दानाबारी हाइकिङ(फोटोफिचर)

गत साता(भदौ १५ गते) बुधबार मात्र थाह भयो, त्यो ठाउँको नाम दानाबारी हो । हामीले अनुमान लगाएको बाँसको झ्याङ त चिलाउनेको रुखहरु पो रहेछ । दानाबारीको छुट्टै डाँडा, जसलाई स्थानीयबासी गढी थुम्का भन्दा रहेछन् । त्यहाँ सिंहदेवी थान रहेछ । धरानबाट पर्यटनकर्मी वासुदेव वरालको नेतृत्वमा १३ जनाको टोली पदयात्रा गर्दै पुगेको । यो पदयात्राले पङ डाँडाबारे बषौंदेखिको खुल्दुली मेटायो । अब पङ होइन, दानाबारीको गढी थुम्का नै भन्ने हो । गढीको अवस्था र गाह्रो लगाएर राखेको ढुंगाहरु हेर्दा ऐतिहासिक गढी हो भन्नेमा द्धिविधा रहेन । विजयपुर गढीसँग यसको सम्बन्ध पक्कै हुनुपर्छ । खोज अनुसन्धान भए नभएको थाह छैन । इतिहासकारहरु पुगेकै होलान् । हामी भने नयाँ ठाउँमा पुग्न पाउदा औधी खुशी थियौं ।
धरानका पत्रकारहरु प्रत्येक बुधबार आसपासको गन्तव्यमा पुग्छन् । एक बर्ष अमेरिका बसेर फर्किएका हुन, पत्रकार दाई जसकुमार राई । उनकै पहलमा हाईकिङ अभियान शुरु भएको हो । पदयात्रामा जो कोही सहभागी हुनसक्छन् । साथीहरु दानाबारी पुग्नुअघि चिण्डे(रमिते) डाँडा हुदै गोर्खा स्मृति पार्क र शिवजट्टा गए । जस दाईसँगै बसेर योजना बनाएपनि दुवै पटक समेल भइएन । दानबारी त जसरी पनि जानु थियो । नत्र टिमबाट आउट हुने जसदाईको चेतावनी !
हाइकिङ टोलीमा पत्रकार, इञ्जिनियरसँगै सुन्दरी प्रतियोगिताका विजेता ३ जना सुन्दरी पनि सामेल थिए । बिहानै ६ बजे होटल सेक्षमा भेला हुने खबर थियो । तर, बिहानैदेखि पानी परेकोले भेला हुनै समय लाग्यो । कार्यक्रमै रद्द पो हुने हो कि भन्ने आशंकाबीच ८ बजे बाटो लाग्यौ । वासुदेव दाई अघि अघि, अरु पछि पछि । निर्माणाधिन आदिबासी जनजाति संग्रहालय, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार हुदै विजयपुर चोक पुग्यौं । त्यहाँ कसैले खाजा खायौ, कसैले खाजाको जोहो ग¥यांै ।
बुढासुब्बा मन्दिर पुगियो । किरात इतिहासकार इमानसिंह चेम्जोङले बुढासुब्बा राजा बुद्धिकर्ण राय(बुढा सुभा)को समाधिस्थल हो भनेका छन् । बुढासुब्बाबारे प्रायः सबै जानकार छौं । र पनि, टोली नेता वासुदेव दाईले भने बुढासुब्बाबारे पौराणिककालको पात्र एकलब्यसँग पनि जोडेर अर्को नौलो कथा सुनाए । कथा बुन्न वासुदाई खप्पिस । पर्यटकलाई यस्तै रोचक कथाले आकर्षित गर्छ भन्ने दाईले बुझेका छन् । बुढासुब्बामा सेल्फी खिच्यौ । सेल्फीको क्रम गढीथुम्कासम्म चलिरह्यो ।
बुढासुब्बा पर्तिर सेउती खोलामा झोलुङ्गे पुल छ । बिहानभरि पानी परेकोले सेउती सामान्य भन्दा बढी उर्लिएको । हाम्रो बाटो भने झोलुङ्गे छोडेर खोला तरेरै जानुपर्ने । यात्राको शुरुवातमै ‘एडभेञ्चर’ अनुभूति भयो । सबभन्दा पहिला खोला तर्ने तरखर गर्दा जस दाईले टेकेको ढुंगा पल्टियो । खुट्टा पानीमा प¥यो, घुडा चाहि ढुंगामा ठोक्कियो । जस दाई हुरुक्कै ! । यो घटनाले सबै तर्सियौं, सचेत भयौं । खोला फिजिएको ठाउँ खोज्यौं । खोलाको बीच बीचमा भंगालो छ । जुत्ता खोल्यौं, र एक अर्कामा हात समाउदै बल्ल त¥यौं । ठिक त्यही बेला साना स्कुले बच्चाहरु पनि खोला तर्दै थिए । स्कुल ड्रेस निथ्रुक्कै भिजेको । सानो बच्चा बोकेकी महिला, भारी बोकेका युवाहरु पनि खोला तर्न तम्तयार । दिनहुँ आउ जाउ गर्नेलाई खोला बाढी आउदा झन् कति सकस होला ।
खाकर डाँडा उकालो चढ्दै गर्दा घाम पनि चर्कियो । ढुंगा ओछ्याएर बनेको फलैचामा सुस्तायौं । जति माथि गयो, विजयपुर गढी र धरान बजारको उति नै मनमोहक दृष्य । आह ! जताततै हरियाली । मौषम पनि छिन छिन बदलिने । घरि घाम चर्किन्छ, घरि पानी पर्ला झै हुन्छ । घरि हुस्सुले छोपेर सितल बनाइदिन्छ । टोलीमा वासुदेव दाईबाहेक सबै पहिलो पटक दानाबारी चढ्दै गरेको । अझै कति समय लाग्छ दाई ? कोही न कोहीले दाईलाई सोधिरहेकै छ । नसोधुन् पनि किन ? सेउती पार गरेपछि उकालो मात्र चढेको चढ्यै । पसिनाले सबैजना निथ्रुक्क । धन्न, जस दाईको अग्र्यानिक पिस(जोक्स)हरुले हसाउँछ र बाटो कट्न सजिलो । प्रायः सबै रमाइला नै छन् । कोशी टप्पु वन्यजन्तु आरक्षमा पर्यटक सफारी गराउने सम्भावनाबारे दिनेश गजमेर र वासु दाईको सल्लाह भयो । सफारी गाडीको लागि लगानी गर्ने सोचमा रैछन् दिनेश जी ।
टोलीमा ४ जना महिला । रुपान्तरण नेपालकी अध्यक्ष सविता राई, मिस पुर्वाञ्चल २०१६ की सेकेण्ड रनरअप १८ बर्षीय इक्सा मादेन, मिस मंगोल २०१५ की फस्ट रनरअप सरुपा थापा मगर र मिस लिम्बु, मिस मंगोलकी टप ५ मेरीना तुम्सा लिम्बु । सुन्दरी चेलीहरु विजयपुर एफएममा यात्रा नामको नयाँ कार्यक्रम शुरु गर्न लागेका रहेछन् । त्यसको लागि उनीहरुले नियमित यात्रा वर्णन गर्दै रेकर्ड गरिरहेका थिए । सबैसँग रमाइलो कुराकानी रेकर्ड गराउदै हिडेका । उनीहरुको पोग्राम लिडर चै पत्रकार भैरव आङला । सविताबाहेक तीन जना सुन्दरीको पहिलो पदयात्रा । सबै साहसीमा दरिए । झण्डै चार घण्टाको उकालोमा कसैले पनि हरेस खाएनन् । बरु प्यास मेटाउन बाटोमा जरुवा पानी खायौं, खेतधनीले थाह नपाउने गरी बोटमै टिपेर अम्बक खायौं । तल सुसाइरहेको सेउती सुनेर रमायौं । विजयपुरको शिर हुदै शिवजट्टा जाने बाटो नियाल्यौं, हरिया डाँडा देखेर रमायौं । शहर बजारको ब्यस्त दैनिकी, भीड र कोलाहलबाट टाढा । मन असाध्यै खुशी थियो ।
दानाबारी धरान बजारदेखि करिब १० किलोमिटर पुर्वीउत्तरमा अवस्थित रहेछ । विगतमा यो पाँचकन्या गाविस वार्ड नम्बर ४ मा पथ्र्यो । अहिले धरान उपमहानगरपालिका वार्ड नम्बर २१ मा पर्छ । ग्रामिण जनजीवन, मनोरम प्रकृति, कुहिरोसँग लुकामारी, चिसो जरुवा पानीको स्वाद अनि अग्र्यानिक तरकारी खेती । दानावारी पुगेपछि सारा थकान मेटिने । यहाँको बिषेशता नै यही हो । वासुदेव दाईको यो चौथो पटकको यात्रा । चारै पटक उनले पदयात्री टोलीको नेतृत्व लिएर पुगेको । दाईले दानाबारीबाट धरानलाई पृष्ठभुमि राखेर खिचेको फोटोले मलाई निक्कै लोभ्याएको थियो । दाईले लव डाँडामा उभिएर त्यो फोटो खिचेका रहेछन् । त्यहाँ पुगियो, तर हुस्सुले धरान छोपेको । फोटो खिच्नै पाएनौं । अर्को पटक खिचौला । यहाँबाट धरानको जुन स्वरुप देखिन्छ, अन्य कहिबाट देखिदैन । वासुदाईले लव डाँडा भनेपनि गाउँलेहरु रमिते डाँडा भन्दा रहेछन् ।
दानबारीको उचाई अर्को पर्यटकीय गन्तव्य भेडेटारको हाराहारीमा छ । तर, दानाबारी भेडेटारभन्दा धेरै शान्त । भेडेटारमा दिन प्रतिदिन होटल थपिदै गइरहेको छ । त्यसले भेडेटारको प्राकृतिक स्वरुपमाथि अतिक्रमण गरेको छ । यसतर्फ भेडेटारका सरोकारवालाहरु समयमै सचेत हुनुपर्ने हो । दानाबारी एकदम शान्त छ । मानिसहरु मेहनती, मनकारी छन् । प्रत्येक घरमा हरियो तरकारी खेती छ । गाँउको आम्दानीको स्रोत त्यही हो । झण्डै चार बर्षअघि धरान बजार पुग्ने बाटोको ट्रयाक खुलेपछि गाउँलेलाई राहत छ । तरकारी बोकेर झार्नुपदैन, गाडीबाटै बजारसम्म पुग्छ । विरामी मान्छेलाई पहिला जस्तो झोलुङ बनाएर लैजानु पर्दैन । त्यहाँ स्कुश र बेसार धेरै उत्पादन हुने रहेछ । त्यसबाहेक रायो साग, अदुवा, काक्रोलगायत तरकारी । हामी पुग्दा प्रत्येक घर स्कुशको लहराले चारैतिर घेरिएको थियो ।
मणिकुमार राईको दोकानमा पुग्यौं । बुढापाकासँग गफियौं । तर, दानबारी किन नाम रह्यो भन्ने कसैले खुलाउन सकेनन् । दोकान सामुन्नेमा खुला चौर छ । भलिवल मैदानमा नेट पनि । वासुदेव दाईले ढकनी(तिजमा खाने परिकार) र चनाको तरकारी बोकेका रहेछन् । पहिलो पटक ढकनी चाखियो । आहा, कति मिठो । सबैले वासुदाई र भाउजुलाई धन्यवाद दियौं । जस दाई र दिनेश गजमेरले काक्रा किनेर ल्याएछन् । चिउरा, प्याज, टमटर, खुर्सानी र चाउचाउ मिसाएर चटपटे बन्यो । अघाउञ्जेल खायौं । कसै कसैले त अग्र्यानिक तीनपानेको चुस्की पनि लिए । जसदाई जोशिए, ‘यहाँको लोकल भालेको सुप त खानै पार्छ ।’ दोकानेसँग भालेको मोलतोल भयो । मणिकुमारले आँगनमा चारो हाले, कुखुराको त बिस्कुनै पो लाग्यो । कति धेरै हो गाँठे । चारो खाइरहेको भालेलाई हातैले च्याप्प समाते उनले । हेर्दा कति रमाइलो ।
सुप तयार भइञ्जेल भलिवल खेल्ने सल्लाह ग¥यौं । छ÷छ जनाको दुई टोली बन्यो । सरुपा बैनी रेफ्री बसिन् । साह्रै रमाइलो भयो । खेल सकियो, सुप तयार भएन । दोकानमा भएका बुढापाकाले पर्तिरको गढी थुम्कामा सिंहदेवी थान छ भनेर जानकारी दिए । सबै त्यतै लाग्यौं । झाडी पन्साउदै देवीथान पुग्यांै । हल्का झरी पर्दैथियो । केहीलाई जुकाले रगत चुस्न थालिसकेछ । सुन्दरी चेलीहरु डरले चिच्याउदै थिए । देवी थान भनेर गएको ऐतिहासिक गढी पो देख्यौं । बीचमा एउटा चिलाउनेको ठुलो रुख । मिलाएर राखेको ढुंगाको गाह्रो । चारै कुनामा नाग नगेनी, नौली बजै, जलदेवी, रक्तकाली, चम्की बुढेनी, भैरवपतिलगायत ढुंगाको देवीदेवता थान । भैरव आङला लिम्बुवान इतिहास र गढीहरुको खोज अध्ययन गर्छन, तर यो गढीबारे उनी पनि अनभिज्ञ रहेछन् । दुवै जना भएर गढीको चारैतिरबाट फोटो खिच्यौं । सेल्फी त छुट्ने कुरै भएन ।
फर्कदा वासुदेव दाई र सविता जी स्थानीय पुर्णमाया राईको बारीमा स्कुशको मुन्टा टिप्दै थिए । पुर्णमाया चाहि बिक्रीको लागि स्कुश दाना टिपिदिदै थिइन् । इक्सा मादेन बैनीले पनि स्कुश किनिन् । पर्यटन प्रर्वद्धन हुदाको फाइदा स्थानीयलाई यही त हो नि । गाउँघरमा घुम्न आउछन् । जे छ किनेर खान्छन् । तरकारी बोकेर लैजान्छन् । तिते हालेको सुप तयार भएछ । वासुदेव दाईबाहेक सबैले खायौं । साह्रै स्वादिलो । तिते किरात राई जातिको मौलिक परिकार हो । पहिलो पटक खानेलाई तितो लागेपनि विस्तारै मिठो हुन्छ । खासमा चामल हालेर छुट्टै तिते बनाइन्छ । त्यहाँ भने सुप नै तितेको बनाइयो । जसदाईको फेरि जोक्स सुनेर पेट मिचिमिचि हाँसियो । सरुपाले सायरी भनिन् । विकास राईले जोशिलो कविता सुनाए ।
गढीथुम्काबाट फर्केपछि पो गाउँले भन्छन्,–‘बैशाखे पुर्णेमा पुजाआजा गर्दा मात्र जाने ठाउँ हो । अरुबेला गए त राम्रो हुदैन ।’ परेन फसाद ? कति गाउँले त त्यहाँ एक पटक पनि गएका रहेनछन् । आस्था, विश्वासको कुरा हो । अञ्जानमा गइयो, देवीदेउताले नि माफ दिन्छन् भन्दै सबैले चित्त बुझायौं । त्यहाँ बैशाखे पुर्णेमा मगर कन्ये केटाले पुजा गर्दो रहेछ । बुढाले सिकाउछन् रे । कुखुरा, परेवालगायत भोग दिइन्छ । फर्कने तरखरमा थियौं, दोकाने मणिकुमार डोको र हातमा चिम्टा बोकेर कतै जान लागेका थिए । ‘सिस्नु टिप्न हो ?’ सोधियो । ‘चारोको लागि टिप्न जान लागेको’–उनको जवाफ उदेकलाग्दो थियो । शहरमा ताजा सिस्नु किनेर खान पनि नपाइने स्थिति छ । यहाँ भने गाईवस्तुलाई चारो खुवाउछन् । किनेर लैजान्छौं भनेपछि उनले एकजना छिमेकी बजुलाई अह्राइदिए । ती बजुले सय रुपैयामा टन्न सिस्नु दिइन् । हामी रमाउदै फर्कियौं ।

............................................................................
वासुदेव वराल, पर्यटनकर्मी सेक्ष ट्राभलिङ

.....................................................
जसकुमार राई, पत्रकार÷वृत्तचित्र निर्माता तथा निर्देशक

....................................................................
मणिकुमार राई, किराना पसल सञ्चालक दानाबारी

Comments
Post a Comment