अपुताली जग्गा हड्प्न चलखेल,धरानको जग्गालाई तेह्रथुमबाट नामसारी गर्न सिफारिश

धरान । नापीको फिल्डबुकमा मात्र दर्ता भएको तर लामो समयदेखि वेवारिस बनेको अपुताली जग्गालाई माओवादी केन्द्रका नेतासमेतको मिलेमतोमा नामसारी गराउन प्रयास भएको पाइएको छ । साविक बाँझगरा ९ क(हाल धरान १३) फुस्रेस्थित कित्ता नं ३५ को अपुताली जग्गालाई हड्प्न चलखेल भएको हो ।
नापी फिल्डबुकअनुसार यो कित्तामा १४ कट्ठा आधा धुर जग्गा छ । २०२७ सालको नापीनक्सा हुँदा धनमाया जैसिनीको नाममा यो कित्ता फिल्डबुकमा दर्ता छ । नापी फिल्डबुकमा धनमायाको पति देवनारायण जैसि भनि उल्लेख छ । यस्तै, फिल्डबुकको कैफियतमा ‘यो मेरो पति देवनारायणको नाउको नम्बरी जग्गा हो, निज मर्दा म पत्नीको हक भै खाइआएको हो, दा.खा.बाँकी छ भनि सहीछाप गर्ने’ भनि धनमायाले ल्याप्चे हानेकी छिन् । यो जग्गाको रैती नम्बर १६२६ र जेठाना नगर पञ्चायत वार्डन.१० उल्लेख छ । धनमाया जैसिनीको नाममा रहेको यही जग्गालाई अहिले पहाडी जिल्ला तेह्रथुमबाट ७ जना तिम्सिना थरका हकवाला व्यक्तिहरु खडा गरेर नामसारी गराउन प्रयास भएको हो ।
तेह्रथुम म्याङलुङ्ग नगरपालिका ७ (साविक जिरीखिम्ती ८)का हरिप्रसाद उपाध्यय, भरतराज तिम्सिना, भोलानाथ तिम्सिना, भोजकुमारी तिम्सिना, लक्ष्मण तिम्सिना, झयन्द्र तिम्सिना र देवेन्द्रप्रसाद तिम्सिनाले धनमाया जैसिनीको कित्ता नं ३५ लाई संयुक्त नाममा नामसारी गराउन म्याङलुुङ्ग नगरपालिका संयुक्त वडा कार्यालय ६ र ७ बाट ०७१ चैत २६ गते नामसारी सिफारिश लिएको देखिन्छ । तर, अन्य हकदारले देवेन्द्रप्रसादको नाममा एकलौटी नामसारी गरीदिन मञ्जुरी सनाखत दिएपछि आफ्नो नाममा जग्गाको स्रेस्ता कायम गरी नामसारी गर्न ०७२ माघ १३ गते देवेन्द्रप्रसाद तिम्सिनाले मालपोत कार्यालय धरानमा निवेदन दिएका थिए । उनको निवेदनपछि नापीबाट फिल्ड सर्जमिनसमेत गरिसकेको भएपनि स्थलगत सर्जमिन मुचुल्का र धरान उपमहानगरपालिकाको राय(सिफारिश) ल्याउन नसक्दा नामसारी प्रक्रिया मालपोतमा अड्केर बसेको छ । यो प्रकरणमा माओवादी केन्द्रका नेता धर्म खड्का र राखेप पुर्वउपाध्यक्ष पिताम्बर तिम्सिनाको पनि मुछिएका छन् । हकवाला भनिएकामध्ये भोलानाथ तिम्सिना पिताम्बरका बुबा हुन् भने माओवादी नेता खड्का पिताम्बरका मामाका छोरा हुन् । हकवाला कागजात तयार गरेर नामसारीको प्रयास गराउन दुवैले सघाएको खुलेको छ ।
मालपोत र नापी कार्यालय धरानका अनुसार तिम्सिना दाजुभाई नामसारी प्रक्रिया आउनुअघि उनीहरुकै मिलेमतोमा अर्कै व्यक्तिको ४ कट्ठा जग्गाको ट्रायल चेक गराउने नाममा ३५ नं कित्ता मिसाएर १८ कट्ठा बनाएर हडप्ने प्रयाससमेत गरेका थिए । नापीका सर्भेक्षक योगेन्द्र्रप्रसाद यादवसमेतको मिलेमतोमा ट्रेस नक्सासमेत तयार भइसकेको थियो । ट्रायल चेकबाट जैसिनीको जग्गा हड्प्न नसकेपछि मात्र तिम्सिना दाजुभाई पुनः नामसारी प्रक्रियामा आएको स्रोतको भनाई छ । ‘ट्रायलचेक गर्दा जग्गा अत्यधिक नरबढी भएको भनेपछि शंका लागेर अध्ययन गर्दा ३५ कित्तालाई पो मिसाएको देखियो, त्यसैले गलत भयो भनेर रद्द गरायौं’–मालपोत प्रमुख भिमप्रसाद गौतमले भने ।
धरान उपमहानगरपालिकाले भने धनमाया जैसिनीको मृत्यु बषौंअघि भइसकेको र सो जग्गामा सुकुम्बासीको नाममा अतिक्रमण शुरु भएपछि करिब ५ बर्षअघि नै वडाबाट सर्जमिन मुचुल्का गरी अपुताली भएको ठहर गर्दै संरक्षणको पहल गर्न सिफारिश गरेको थियो । सोही आधारमा उपमहानगरपालिकाले त्यतिबेलै अपुताली जग्गालाई सरकारीकरण प्रक्रिया अघि बढाए पनि पछि चासो नदिदा भुमाफिया गिरोहहरुको चलखेल बढेको हो । त्यहाँ अहिले केही सुकुम्बासीले अतिक्रमण गरि बसेका पनि छन् । ‘त्यो जग्गाबारे वार्डबाटै अपुताली कायम गरिपाउ भनेर सर्जमिन भई आएको थियो, हामीले जिल्ला प्रशासन र मालपोतमा पत्र पठायौं, तर प्रक्रिया बीचैमा रोकियो’–प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने–‘अहिले तेह्रथुमबाट हकवाला कायम भएर आएको छ रे । वडा नागरिक मञ्चले रोकिपाउ भनेर पत्र पठाए पछि फेरी त्यसैलाई आधार बनाएर मालपोतलाई पत्र पठाइसकेका छौं ।’
धनमाया जैसिनीको हकवाला भनिएकाहरुले तेह्रथुमको म्याङलुङ्ग नगरपालिकाबाट नाता प्रमाणितको प्रमाणपत्र ल्याएका छन् । नाता प्रमाण पत्रअनुसार हकवाला हरिप्रसाद तिम्सिना धनमाया जैसिनीको जेठी सौतेनी सिता तिम्सिनाको छोरा हुन् भने भरतराज, भोलानाथ, लक्ष्मण र झयन्द्र धनमायाको माइली सौतेनी भक्तकुमारी तिम्सिनाका छोराहरु हुन् । भक्तकुमारीका अर्का छोरा रामकुमारको मृत्यु भइसकेकोले उनकी पत्नी भोजकुमारी तिम्सिनालाई पनि हकवाला बनाइएको छ । यस्तै, हकवाला भनिएका देवेन्द्रराज तिम्सिना धनमायाकी काइली सौतेनी विष्णुमायाको छोरा भएको उल्लेख छ । यस्तै, हकवाला हरिप्रसाद उपाध्याय र हरिप्रसाद तिम्सिना एकै व्यक्ति भएको र उनको पिता देउनारायण पाध्य भन्ने देवनारायण तिम्सिना नै भएको तर निजको नागरिकतामा भुलवश नामथर हरिप्रसाद उपाध्याय र पिताको नामथर देउ नारायण पाध्य हुनपुगेको वडा सर्जमिन पनि समावेश छ ।
यसैगरि, संयुक्त वडा समिति ६ र ७ का गरेको वडा सर्जमिन मुचुल्कामा देवनारायण तिम्सिनाको मृत्यु मिति २०४७ लाई केरमेट गरेर २०२७ बनाइएको छ भने उनकी पत्नी धनमाया जैसिनीको मृत्यु २०३४ उल्लेख छ । दुवैको मृत्यु तेह्रथुम जिरिखिम्तीमा आफ्नै कालगतिले भएको भनिएको छ । संयुक्त वडा समितिले नाता प्रमाणितको वडा सर्जमिन मुचुल्का, नगरपालिकाबाट भएको नाताप्रमाणित एवं हरिप्रसाद उपाध्याय र तिम्सिना एकै व्यक्ति भएको वडा सर्जमिन मुचुल्का एउटै मिति २०७१ चैत २६ गते छ । यस्तै, सोही मितिमा संयुक्त वडा समितिले सिधै जग्गा नामसारीको लागि मालपोत कार्यालय सुनसरीलाई सिफारिश गरेको पत्र छ । तर, नापी फिल्डबुकमा उल्लेख भएको धनमाया जैसिनीकी पति देवनारायण जैसी नै तेह्रथुमका देवनारायण तिम्सिना हुन् भन्ने प्रमाण भने समावेश छैन । नापी प्रमुख कृष्णराज न्यौपाने धरान नगरपालिकाको किटानी सिफारिश र धनमाया जैसिनी देवनारायण तिम्सिनाकै पत्नी हुन् भन्ने सबुतप्रमाण ल्याए मात्र नियमअनुसार प्रक्रिया पु¥याएर मालपोतबाट दा.खा.नामसारी हुनसक्ने बताउछन् ।
तिम्सिना दाजभाईले धनमाया जैसिनी र देवनारायण जैसि तेह्रथुम तिरिखिम्तीमा मृत्यु भएको वडा सर्जमिन ल्याएपनि धरान १३ का पुराना बासिन्दाहरुको भने अर्के भनाई छ । स्थानीय ७५ बर्षीया रामकुमारी निरौलाका अनुसार धनमाया जैसिनी आफ्ना एक छोराको साथमा फुस्रेमा बसेका थिए । उनको जग्गामा घना जंगल भएकोले फुस्रेका गौरीमान श्रेष्ठ र उनका छोरा चन्द्रबहादुरले आफ्नै घरमा आमा(धनमाया) छोरा(चाउरे कान्छा)लाई बस्न दिएका थिए । ‘पहिला छोरा चाउरे कान्छा रोगले म¥यो, पछि चाउरेको आमा पनि यही मरेको हो’–निरौलाले भनिन्–‘आमा र छोरा दुवैको सदगत सबै गौरीमान र छोरा चन्द्रबहादुरले नै गरिदिएको थियो । आफ्नो मान्छे कोही नभएर चन्द्रबहादुर किरिया बसिदिएको थियो ।’ चन्द्रबहादुरकी छोरी मालती श्रेष्ठ पनि हकवाला कोही नभएपछि धनमायाको जग्गा आफुहरुले धेरै बर्ष कमाई खाएको र पछि मोटे राई भन्नेलाई अधिया दिएको बताइन् । पछि तिनै मोटे राई र पुर्ण राई भन्ने व्यक्तिले तत्कालीन माओवादी पार्टीको आडमा जग्गा बिक्री गरेको स्रोतको भनाई छ । हकवाला नभएको जग्गा किनबेच रोक्न उपमहानगरपालिकाले प्रयास गरेपनि राजनैतिक कारणले नसकेको जनाएको छ ।
हकवाला भनिएकामध्ये देवेन्द्रप्रसाद तिम्सिना आफ्नी कान्छी आमा(धनमाया)को नाममा जग्गा छ भनेर भर्खर मात्र थाह पाएकोले नामसारी गराउन पहल थालेको बताउछन् । भतिज पिताम्बरले भनेअनुसार सबै कागजात तयार गरेर आफ्नो नाममा ल्याउन दाजुभाईले मञ्जुरी दिएको उनको दाबी छ । ‘सबै पिताम्बरले भनेअनुसार डकुमेन्ट बनायौं, पछि सबै दाजुभाईले तैले गर्नु, के के डकुमेन्ट चाहिन्छ, हामी दिन्छौं भनेका छन्’–उनले भने–‘हाम्रो बुबा देवनारायण तिम्सिना र जैसि एउटै हो, त्यसको प्रमाण चाहिन्छ भने पनि ल्याछौं ।’ पिताम्बरले भने हजुरआमाको नामको जग्गा भन्ने थाह पाएपछि हक लाग्ने भनेर प्रयास गरेको स्वीकारे । काका देवेन्द्रलाई मञ्जुरी दिएको र धर्म खड्काले पनि पहल गरेको स्वीकार्दै उनले भने–‘सम्पत्ति खोज्न पाउने अधिकार प्रयोग गरेका हौं, धर्म जीबाट पनि सहयोग भएको हो तर पार लगाउन सकेनन् । काकालाई सबै जिम्म दिएका थियौं, अहिले के भएको छ मलाई थाह छैन ।’ माओवादी केन्द्रका नेता खड्काले भने कागजात बनाइसकेपछि मात्र जग्गामा सुकुम्बासी पनि बसेको थाह पाएकोले नामसारी प्रक्रिया अघि नबढाएको दाबी गरे ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे