आर्मी बनेर खेल्दा खेल्दै चट्याङले ३ बालक गुमे

धरान । संविधान दिवस परेकोले सोमबार सार्वजनिक विदा थियो । स्कुल छुट्टी भएकोले मोरङको कोशी हरैचा नगरपालिका १, बाघझोडा वस्तीका केटाकेटीहरु दिउँसो वस्ती नजिकै खेल्न गएका थिए । वस्ती पर्तिर बासको झ्याङ थियो । त्यहाँ आधा दर्जन बालकहरु आर्मी बन्न ट्रेनिङ लिने भन्दै उभिएका थिए ।
टन्टलापुर घाम लागेको थियो । दिउँसो करिब एक बजेतिर एक्कासी जमिन थर्किने गरी आकाश करायो । आर्मी बनेर खेल्दै गरेका बालकहरु भुईमा सोतर ढले । चर्को घाम लागिरहेकोले चट्याङ पर्ला भन्ने पुर्वाभास कसैलाई पनि थिएन । बास झ्याङमा चट्याङ परेकोले भवितव्य केही भएको आशंकामा गाउँलेहरु त्यतिै दौडिए । घटनास्थल पुग्दा ५ जना बालकहरु चट्याङ लागेर सिकिस्त अवस्थामा थिए । गाउँले र अभिभावक मिलेर हत्तपत्त बालकहरुलाई उपचारार्थ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याए । तर, घाइते ५ मध्ये तीन जना बालक बच्न सकेनन् । खेल्दा खेल्दैका कलिला बालकहरु गुमेपछि गाउँ शोकमा डुबेको छ ।
चिकित्सकले ७ बर्षीय चिराग खुलाल र १४ बर्षीय राहुल सुब्बालाई प्रतिष्ठानको आकस्मिक कक्षमा मृत घोषित गरेका थिए भने १२ बर्षी सन्देश उरामनलाई प्रतिष्ठानको बाल आकस्मिक कक्षमा मृत घोषित गरिएको थियो । बाल अकस्मिक कक्षका डाक्टर राजन पौडेलका अनुसार शरीरमा चट्याङसँगै करेन्ट प्रवाह हुदा मुटुमा हान्ने अधिक सम्भावना हुन्छ । मृतक बालक प्रतिष्ठानमा ल्याइपु¥याउदा मुटुको धडकन रोकिसकेको थियो । ‘चट्याङ पर्दा मुटुमा करेन्ट हान्ने धेरै चान्स हुन्छ, बच्चा यहाँ आइपुग्दा धड्कन थिएन’–डाक्टर पौडेलले भने । चट्याङ लागेर घाइते १० बर्षीय अनन्त भट्टराई र ११ बर्षीय रोजन भट्टराईको बाल आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनीहरु खतरामुक्त छन् ।
मृतक चिरागका बुबा चन्द्रबहादुर खुलालका अनुसार स्कुल विदा भएकोले केटाकेटीहरु दिउँसो खेल्न गएका थिए । पानी पर्ने वा भयंकर चट्याङ पर्ने कुनै छेकछन्द थिएन । तर, एक्कासी जमिनै हल्लिने गरी चट्याङ परेको उनले सुनाए । ‘छोराहरु बाँस झ्याङतिर खेल्दै थिए । पानी पर्ने जस्तो भएको भए त घर आउथे होलान् । तर त्यसबेला चर्को घाम लागिरहेको थियो’–दुई भाई छोरामध्ये जेठा चिराग गुमाएका उनले भने–‘घर,जमिन थर्किने गरी चट्याङ हानेपछि दौडादौड भयो, बास झ्याङतिर के भयो भनेर पुग्दा केटाकेटी छटपटिरहेको थियो । हत्तपत्त उठाएर जुन गाडी भेट्यो, त्यसैमा ल्यायौं ।’
अभिभावकहरुका अनुसार घाइते बालकहरुको अधिकांशको शरीर जलेको अवस्थामा थियो । बासमा चट्याङ लागेर चिरा परेको थियो । घाइते बालक अनन्तका अनुसार बास झ्याङ मुनि उभिएर उनीहरु आर्मी बन्न तालिम लिने भनेर लाइनमा उभिएका थिए । त्यसबेला ड्याम्म आवाज आएको उनको भनाई छ । ‘बासघारी मुनि आर्मी ट्रेनिङ खेल्दै थियौं, लाइनमा उभिएको थियौं’–बाल आकस्मिक कक्षमा उनले भने–‘ड्याम्म पड्केको सुने । केही बेरपछि त मेरो खुट्टै चलेन ।’ उपचारको क्रममा रहेका उनको खुट्टाको औलाहरु चलाउन थालेका छन् । मृतक चिराग सिद्धार्थ बोर्डिङ स्कुलमा कक्षा ३ मा पढ्थे भन राहुल कुसुना उच्चमाविमा कक्षा ७ र सन्देश कक्षा ६ मा पढ्थे । घाइते सिदार्थ बोर्डिङमा कक्षा ३ मा र रोजन कक्षा ४ मा पढ्छछन् ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे