लोकल गाइड तालिम

धरान । पुर्वको पर्यटनलाई व्यवस्थित एवं गुणस्तरीय बनाउन दक्ष टुरिष्ट गाइड(पथ प्रदर्शक) तयार गर्न मंगलबारदेखि धरानमा ५ दिने लोकल गाइड तालिम शुरु भएको छ । दक्ष टुरिष्ट गाइड नहुदा पर्यटकहरुले गुणस्तरीय सेवा सुविधा र पर्यटन गन्तव्यबारे पर्याप्त जानकारी नपाएको गुनासो बढेपछि नेपाल पर्यटन बोर्ड, सुनसरी उद्यो वाणिज्य संघलगायत पर्यटन सम्बद्ध संघसंस्थाहरुले तालिम आयोजना गरेको हो ।
तालिम प्राप्त गाइड तयार भएपछि पर्यटकहरुले राम्रो सेवा सविधा पाउने र पुर्वको पर्यटनले फड्को मार्ने अपेक्षा गरिएको छ । मंगलबारदेखि संघको हलमा शुरु भएको तालिमलाई धरान उपमहानगरपालिका र होटल व्यावसायी महासंघको पनि सहयोग गरेको छ । असोज ८ गतेसम्म हुने तालिममा पुर्वका विभिन्न १० जिल्लाबाट ३० जना सहभागी छन् । तालिममा होटल व्यावसाय, क्यानोनिङ, ट्राभल एण्ड टुर्स एजेन्सी, यातायात व्यावसायलगायत पर्यटनसम्बद्ध संघसंस्थाहरुबाट सहभागीता छ ।
प्रशिक्षककोरुपमा नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल मेनेजमेन्ट(नाथम)का कृष्ण खनाल र पुरात्तत्व विभागबाट रामबहादुर कुँवर छन् । सहभागीहरुलाई गाइड, गाइडको काम कर्तव्य, गाइडले पाहुना पर्यटकहरुसँग गर्नुपर्ने बोली व्यवहारका साथै पर्यटकीयस्थलको बारेमा राख्नुपर्ने जानकारीबारे प्रशिक्षित गराइने प्रशिक्षकद्धयको भनाई छ । सहभागीहरुलाई स्थलगतरुपमा पनि व्यावहारिक ज्ञान दिलाइने प्रशिक्षक खनालले जानकारी दिए । गाइड तयार भएपछि पर्यटकहरुले गुणस्तरीय सेवा पाउने र पुर्वको पर्यटनले पनि व्यवस्थितरुपमा गति लिने यहाँका पर्यटनकर्मीहरुको अपेक्षा छ । अहिलेसम्म पुर्वक्षेत्रमा व्यावसायिक एवं दक्ष टुरिष्ट गाइड छैनन् ।
तालिम उद्घाटन गर्दै प्रमुख अतिथि एवं सुनसरीका प्रजिअ मोहन चापागाईले पर्यटकहरुलाई मिठो बोली र राम्रो व्यावहार गर्न आग्रह गर्दै त्यसो गरे मात्र पर्यटकहरु पुनः घुम्न आइरहने बताए । एक जनाको नराम्रो व्यवहार र आचरणले सामग्र देशकै छवि विग्रने भएकोले नैतिकतामा रहेर पेशा, व्यावसाय गर्न पनि उनले आग्रह गरे । पर्यटन बोर्डकी वरिष्ठ अधिकृत रानु शाहले पर्यटन उद्योगमा सेवा सत्कारको ठुलो भुमिका हुने भएकोले पर्यटकलाई गुणस्तरीय सेवा दिन पर्यटन व्यावसायीहरु सदैव सचेत रहनुपर्नेमा जोडदिइन् । सेवाको आधारमा नै पर्यटकमा राम्रो र नराम्रो छाप बस्ने भएकोले गाइड दक्ष र व्यावसायीक हुनुपर्ने उनले बताइन् ।
धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले प्राकृतिक, सँस्कृतिक, धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि संरक्षण र प्रचार प्रसार अभावले पर्यटनले गति नलिएको बताए । सरोकारवाला संघसंस्थाहरुबीच सहकार्य गरेर योजनावद्धढंगले अघि बढन् आवश्यक रहेको उनको भनाई थियो । होटल व्यावसायी महासंघ प्रदेश नम्बर १ का संयोजक महेन्द्रबहादुर कटवालले छिमेक मुलुक भारतबाट पुर्वमा धेरै पर्यटकहरु आइरहे पनि गाइड नहुदा समस्या भइरहेको बताए । गाइड तालिमपछि युवाहरु विदेश पयालन हुनबाट पनि रोक्ने उनको भनाई थियो । पत्रकार महासंघ सुनसरीका अध्यक्ष केशव घिमिरले राज्यका निकायले पुर्व क्षेत्रको पर्यटनलाई सधै वेवास्ता गरिरहे पनि पर्यटन बोर्डले गाइड तालिम गराएर चासो दिएको भन्दै खुशी व्यक्त गरेका थिए । उद्घाटन समारोह संघका अध्यक्ष राजेन्द्र शाहको अध्यक्षतामा भएको थियो ।
तालिम पछि पुर्व क्षेत्रमा टुरिष्ट गाइडको खडेरीलाई टार्ने आयोजकको भनाई छ । पुर्वमा थुप्रै आकर्षक पर्यटकीय गन्तव्यहरु भएपनि दक्ष टुरिष्ट गाइड र प्रर्वद्धनको अभावमा पर्यटकहरुको पहुँचमा छैन । ‘पर्यटकहरु त पुर्व क्षेत्रमा पनि आइरहेकै छन् तर आफ्नो ठाउँको पर्यटकीय गन्तव्यबारे राम्रोसँग बुझाउने, घुमाउने र आदरसत्कार गर्ने गाइड नहुदा समस्या भोग्नु परिरहेको छ’–कार्यक्रम संयोजक तथा सुनसरी उवा संघअन्र्तगत पर्यटन उपसमितिका संयोजक महेन्द्र प्रधानले भने–‘हामीलाई धेरै अघिदेखि तालिम प्राप्त गाइडको अभाव थियो, अब दक्ष गाइड तयार हुनेछ र यसले समग्र पुर्वको पर्यटनलाई फाइदा पुग्नेछ ।’ पुर्वमा थुप्रै आकर्षक पर्यटकीय गन्तव्यहरु भएपनि दक्ष टुरिष्ट गाइड र प्रर्वद्धनको अभावमा पर्यटकहरुको पहुँचमा नभएको पर्यटनकर्मीहरुको भनाई छ । पुर्वका विभिन्न शहरमा सयौंको संख्यामा ट्राभल एजेन्सीहरु छन् । तर, औलामा गन्न सकिने एजेन्सीहरुसँग मात्र टुर प्याकेज छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे