धरानको फोहोर धानखेतमा थुप्रिएपछि बक्लौरीबासीको फोहोर उपहार

कर्मचारी र आफ्नो काम लिएर आएका धराने जनताहरु भेला भए । नारा लगाउने युवाहरु धरानदेखि दक्षिणी गाविस बक्लौरीका रहेछन् । खहरे खोलाले धरानबाट बगाएर लगेको प्लाष्टिकजन्य फोहोरले धानखेत पुरिएको विरोधमा उनीहरु एक ट्रयाक्टर फोहोर उपमहानगरपालिकालाई ल्याएका रहेछन् । केहीबेरको वादविवादपछि उनीहरुले निमित्त प्रमुख एवं वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाको रोहबरमा उपमहानगरपालिका परिसरमा फोहोर थुपारिदिए । साथै, बक्लौरीको ३ वटा पैनीमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न ३ दिनको अल्टिमेटम दिएर उनीहरु फर्किए ।

बक्लौरीबासीका अनुसार अहिले धरानका दुई खहरे खोलाले बगाएको फोहोरले कजरा, सुनसरी र गोलझाप्रे पैनी थुनिएको छ भने ती पैनी हुदै बाढीले फोहोरलाई धानखेतमा लगेर थुपारेको छ । स्थानीयका अनुसार करिब ६ किलोमिटर पैनीको क्षेत्रफलमा फोहोर थुप्रिएको छ भने फोहोरले ९ वटै गाविस प्रभावित छ । ‘गर्भपन गरेर फालिएको बच्चा, शिसा, जुत्ता चप्पल, कण्डम, सिरिञ्ज, हेल्मेट, कोक, पानीको बोतल के छैन धानखेतमा ?’–नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाका केन्द्रीय अध्यक्ष प्याकुरेलले आक्रोशित हुदै भने–‘गाईबस्तुले प्लाष्टिक खाइदिएर मर्छ, खेतीलाई असर गरिसक्यो । सिसा, सिरिञ्जले घोचेर उपचारमा हजारौं खर्च भइरहेको छ ।’ धरानेहरु आफु सफा बसेर गाउँका मानिसलाई पीडा दिएको र उर्बर धानखेती नाश भइरहेको उनले थप आरोप लगाए ।

उपमहानरपालिकाका सरसफाई अधिकृत शिशिर श्रेष्ठका अनुसार धरान क्षेत्रमा दैनिक ४० टन फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये २० देखि २५ प्रतिशत टन फोहोर मात्र उपमहानगरपालिकाले दैनिकरुपमा संकलन गरेर डम्पिङ गर्ने गरेको छ । बाँकी फोहोर ड्रेन, खहरे हुदै बर्षातमा बगेर बक्लौरी, भरौल गाविसतिर पुग्छ । घरमा उत्पादन हुने फोहोरलाई स्रोतमै वर्गीकरण गरे छुट्टयाउने र व्यवस्थापन गर्ने प्रणाली नअपनाएसम्म यो समस्याबाट मुक्ति नमिल्ने श्रेष्ठले बताए । ‘फोहोर व्यावस्थापनको जिम्मा नगरपालिकाको मात्र हो भन्ने आमधारणा छ, यसमा परिवर्तन आउनुपर्छ र यो सबै सरोकारवाला, जनताको पनि जिम्मेवारी हो भनेर सचेत नभएसम्म समस्या हल हुदैन’–उनले भने । उपमहानगरपालिकाले बार्षिकरुपमा ५ लाख हाराहारीमा सरसफाई शुल्कवापत कर संकलन गर्ने गरेको छ । तर, फोहोर व्यावस्थापनको लागि भने डेढदेखि २ करोड रुपैया खर्चर्ने गरेको छ ।
Khubai Mehanati rahexan Baklaaruri basi... yasari nai dailly dharan ma lyayera diye... collector lae khub moh hunthyo hola.
ReplyDelete