमधारणा छ, यसमा परिवर्तन आउनुपर्छ र यो सबै सरोकारवाला, जनताको पनि जिम्मेवारी हो भनेर सचेत नभएसम्म समस्या हल हुदैन’–उनले भने । उपमहानगरपालिकाले बार्षिकरुपमा ५ लाख हाराहारीमा सरसफाई शुल्कवापत कर संकलन गर्ने गरेको छ । तर, फोहोर व्यावस्थापनको लागि भने डेढदेखि २ करोड रुपैया खर्चर्ने गरेको छ ।







Comments

  1. Khubai Mehanati rahexan Baklaaruri basi... yasari nai dailly dharan ma lyayera diye... collector lae khub moh hunthyo hola.

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे