दानाबारी–गढीथुक्का हाइकिङ गन्तव्य(फोटोफिचर)
धरान । धरान बजारदेखि करिब १० किलोमिटर पुर्वीउत्तरमा अवस्थित छ, दानबारी । विगतमा यो पाँचकन्या गाविस वार्ड नम्बर ४ मा पथ्र्यो । अहिले धरान उपमहानगरपालिका वार्ड नम्बर २१ मा पर्छ । सेउती खोला तरेर निरन्तर झण्डै ४ घण्टा ठाडो उकालो चढेपछि पुगिन्छ । पर्यटन व्यावसायमा पनि होमिएपछि पत्रकार वासुदेव वराल यो ठाउँ चार पटक पुगिसके । तर, उनलाई प्रत्येक पटक दानावारी पुग्दा पहिलो पटक पाइला टेके झै नौलो अनुभव हुन्छ । उनी गएको बुधबार(भदौ १५ गते) पनि एक दर्जन पदयात्री युवा पत्रकारहरुको नेतृत्व गर्दै दानबारी पुगेका थिए ।
गाउँले जनजीवन, मनोरम प्राकृतिक दृष्य, कुहिरोसँग लुकामारी, चिसो जरुवा पानीको स्वाद अनि अग्र्यानिक तरकारी खेती । यी दृष्य प्रत्यक्ष देख्न र अनुभूत गर्न पाउदा उकालोको सारा थकान विर्साइदिन्छ । आह धरान ! लव डाँडामा पुगेपछि त त्यहाँबाट देखिने धरान बजारको सुन्दर दृष्यले सबैको मुखबाट यही शब्द निस्कन्छ । यहाँबाट धरानको जुन स्वरुप देखिन्छ, अन्य कहिबाट देखिदैन । पर्यटनकर्मी वरालले यो थुम्कीलाई लव डाँडा नामाकरण गरेका छन् । तर, स्थानीयबासी भने रमिते डाँडा भन्दा रहेछन् ।
दानबारीको उचाई अर्को पर्यटकीय गन्तव्य भेडेटारको हाराहारीमा छ । तर, दानाबारी भेडेटारभन्दा शान्त छ । त्यहाँ पुगेपछि आफु बसेको शहर(धरान)लाई नियाल्न पनि सकिने । त्यही भएर पछिल्लो समय दानबारी धरानेहरुको पदयात्रा अर्थात हाइकिङको गन्तव्य बन्दै गइरहेको छ । स्थानीयहरु तरकारी खेती गर्छन् । ताजा अग्र्यानिक तरकारी बोकेर फर्कन सकिने । ‘दानाबारी आएको यो चौथो पटक हो, प्रत्येक चोटी नयाँ र रमाइलो अनुभव गरेको छुँ’–पर्यटनकर्मी वराल भन्छन्–‘यहाँबाट धरान जति सुन्दर देखिन्छ, अरु कुनै ठाउँबाट पनि देखिदैन ।’ उनी चारै पटक हाइकिङ टोलीको साथमा दानवारी पुगेका हुन् । पछिल्लो पटक भने धरानका पत्रकार, सामाजिक अभियन्ता र सुन्दरीहरु उनको पछि लागेका थिए ।
मिस पुर्वाञ्चल २०१६ की सेकेण्ड रनरअप १८ बर्षीय इक्सा मादेन, मिस मंगोल २०१५ की सरुपा थापा मगर र मिस लिम्बु, मिस मंगोलकी टप ५ मेरीना तुम्सा लिम्बु पनि बुधकार पदयात्रा गर्दै पहिलो पटक दानाबारीमा पाइला टेके । धरानमै जन्मे हुर्केकी सरुपाको लागि उकाली ओरालीको यो पहिलो पदयात्रा थियो । बीचमा हिड्न निक्कै गाह्रो भएपनि गन्तव्यमा पुगेपछि औधी रमाइन् । ‘हिड्न सक्दिन होला भन्ने लागेको थियो, तर पुगेरै छोडे । गन्तव्यमा पुगेपछि ज्यादै रमाइलो भयो’–उनले भनिन् । सरुपाको झै अनुभव रह्यो इक्साको पनि । ‘म पनि पहिलो पटक हो हिडेको । गन्तव्यमा पुगेपछिको रमाइलोले सबै दुःख, पीडा भुलाईदियो’–उनले भनिन् । पदयात्राबाट फर्कदा उनले एक किलो स्कुश पनि घर ल्याइन् । रुपान्तरण नेपालकी अध्यक्ष सविता राईले पनि स्कुश, स्कुशको मुन्टासँगै सिस्नो बोकिन् । दानाबारीमा भलिवल नेट रहेछ, यो टोली दानबारी पुगेपछि भलिवल खेलेर रमायो । जसकुमार राईको जोक्स र विकास राईको जोशिलो कवितामा हास्यो, ताली पड्कायो ।


Comments
Post a Comment