धरानको बस तेह्रथुम जान निषेध गरेको आरोप

धरान । तेह्रथुमदेखि काठमाण्डौंसम्म सिधै रात्री बस सञ्चालन गर्न नपाएको भन्दै तेह्रथुमका व्यावसायीहरुले एक सातादेखि धरानबाट चल्ने बसहरुलाई जिल्ला प्रवेश गर्न नदिएको व्यावसायीहरुले बताएका छन । सवारी साधान तेह्रथुम जिल्ला प्रवेश गर्न नपाएपछि वसन्तपुर हुदै संखुवासभातर्फ पनि सवारीसाधन चलेको छैन । सवारीसाधन प्रवेश नपाउदा हजारौं सर्वसाधारणहरु कष्टकर पैदल यात्रा गर्न बाध्य छन् । 
धरानका यातायात व्यावसायीहरुका अनुसार कोशी पहाडी राजमार्गमा चल्ने यात्रुबाहक सवारीलाई धनकुटा र तेह्रथुमको सिमा क्षेत्र पर्ने चित्रेबाट प्रवेश निषेध गरिएको छ । उनीहरुले यो समस्या राज्यको सम्बन्धित निकाय(यातायात व्यवस्था विभाग)को गैरजिम्मेवारीपनले गर्दा सृर्जना भएको आरोप लगाएका छन् । ‘यातायात व्यवस्था विभागको काम सवारीसधान दर्ता गर्ने, लाइसेन्स र ब्लु बुक नवीकरण गर्ने मात्रै हो ? सवारी दर्ता गर्दा सडकको अवस्था कस्तो छ ? त्यो क्षेत्रमा सवारीसाधान आवश्यक छ कि छैन ? कति सवारी थेग्न सक्छ ? भने नियमन गर्नुपदैन ?’–सप्तकोशी वस व्यवसायी संघका अध्यक्ष तिलक राईले भने–‘तर, विभागलाई यी कुरामा सरोकार नै छैन, जथाभावी सवारी दर्ता गर्दै रुट परमिट दिने काममा सिमित छ, यही कारणले यो समस्या सृर्जना भएको हो ।’ तेह्रथुमको सदरमुकाम म्याङलुङदेखि राजधानीसम्म सिधै रात्रीकालीन बस सञ्चालनमा आएपछि यहाँका यातायात व्यावसायीहरुमा विवाद सृर्जना भएको थियो । म्याङलुङदेखि काठमाण्डौंसम्म मितेरी यातायात प्रालिको एउटा र स्थानीयले फेसबुक नामको थप एक रात्री सेवा सञ्चालनमा ल्याएका थिए ।
धरानका व्यावसायीहरुले भने रात्री बस दिउँसो ४ बजेपछि छुट्नुपर्नेमा २ बजेतिरै छुट्ने र बाटोका लोकल यात्रुहरुलाई पनि चढाउनाले अन्य व्यावसायी र मजदुर मारमा परेको भन्दै विरोध जनाएका थिए । उनीहरुले तेह्रथुमबाट राजधानी जाने यात्रु धेरै नहुने भएकोले कोशी राजमार्गको केन्द्र धनकुटाको हिलेबजारबाट रात्री बस सञ्चालन गर्न आग्रह गर्दै आएका छन् । सोही आग्रह वमोजिम मितेरी हिलेबाट चलेपनि फेसबुकले सो प्रस्ताव स्विकार नगरेपछि समस्या थप जटिल बनेको हो । हिले बजारमा यातायातको लागि भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लाको केन्द्रकोरुपमा छ । धरानबाट बस, माइक्रो र ल्याण्डरोभरसहित दैनिक ८० भन्दा बढी सवारी पहाडी क्षेत्रमा चल्छ ।
सवारीसाधानलाई तेह्रथुम प्रवेश गर्न नदिएपछि आइतबार धरान क्षेत्रका तेह्र व्यावसायी संगठन एवं मजदुर संगठनहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै एउटा बसको कारणले सयौं यातायात व्यावसायी र मजदुर मर्कामा पर्ने भएकोले पद्दतीभित्र रहेर सञ्चालन गर्न मात्रै खोजिएको प्रष्ट्याएका छन् । ‘सडकको अवस्था पनि राम्रो छैन, फेसबुक गाडी धरानबाट चलेर थोत्रो भइसकेकोलाई रङ्ग्याएर चलाएका छन्, कुनै संस्थामा पनि आवद्ध छैन । भोली दुर्घटना भयो भने क्षतिपूर्ति कस्ले दिन्छ ? त्यसको जिम्मेवारी राज्यले लिनसक्छ?’– पूर्वाञ्चल यातायात व्यवसायी संघका अध्यक्ष एवं यातायात व्यावसायी महासंघका कोशी अञ्चल अध्यक्ष सरोज श्रेष्ठले भने–‘हामीले पटक पटक छलफल गर्यौं, तर उहाँहरुले अटेर गरिरहनुभएको छ ।’ व्यावसायीहरुले सिण्डिकेट प्रथा लाद्न खोजेको आरोपको खण्डन गर्दै कोशी राजमार्गको पहाडी क्षेत्रमा कानुनले छुट दिएअनुसार नै पद्दती बसाउन व्यावसायीहरुले आलोपालो सिस्टम चलाएको बताए । यसले यात्रुलाई सुरक्षित र सहज यात्रा गराएको उनीहरुको दाबी छ । विभागले रुट इजाजत दिदा पनि छुट्ने समय र पुग्ने समय तोकेर दिनुपर्नेमा पालना नभएको व्यावासायीहरुको भनाई छ ।
तेह्रथुमका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने यातायातमा अवरोध नभएको दाबी गर्दै आपसी विवादले नै व्यावसायीहरु आफैले गाडी नचलाएको बताए । ‘सडक खुलेको छ, तर व्यावसायीहरु आफ्नो विवादको कारण डरले गाडी चलाएको छैनन्’–प्रजिअ ढकालले भने–‘तर, बाटोमा अवरोध छैन, हामीले सुरक्षाको प्रबन्ध गरिसकेको छौं । व्यावसायीहरुलाई छलफल गरेर विवाद मिलाउन पनि भनेको छौं ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे