कलाकार पन्त र केटिएम प्रमुख विरुद्ध प्रहरीले जाहेरी लिएन

धरान । महिला गार्डमाथि दुव्र्यवहार भएको घटनामा पीडितले दिएको किटानी जाहेरी प्रहरीले लिन नमानेपछि महिला सञ्जाल धरानसहित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानअन्र्तगत केटिएम सेक्युरिटी सर्भिसका सुरक्षा गार्डहरु आन्दोलनमा उत्रिएका छन् ।
प्रहरीले जोहरी दर्ता गर्नुको साटो आरोपित पक्षसँग छलफल राखेर मात्र अघि बढ्ने बताएपछि प्रतिष्ठानका गार्डहरु र महिला सञ्जालले आन्दोलन घोषणा गरेको हो । केटिएम सर्भिसका ब्राण्ड एम्बासडरसमेत रहेका कलाकार सन्तोष पन्त र केटिएमका प्रमुख रामेश्वर शाहले शनिबार बिहान अढाई बजे प्रतिष्ठानको न्यु गल्र्स होस्टलकी महिला गार्डमाथि दुव्र्यवहार र अवाच्छित प्रश्नहरु गरेर मानसिक यातना दिएको आरोप छ । डिउटी चेक गर्न भन्दै होस्टल पुगेका पन्त र शाह मादक पदार्थ सेवन गरेर नशाको अवस्थामा भएको गार्डहरुको भनाई छ । महिला सञ्जालको नेतृत्वमा पीडित महिला गार्डहरु शनिबारै जाहेरी दिन इलाका प्रहरी कार्यालय पुगेका थिए । डिएसपी ढकेन्द्र खतिवडाले सार्वजनिक विदा भएकोले आइतबार जाहेरी दर्ता गर्ने आश्वासन दिएका थिए । तर, आइतबार भने उनले जाहेरी दर्ता गर्न मानेनन् ।
केटिएमका प्रमुख रामेश्वर शाह र नेपाल प्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल साथी भएकोले प्रहरीले किटानी जाहरी दर्ता गर्न नमानेको प्रहरीमाथि आरोप छ । प्रहरीले मुद्दा दर्ता नगरेपछि महिला सञ्जाल र सुरक्षा गार्डहरुले इलाका प्रहरी कार्यालय परिसरमै पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए । ‘हिजो शनिबार आउदा आइतबार जाहेरी दर्ता गर्ने कुरा भएको थियो । तर, आज डिएसपी सापले एक पल्ट विपक्षी पनि राखेर छलफल गराउने भन्नु भयो’–महिला सञ्जालकी अध्यक्ष शिला बज्रचार्यले भनिन्–‘एउटी महिला हिंसामा परेकोले मात्र सञ्जालले यो बिषयलाई उठाएको हो, पीडित महिलालाई न्याय दिलाउन प्रहरीबाट सम्भव नभए अरु निकायको पनि ढोका ढकढकाउछौं ।’ महिला गार्डमाथि भएको दुव्र्यवहारको बिषयलाई मानवअधिकार आयोग, महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रशासन कार्यालयमा पनि ध्यानाकर्षण गराउने र मुद्दा दर्ता गराउन पहल गर्ने सञ्जालले जनाएको छ ।
प्रहरीले मुद्दा दर्ता गर्न नमानेपछि प्रतिष्ठानअन्र्तगत केटिएमका सुरक्षा गार्डहरुले पनि आइतबार साँझदेखि नै काम छाड्ने घोषणा गरेको छ । नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन घोपाका सचिव प्रविण राईले महिलामाथि भएको दुव्र्यवहारको घटनामा पीडितले जाहेरी दिदासमेत दर्ता नहुनु दुःखद भएको भन्दै मुद्दा दर्ता नभएसम्म डिउटीमा नजाने घोषणा गरे । ‘महिलामाथि दुव्र्यवहार हुनु दुःखद थियो, जाहेरी दर्ता नहुदा झनै दुःख लाग्यो । प्रहरीले जाहेरी दर्ता नगरेसम्म हामी तीनै सिफ्टमा डिउटी गर्दैनौं’–उनले भने । गार्डहरुले सोमबारदेखि प्रतिष्ठानस्थित केटिएम सेक्युरिटीको कन्ट्रोल रुमअघि धर्नामा बस्ने जनाएका छन् ।
गार्डहरुले आइतबार नै घटनाबारे बीपी प्रतिष्ठानका पदाधिकारीहरुलाई लिखितरुपमा जानकारी दिदै शाह र पन्तलाई कारबाही गर्न माग गरेका छन् । निवेदन लिदै प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले कानुनी प्रक्रियामा जानुपर्ने घटना भएको र त्यसमा रोकतोक नगर्ने बताए । ‘कम्पनीको बिषयमा सम्बन्धीत मान्छेहरुलाई सोधपुछ गछौं, र त्यसबारेमा तपाईहरुलाई जानकारी दिन्छौं’–रजिष्टार श्रेष्ठले भने–‘तपाईहरु कानुनी प्रक्रियामा जान खोजिरहनु भएको छ, जानुस हामी रोकछेक गर्दैनौं ।’ जाहेरी दर्ता नगरेको बिषयमा प्रतिक्रिया लिन खोज्दा डिएसपी खतिवडा सम्पर्कमा आएनन् । कार्यालयमा उनी भेटिएनन् भने पत्रकारहरुको फोन पनि रिसिभ गरेनन् ।
प्रतिष्ठानअन्र्तगत केटिएम सेक्युरिटीमा १ सय २९ गार्डमध्ये १२ जना महिला छन् । पीडित महिला गार्ड सविता सुयलका अनुसार करिब अढाई बजे गार्ड हेड राजेश तामाङ, इन्सपेक्टर विष्णु कोइरालालाई साथमा लिएर शाह र पन्त होस्टलमा पुगेका थिए । इन्सपेक्टर कोइरालाले बोलाएर ढोका खोल्न आग्रह गरेका थिए । प्रेरणा गल्र्स होस्टलमा नियमअनुसार राती ११ बजेपछि कसैलाई पनि भित्र पस्न वा बाहिर निस्कन अनुमति छैन । आपतकालीन अवस्थामा पनि वार्डनबाट निर्देशन आएमात्र गार्डले ढोका खोलिदिने अनुमति छ । त्यही नियम बताउदा पनि कम्पनीका प्रमुख शाह स्वयमले ढोका खोल्न भनेपछि ढोका खोलेर आफु गेट बाहिर निस्किएको उनको भनाई छ । ढोका खोलेर बाहिर निस्किएपछि मदिरा सेवन गरेका सन्तोष पन्तले किन ढोका खोलेको भन्दै किन यति मोटो भएको भनेर शरीर, पेटतिर हात पु¥याएको सुयलको दाबी छ ।
केटिएम प्रमुख शाहले पनि नाम के हो, सुयल भनेको के हो, बिहे भएको छ कि छैन ? श्रीमान साथमा छ कि छैन ? जस्ता अनावश्यक प्रश्नहरु पटक पटक सोधेको उनले बताइन् । अर्की महिला गार्ड पवित्रा राईले पनि आफुलाई बिहे भएको छ कि छैन जस्ता प्रश्न गरेको बताएकी छिन् । बुढा साथमा छ कि छैन भनेर सोधेपछि आफुले ढाटेर बुढा साथमा नै छ भन्नु परेको उनको भनाई छ । उनी सहिद पत्नी एकल महिला हुन् । गएको भदौ २९ गते बुधबार विरामीका २ जना आफन्त(महिला)को हातबाट डिउटीमा कुटाइ खाएको र पुनः घटनाबारे कन्ट्रोल रुममा आएर जानकारी गराउदा तारा राई नामका व्यक्ति आएर घाटी निमोठेको घटनामा पनि कम्पनीले कुनै कारबाही प्रक्रिया अघि नबढाएको पीडित महिला गार्ड जस्मिन राईको गुनासो छ ।
घटनाबारे केटिएमले आइतबारसम्म औपचारिक प्रतिक्रिया दिएको छैन । यद्यपी, केटिएम प्रमुख शाहले भने मादक पदार्थ सेवन नगरेको र महिला गार्डमाथि दुव्र्यवहार पनि नभएको दाबी गरेका थिए । शनिबार नागरिक संवाददातासँग मोवाइल सम्पर्क हुदा उनले डिउटी चेकजाँचको क्रममा केही गार्डहरु निदाएको अवस्थामा भेटिएको र कारबाहीबाट जोगिन प्रोपोगण्डा मच्चाएको भन्दै आरोपको प्रतिवाद गरेका थिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे