वनको कारागारमा नाम मात्रैको सशस्त्र


धरान । जिल्लाभरिबाट वनजंगल हानी नोक्सानी गर्ने एवं काठ तस्करीमा संलग्नलाई पक्राउ गरेर राखिने ठाउँ(कारागार) सुरक्षाको दृष्टिकोणले निक्कै संवेदनशील मानिन्छ । तर, सुनसरीको हाँसपोशा १, तरहारास्थित थुनुवा राख्ने ठाउँको सुरक्षामा भने लापरवाही छ ।
तरहरामा जिल्ला वन कार्यालय सुनसरीको सशस्त्र वन रक्षक सुरक्षा शाखा छ । त्यहाँ जिल्लाभरि समातिएका थुनुवाहरुलाई राखिन्छ । तर, सुरक्षाको दृष्टिकोणले न थुनुवा कक्ष वलियो छ, न बाहिरी सुरक्षाको प्रबन्ध नै छ । त्यहाँ पाँच जना सशस्त्र वन रक्षक छन् । प्रत्येक वन रक्षकसँग हतियार राइफल हुनुपर्ने हो । तर, उनीहरु हतियारविहिन छन् । डिउटीमा रहदा वन रक्षकले अनिवार्य सशस्त्रको पहिचान झल्कने कम्ब्याट ड्रेस लगाउनुपर्छ र हरदम कोही न कोही थुनुवास्थलमा सर्तकपूर्वक डिउटीमा हुनुपर्छ । तर, तरहरास्थित थुनुवास्थल पुग्दा न सशस्त्र वन रक्षक ड्रेसमा हुन्छन् न डिउटीमा नै भेटिन्छन् ।
०५० सालमा निर्माण गरिएको थुनुवा राख्ने भवन पनि जीर्ण छ । छाना लगाएको टिन प्वाल पर्न थालिसकेको छ । मक्किदै गएको झ्याल, ढोला र पिलर विनाको इटाको गाह्रो पनि सुरक्षाको दृष्टिकोणले जोखिमपुर्ण छ । बढीमा दर्जन थुनुवा रहने क्षमता भएको कोठामा कहिले कही दुई दर्जन बढी थुनुवा पुग्छ । थुनुवालाई हतकडी लगाउने व्यवस्था पनि छैन । सुरक्षाको नाममा थुनुवा भवनलाई सिमेन्टको पिलर गाडेर काँडेतारको घेराबार गरिएको छ, त्यो पनि सामुदायिक वन उपभोक्ता समुहको आर्थिक सहयोगमा । सशस्त्र वन रक्षकहरु काँडेतारसँगै बनेको गेटमा चाबी लगाउछन् र नजिकैको चौतारीमा सिभिल ड्रेसमा गफिदै बस्छन् ।

तस्कर एवं थुनुवाहरुलाई म्याद थप गर्न बेला बेला सदरमुकाम इनरुवास्थित जिल्ला अदालतमा लैजानुपर्छ । त्यसबेला सशस्त्र वन रक्षक हतियारविहिन भएको मौकामा तस्कर भाग्न सक्ने वा तस्करहरुको समुहले बीचबाटोमा नै आक्रमण गर्नसक्ने खतरा पनि छ । तरहरादेखि इनरुवा करिब २४ किलोमिटरको दुरी पार गर्नुपर्छ । यति सुरक्षा जोखिम हुँदा हुदै पनि सशस्त्र वन रक्षकहरु ह्तियार बोक्दैनन् । उनीहरुलाई राज्यले हतियार उपलब्ध नगराएको भने होइन । ‘हामीसँग हतियार नभएको होइन, तर यहाँ हतियार राख्ने सुरक्षित ठाउँ नभएकोले धरानतिरै राख्न दिएका छौं’–सशस्त्र वन रक्षक सुरक्षा शाखाका प्रमुख एवं टेम्पुरेरी सुवेदार रेवतीरमण अधिकारीले भने–‘जीर्ण घर छ, बस्न सुरक्षित छैन, त्यसैले हतियार नराख्नु हाम्रो बाध्यता हो ।’
जीर्ण भवन, हतियारको सुरक्षाबारे सम्बन्धित निकाय जिल्ला वन कार्यालयलाई जानकारी गराइसकेको पनि उनले बताए । संख्या कम भएकोले समय मिलाएर फिल्डमा पनि जानुपर्ने हँुदा ड्रेस नलगाएको अवस्था पनि हुनसक्ने बताए । थुनुवालाई जिल्ला अदालतमा उपस्थित गराउन लैजादा पहिला नै अवस्था बुझेर मात्रै लगिने उनको भनाई छ । तरहरास्थित सशस्त्र वन रक्षक सुरक्षा शाखामा सुवेदारको कमाण्डमा पाँच जना रक्षक छन् । यसबाहेक त्यहाँ इलाका वन कार्यालय इटहरी र इलाका वन कार्यालय तरहराको पनि कार्यालय छ ।

धरानस्थित सेक्टर वन कार्यालयका सुवेदार हरिप्रसाद गिरी भने असुरक्षा भन्दै हतियार आफ्नो साथमा नराख्नु वन रक्षकको सुरक्षा लापरवाही भएको बताउछन् । त्यहाँको हतियार धरानमा नभएको पनि उनले प्रष्ट्याए । ‘उनीहरु सशस्त्र वन रक्षक हुन्, सरकारले दिएको वर्दी लगाएर र राइफल बोकेर हरदम डिउटीमा हुनुपर्ने हो’–उनी भन्छन् । धरानस्थित सेक्टर वन कार्यालयका सुवेदार हरिप्रसाद गिरीले भने–‘असुरक्षा छ भने त झ्न हतियार चाहिन्छ, त्यहाँ थुनुवा पनि छ । हतियार नदेख्दा थुनुवा तस्कर राती भाग्ने आँट पनि गर्नसक्छ ।’ राइफल र सशस्त्र वन रक्षकको ड्रेस लगाएपछि हरदम डिउटीमा बाँधिएर बस्नु पर्ने भएकोले पनि तरहराका वन रक्षकहरुले ड्रेस नलगाएको र हतियार पनि आफ्ना साथमा नराखेको उनको भनाई छ । म्याद थप गर्न अदालत जादा पनि त्यहाँका वन रक्षकहरु ड्रेस विना नै जाने गरेको उनले बताए ।

धरानका सहायक वन अधिकृत ज्ञानकुमार लामा पनि अहिले द्धन्दकाल नभएको र तरहरास्थित सशस्त्र वन रक्षक सुरक्षा शाखा नजिकै प्रहरी चौकी पनि बनेकोले हतियार राख्न असुक्षित छ भन्ने कुरामा सहमत छैनन् । ‘हतियार नै राख्दैनन् अनि असुरक्षा छ भनेर हुन्छ ? अहिले नजिकै प्रहरी चौकी पनि छ, द्धन्दको अवस्था पनि छैन’–उनले भने ।
 सुनसरीका जिल्ला वन अधिकृत राजबहादुर राउत पनि हतियार राख्ने सुरक्षित ठाउँ नभएकैले कारागारका सशस्त्र वन रक्षकलाई हतियार नदिएको स्वीकार गर्छन् । नजिकै प्रहरी चौकी भएकोले थुनुवा भाग्न सक्ने स्थिति भने नभएको उनले दाबी गरे । ‘भर्खरै अनुगमनमा गएको थिएँ, भवन मर्मत गर्ने तयारी हुदैछ । हतियार राख्न स्पेशल ठाउँ बनाउनुपर्छ’–उनले भने–‘डिउटी हुँदा सशस्त्र वन रक्षकले ड्रेस लगाउदैनन जस्तो लाग्दैन, फ्रि हुँदा मात्रै नलगाउने हो ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे