घरजग्गा ठगी गिरोह खुलेआम हिड्दै,लेनदेन बिषय भन्दै पन्छियो प्रहरी

 प्रदिप कुमार गौतम
धरान । लेनदेनको बिषय भन्दै कारबाही गर्नबाट प्रहरी पन्छिएपछि सर्वसाधारणको घरजग्गा ठगी गर्ने गिरोह र उसको मतियार खुलेआम हिडिरहेको पाइएको छ । पीडितले डेढ महिना अघि प्रहरीमा निवेदन दिए पनि ठगी गिरोहका कोही पनि पक्राउ परेका छैनन् । लेनदेन बिषय भन्दै प्रहरीबाट पक्राउ नगर्ने सुइको पाएकैले ठगीको गिरोह थप हौसिएको पीडित परिवारको गुनासो छ ।
संखुवासभाबाट नागरिकता निकालेका प्रदिप कुमार गौतमले धरान १५ दशरथपथका पुर्व ब्रिटिश लाहुरे बीरबहादुर थापाको घरजग्गा ठगी गरेर फरार छन् । गत माघ २० गते १ करोड १० लाख मुल्य तोकेर एक कट्ठा जमिनसहित तीन तले पक्की घर थापाले गौतमलाई बिक्री गरेका थिए । उनले ४९ लाख मात्र बैना रकम दिएर बाँकी बैकिङ प्रक्रियाबाट ऋण लिएर चुक्ता गर्ने कागज गरेका थिए । तर, घरजग्गा आफ्नो नाममा नामसारी भएपछि उनी एकाएक गायब छन् ।
मोवाइलमा मात्र सम्पर्कमा रही गौतमले विभिन्न आश्वासन दिदै लामो समय झुलाएपछि थापा परिवारले गौतमबारे खोजी गर्दा अरु थुप्रै पनि ठगिएको फेला पारेको थियो । घरजग्गा ठगीमा गौतमलाई भीमप्रसाद खनाल नामका व्यक्तिले सघाउने गरेका छन् । थापालाई ठगी गर्नुअघि इनरुवाका प्रितम अटललाई पनि गौतमले ६० लाख रुपैया ठगी गरिसकेका थिए । दुई पटक बाउन्स चेक दिएपछि अटलले गौतमविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । गौतम र खनालबाट अरु पनि ठगिएको थाह पाएपछि थापाले गत असार ३१ गते इलाका प्रहरी कार्यालय धरानमा आवश्यक कारबाहीको माग गर्दै निवेदन दिएका थिए । तर, प्रहरीले लेनदेनको बिषय भएकोले हेर्न नमिल्ने भन्दै गौतमलाई झिकाएर छलफल गराउने भन्यो । तर, अहिलेसम्म प्रहरीले गौतम र खनाललाई झिकाउन सकेको छैन ।
प्रहरीले दुवैको फोन नलाग्ने गरेको बताएपनि गौतमले आफुसँग नियमितरुपमा मोवाइलमा सम्पर्क गर्ने गरेको थापाको भनाई छ । गौतम पक्राउ गर्न जति ढिलाई भयो, आफुजस्तै अरु ठगिने धेरै सम्भावना भएको उनले बताए । ‘गौतमबारे धेरैतिर खोजी गर्दै जादा म मात्र होइन, अरु धेरैलाई ठगी गरिसकेको पत्ता लाग्यो । त्यसपछि मात्र म प्रहरीकोमा निवेदन लिएर गएको हो’–पीडित बीरबहादुरले भने–‘तर, अहिलेसम्म ऊ समातिएको छैन, खुलेआम फोन गर्दै हिडिरहेको छ । फेरि अर्को कसलाई ठगी गर्न योजना बनाउदै होला ।’ उनी गौतमबाट लिएको ४९ लाख फिर्ता दिएर पुनः घरजग्गा आफ्नो नाममा बनाउन चाहन्छन् ।
गौतम र खनाल मिलेर ठगी गरेकोबारेमा समाचार प्रकाशन भएपछि भने चासो दिदै प्रहरीले पीडित थापालाई बोलाएर घटनाबारे जानकारी लिएको थियो । त्यसपछि पनि गौतम र खनाल पक्राउ परेका छैनन् । गौतमले नियमितरुपमा पीडित थापासँग मोवाइल सम्पर्क गरिरहेका छन् । डिएसपी ढकेन्द्र खतिवडाले लेनदेख बिषय भएकोले समान्यरुपमा मात्र हेरिएको तर समाचार प्रकाशन भएपछि भने विस्तृतरुपमा बुझेर दुवैको खोजी गरिरहेको बताए । ‘निवेदन आएपनि लेनदेन बिषय हो भनेर समान्यरुपमा मात्र लियौं, तर समाचार आएपछि बीरबहादुर थापालाई बोलाएर विस्तृत कुरा बुुझे । यो लेनदेनको बिषय देखिन्छ, ठगी मुद्दा भनेर दर्ता गर्न मिल्दैन’–डिएसपी खतिवडाले भने–‘तर दुवैको खोजी हामीले गरिरहेका छौं, उनीहरुको फोन नलागेर कहाँ छन् भन्ने थाह हुन नसकेको हो ।’
गौतमले साविक बाँझगरा वडा नं १ (क) कित्ता नं २५४२ को १० धुर र कित्ता नं २५४४ को १० धुरमा बनेको घर थापासँग किनेका थिए । गौतमले ४९ लाख रुपैया बैना दिएर ‘बैकबाट ऋण स्वीकृत नभए वा पैसा दिन नसकेमा पुनः घरजग्गा थापालाई नामसारी गरिदिने’ कागज पनि गरेका छन् । त्यसमा भीमप्रसाद खनालले साक्षी छन् । यो कागज भएकै दिन थापाले गौतमलाई घरजग्गा नामसारी गरिदिएका थिए । त्यतिबेलासम्म घरजग्गा धितो राखेर बैंकबाट ऋण दिलाउन थापाले पनि गौतमलाई सघाएका थिए । तर, रजिष्टे्रशन पास भएको भोलीपल्ट(माघ २१) गते गौतम सुटुक्क काठमाण्डौं गएर पुल्चोकस्थित नबिल बैंकको शाखाबाट ७५ लाख रुपैया झिकेको करिब एक महिना पछि मात्र थापा परिवारले थाह पायो । गौतमको नाममा घरजग्गा भएको थाह पाएपछि अर्का पीडित इनरुवाका प्रितम अटलले आफ्नो पैसा असुलउपर गराउनुपर्ने भन्दै जिल्ला अदालतमा जग्गा रोक्का गर्न माग गरेर मुद्दा दायर गरे । अदालतबाट पनि कित्ता नं २५४२ र कित्ता नं २५४४ रोक्का छ गरिसकेको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे