धरानको गौतमपथमा आगलागी, ७ वटा पसल नष्ट, करोड बढी क्षतिको अनुमान

धरान । कुखुरा मासु पसलबाट ग्याँस लिक भएर आगलागी हुदा बुधबार दिउँसो धरान ९ गौतम पथस्थित एक फर्निचर स्टोरसहित ७ वटा पसल जलेर पुर्णरुपमा नष्ट भएको छ । क्षतिको यकिन विवतरण आउन नसकेपछि एक करोड बढी क्षति पुगेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागी दिउँसो करिब ३ बजेतिर किसोर खड्गीको कुखुरा मासु पसलबाट शुरु भएको थियो । करिब डेढ घण्टाको प्रयासपछि मात्र आगो नियन्त्रणमा आएको थियो । ग्याँसको नयाँ सिलिण्डर जडान गरेर आगो बाल्ने लिक भई भिषण आगलागी शुरु भएको बताइएको छ । खड्गीको पसलसँगै रहेका गंगा बास्तोलाको कुखुरा मासु पसल, कृष्ण शाक्यको साइकल मर्मत केन्द्र, अम्बास अन्सारीको चाबी तथा झोलाको पसल, राजेश श्रेष्ठको कुखुरा मासु पसल र भुपालमान शाहीको सुंगुरको मासु पसल पनि जलेर नष्ट भएको छ । भित्रपट्टी आरसि फर्निचरको स्टोरसमेत जलेर नष्ट भएको छ । आगलागी हुदा २ वटा ग्याँस सिलिण्डर पड्किएपछि भिषणरुप लिएर नियन्त्रणबाहिर पुगेको थियो । इटहरी र धरानको दमकलसँगै जनपथ, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा करिब ढेड घण्टापछि आगालागी पुर्णरुपमा नियन्त्रणमा आएको थियो । आगोले छिमेकी बेला श्रेष्ठको पक्की घरको पनि झ्यालको सिसाहरु फुटेर क्षति पुगेको छ ।
आगलागी शुरु भएको मासु पसलका सञ्चालक खड्गीका अनुसार नयाँ ग्याँस सिलिण्डर जोडेर आगो बाल्ने क्रममा चुलोमा नबली एक्कासी सिलिण्डरमा नै आगो बलेको थियो । सिलिण्डरमा नै आगो बल्न थालेपछि भागेर बाहिर निस्किएर ज्यान बचाएको खड्गीले बताए । ‘नयाँ सिलिण्डर ल्याएर जोडेपछि चुलोमा लाइटर बाल्दा झ्याप्पै सिलिण्डर पो बल्यो’–उनले भने–‘त्यसपछि भागेर बाहिर निस्किए, सिलिण्डर पड्कियो ।’ स्थानीयले ६० लाख बढी क्षति भएको अनुमान गरेका छन् । आगोमा परेका पसलहरु सबै जस्ता, काठलगायत प्रयोग गरेर टहरा स्वरुपमा बनेको थियो । साथै, फर्निचरको गोदामसमेत भएकोले आगो चाडै फैलिएको हो । जलेका टहराहरुहरु सबै जग्गावालाले नै निर्माण गरिएको पसल सञ्चालकहरु बताउछन् ।
आगलागी शुरु भएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरिदिएका थिए भने धरानको दमकल आएर नियन्त्रणको प्रयास थालेको थियो । एउटा मात्र दमकलले सम्भव नभएपछि इटहरीबाट पनि दमकल बोलाइएको थियो । आगलागी शुरु भएको करिब ५ मिनेट भित्रमा नै प्रहरी र दमकल घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय धरानका निमित्त इञ्चार्ज एवं प्रहरी निरीक्षक प्रकाश श्रीमलले जानकारी दिए । आगलागी भएको करिब डेढ घण्टापछि पुर्णरुपमा नियन्त्रणमा आएको थियो । ‘आगो पुर्णरुपमा नियन्त्रणमा लिन डेढ घण्टाजति लाग्यो, आगो निभाउन धरान र इटहरीको दमकल आएको थियो’–उनले भने–‘ग्याँस पाइप लिक भएर आगलागी शुरु भएको रहेछ, एकदेखि डेढ करोड क्षति भएको प्रारम्भिक अनुमान गरेका छौं ।’
प्रही निरीक्षक श्रीमलका अनुसार २ वटा ग्याँसको सिलिण्डर पड्किएको थियो भने स्टोर गरिएका थप ३ वटा सिलिण्डर बाहिर निकालिएको थियो । प्रहरीले सिलिण्डर बाहिर निकालेपछि रमिते बनेकाहरुबीच भागदौड र खैलाबैला मच्चिएको थियो । आगो नियन्त्रणमा लिन जनपद, सशस्त्र प्रहरीसँगै अञ्चल प्रहरीको गुल्मबाटसमेत गरि ७० जनाको हाराहारीमा सुरक्षाकर्मीहरु परिचालन भएका थिए भने सर्वसाधारणहरुले पनि मद्दत गरेका थिए । ‘आगो शुरु भएपछि जानकारी आएलगत्तै ५ मिनेटभित्र प्रहरी र दमकल पुगिसकेका थियौं’–श्रीमलले भने । आगलागी भएको गौतम पथ क्षेत्र भानुचौक क्षेत्रपछिको ब्यस्त स्थानमा पर्छ । नजिकै पुतलीलाइन र सब्जी बजार पनि भएकोले यहाँ सर्वसाधारणहरुको घुइचो लाग्ने गरेको छ ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे