कलामय बन्दै भेडेटार(फोटोफिचर)
धनकुटा र सुनसरी जिल्लाको सिमाना अवस्थित भेडेटार मुख्य बजारदेखि केही पूर्व नाम्जे–डाँडाबजार–राजारानी जाने बाटोमा खिर्राको बोट मुनि शंख आकारको एउटा शिला(ढुंगा) थियो । जसलाई स्थानीयबासीले बिशेष अवसर(शिवरात्री)मा मात्रै पुज्ने गर्थे । पूर्वको प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक भेडेटारमा दैनिक सयौं पर्यटकहरु पुग्छन्, तर कसैको पनि नजर त्यो शिलामा पुग्दैनथ्यो । स्थानीय एवं पर्यटन व्यावसायीलाई पनि त्यति वास्ता भएको थिएन ।
त्यो खिर्रा रुख नजिकै गत बर्ष चिटिक्कको पार्क बन्यो । पर्यटकहरु पार्कमा पुग्न थाले । त्यहाँबाट कोशी राजमार्गको नागबेली आकारको धरान–भेडेटार सडक खण्डको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । स्थानीयबासी र पर्यटन व्यावसायीहरुलाई लाग्यो, अब त्यो शंख आकारको शिलालाई व्यवस्थित गर्नुपर्छ । बजेट अभाव थियो, टिनको छाना हालेर भएपनि त्यहाँ मन्दिर स्थापना गर्ने योजना बन्यो ।
इटहरीलाई कार्मक्षेत्र बनाएर होटल व्यावसाय समेत गरिरहेका कलाकार रोजन राई आफ्नो कलाकृतिसहित गत बर्ष भेडेटार उक्लिए । त्यहाँ उनले कलाकृतिसहितको मनशान्त ग्यालरी खोले । उनको आगमन भेडेटारबासीको लागि पनि फलदायी भयो । कलाकार रोजन भेडेटार नगएका भए त्यो खिर्राको बोटमा टिनको छाना हालिएको एउटा मन्दिर मात्रै ठडिएको हुनेथियो । स्थानीयको आग्रहमा कलाकार रोजनले ईतिहास खोतलेर शंखेश्वर महादेव मन्दिरको डिजाइन तयार गरे । करिब तीन महिना लगाएर अहिले त्यही खिर्राको बोटनिर अनौठो तर आकर्षक शंखेश्वर महादेव मुर्ति मन्दिर स्थापना भएको छ । यो मन्दिर गएको साउन २६ गते मात्रै उद्घाटन भएको हो । छोटो समयमा नै यो मन्दिर भेडेटार घुम्न जाने पर्यटकहरुको प्रमुख गन्तव्य बनिसकेको छ ।
करिब चार महिना अघिसम्म त्यस स्थानमा कोही पुग्दैनथे, हिजोआज भने शंखेश्वर महादेव मुर्ति मन्दिर दर्शन गर्न मात्रै भए पनि पर्यटकहरु भेडेटार पुग्न थालेका छन् । भेडेटार त्यसैपनि प्राकृतिक सौन्दर्यले धनि छ, शंखेश्वर महादेव मन्दिरले उसको सौन्दर्यलाई झनै बढाएको स्थानीयले अनुभव गरेका छन् । ‘यति छोटो समयमा नै शंखेश्वर मन्दिरले सबैको ध्यान तान्न सकेकोमा ज्यादै खुशी छौं, एक जना मान्छे ४ पटकसम्म आएको पनि भेट्यौं’–होटल एशोसिएशन भेडेटारका सचिव एवं मन्दिर निर्माण समितिका सल्लाहकार जितेन्द्र रुम्दालीले भने–‘यहाँ पुग्नेले फोटो खिचेर लैजान्छन्, फेसबुकमा हाल्छन्, त्यो देखेपछि परिवार, साथीभाई, आफन्तको आग्रहमा फेरि आउछन् । भेडेटार आउनेहरु अहिले शंखेश्वर नपुगि फर्कदैनन् ।’ शंखेश्वरले भेडेटारमा पर्यटकहरुको चहलपहल झनै बढाएकोमा उनी खुशी छन् ।
मन्दिरको परिकल्पनाकार एवं कलाकार राईका अनुसार शंख आकारको मन्दिरको उचाई १८ फिट अग्लो छ । मन्दिरको बाहिरी स्वरुप शंखको खोल हो भने भित्र गुफाको डिजाइनमा तयार पारिएको छ । त्यहाँ दक्षिणबाट भित्र मानिस पस्न सकिन्छ । जहाँ पुरानो शंक आकारको शिला राखिएको छ, जसलाई पूर्वतर्फ फर्किएर पूजा गर्न सकिन्छ । पहिला बिशेष शिवरात्रीको दिनमात्रै पुजिने त्यही शिलालाई हिजोआज दर्शन गर्न आहुनेहरुले दिनहुँ पुज्न थालेका छन् । शंखको खोल(मन्दिर) भित्र ८ वाई ८ फिट गोलाईको खुला भाग छ, जहाँ एक पटकमा ५ जनासम्म प्रवेश गरेर शिलाको दर्शन गर्न सकिन्छ । शंखेश्वर मन्दिरलाई एउटा कछुवाले ढाडमा बोकेको छ भने वरिपरी ४ वटा माछाले टेका दिएको छ । शंख, माछा र कछुवा तीनै चिज प्रकृतिको देन भएकोले सबै जाति, धर्म एवं सम्प्रदायका व्यक्तिले दर्शन गर्न सकिने कलाकार राईको तर्क छ । साथै, शंखेश्वर मन्दिर परिसरमा किरातेश्वर, बुद्ध, शिवजी र गणेशको मुर्ति राखिएको छ । जसलाई उनी धार्मिक एकता एवं सहिष्णुताको प्रतिककोरुपमा व्याख्या गर्छन् । ‘शंखेश्वर सबै जातजाति र धर्मको एकताको प्रतिकको रुप हो । शंख प्रकृतिको देन भएकोले कुनै जाति, धर्मको मात्रै होइन, शंख भित्र पनि शिला मात्रै छ’–कलाकार राई भन्छन्–‘बाहिर बुद्धको मुर्ति छ, किरातेश्वर, शिवजी र गणेशको मुर्ति छ । सबैको आस्थाको केन्द्र बनोस् भन्ने चाहेका हौं ।’
मन्दिर निर्माण समितिका अनुसार शंखेश्वर मन्दिर ९ लाख ७५ हजार १ सय २१ रुपैयामा निर्माण भएको हो । यसमा राज्यको एक रुपैया पनि लगानी छैन । सबै स्थानीयबासी एवं दाताहरुको सहयोगमा लगानी भएको हो । मन्दिर नजिकै गत बर्ष आकृति एड्भरटाइजिङ विराटनगरले पार्क निर्माण गरिदिएको थियो । शंखेश्वर मन्दिर निर्माण समितिका सचिव नरबहादुर चेम्जोङ्गका अनुसार शंख आकारको शिला पुरात्तात्विक महत्वको भएकोले त्यसलाई जस्ताको तस्तै मन्दिरभित्र राखिएको छ । शंखेश्वरले भेडेटारलाई धार्मिक पर्यटनको केन्द्रकोरुपमा पनि विकास गर्न सहयोग पुग्ने उनको भनाई छ । त्यहाँ शनिबार र सोमबार एक जना सहयोगी बस्छन्, र उनले शंखेश्वर महादेव मुर्ति मन्दिरको रोचक प्रसंगसहित आगन्तुकहरुलाई वर्णन गरिदिन्छन् ।
स्थानीयका अनुसार शंखको शिलाको रोचक किंवदन्ती छ । करिब पाँच÷छ दशकअघि भेडेटारमा वस्ती बस्न शुरु भएको थियो । त्यसबेला साने थापा नाम गरेका व्यक्तिले हलो जोत्दा फाली ढुंगा(शिला)मा अड्कियो । जोत्दै गरेको जोर गोरु तत्कालै मर्यो भने साने पनि विरामी भए । झारफुक र धामी झाक्री देखाउदा त्यो ढुंगा महादेवको प्रतिमूर्ति हो भन्ने ठहर भयो । त्यो ढुंगा(शिला) शंख आकारको थियो, पूजा गरेपछि साने थापा निको भए । त्यसपछि नै त्यो ढुंगालाई डाँडा(हालको शंखेश्वर मन्दिरस्थल)मा राखेर पुज्न थालिएको निर्माण समितिका सचिव चेम्जोङ्ग बताउछन् ।
..................................
धरानबाट करिब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटारको प्राकृतिक सौन्दर्यले जो कोहीलाई पनि लोभ्याउछ । बाह्रै मास चिसो मौषम हुनु र छिनछिनमा कुहिरोले छोपिनु भेडेटारको बिशेषता हो । तर, बढ्दो मावन वस्ती र ठडिदै गएको होटलहरु भने भेडेटारको प्राकृतिक सौन्दर्यलाई चुनौती बन्दै गइरहेको छ । स्तरीय होटल खुल्नु पर्यटनको क्षेत्रमा खुशीको कुरा हो, तर भेडेटारमा पछिल्लो समय बर्गेल्ती खुलेका होटलहरुको कारण प्राकृतिक सौन्दर्यलाई कंक्रिटले छोप्दै लगेको महशुस हुन थालेको छ । यसैलाई मध्यनजर गर्दै पछिल्लो समय स्थानीयबासी एवं पर्यटन व्यावसायीहरुले भेडेटारलाई कला, सृर्जनाको केन्द्रकोरुपमा विकास गर्न जुटेका छन् । यसको लागि एकीकृत योजना तयार गरेर पर्यटनकर्मीहरुले विभिन्न निकायमा प्रस्ताव पेश गरिसकेका छन् । पर्यटन व्यावसायीहरुले कलाकार राईसँग मिलेर भेडेटारको स्वरुप फेर्ने परिकल्पना गरिरहेका छन् ।
शैलुङ्गे डाँडा(चाल्र्स प्वाइन्ट)मा ठडिएको भ्यु टावर भुकम्पले जीर्ण भइसकेकोले त्यो डाँडाको छुट्टै डिजाइन गरिदैछ । ऐतिहासि सागुरी गढी डाँडालाई पनि कलात्मकता प्रदान गरिनेछ भने भेडेटारको पहिचान झल्किने भेडाको मुर्ति पनि भविष्यमा ठडिनेछ । यस्तै, सुर्यस्तको दृष्यपान गर्न सनसेट टावर, चिल्ड्रेन पार्क, पिकनिक स्पट निर्माणलाई पनि वृहत योजनामा समेटिएको छ । ‘महत्वपुर्ण कुरा एनिमल पार्क पनि छ । यो पार्कमा सबै जीवजन्तुको मुर्ति बन्छ । उनीहरु चिडियाघरमा थुनिएर बस्दैनन्, जुन जनवारको बस्दा, उभिदा जस्तो भाव हुन्छ, त्यस्तै नै मुर्तिहरु बनाउने योजना छ’–कलाकार राईले भने–‘अब भेडेटारमा जे जति संरचना बन्छ, ती सबै कलामय नै हुन्छ ।’
..........................................
सिम्सुवा(नमस्ते) झरना
भेडेटारबाट पुगेपछि नगई नहुने अर्को गन्तव्य हो सिम्सुवा झरना । यहाँसम्म पुग्न भेडेटारदेखि कोशी राजमार्ग हुदै करिब ९ किलोमिटर तल झर्नुपर्छ । यो झरनाको खास नाम सिङ्सवा हो । बुढापाकाका अनुसार बोलीचालीमा सिम्सुवा भएको हो । नमस्ते झरनाको नामले पनि चर्चित छ ।
कोशी राजमार्गको सिम्सुवा मोडसम्म गाडी, मोटरसाइकलबाट सजिलै पुगिन्छ । त्यहाँबाट भने डेढ किलोमिटर जति हिडेर जानुपर्छ । पानी कम भएको बेला खोलैखोला भएर पनि झरनासम्म पुग्न सकिन्छ । झरना पुग्नुअघि २ ठाउँमा फलामे भर्याङ्ग चढेर उक्लनुपर्छ । त्यो भर्याङ उक्लन निक्कै आँट चाहिन्छ । झरनासम्मको यात्रा कठिन छ, तर उतिकै रोमाञ्चक पनि छ । झरनामा पुगेपछि भने स्वर्गीय आनन्दको महशुस हुन्छ । करिब ५० मिटर माथिबाट खस्ने पानीको कणले शरीरलाई स्पर्ण गर्दाको रोमाञ्चक अनुभूतिले मन त्यसै रमाउछ । यहाँ कोर एडभेन्चरले क्यानोनिङ्गको मज्जा लिने व्यवस्था पनि गरेको छ । गर्मी महिनामा यहाँ पर्यटकहरुको घुइचो लाग्छ । बर्षायाम र जाडोमा मात्रै मानिसहरुको चहलपहल केही कम हुन्छ । आन्तरिकसँगै भारतीय पर्यटकहरुलाई पनि झरनाले लोभ्याएको छ । यहाँ दैनिक कम्तीमा ५ सय पर्यटकहरु पुग्ने गरेको रेर्कड छ ।
ग्रामिण जनता उच्चमाविका सहायक प्रअ नरबहादुर चेम्जोङ्गका अनुसार यो झरना कोशी राजमार्गको ट्रयाक खुल्दा नै २०३१÷०३२ सालतिर पत्ता लागेको थियो । घना जंगल र खोल्सी भएकोले त्यतातिर मानिसहरु त्यति जादैनथे । काठमा मौरी पाउने क्षेत्र भएकोले झरनाको नाम सिङसवा राखिएको थियो । लिम्बू भाषामा सिङको अर्थ काठ र सवाको अर्थ मौरी हुन्छ । ‘काठ मौरी पाउने भएकोले झरनाको नाम सिङसवा राखिएको थियो, अहिले त सिम्सुवा भयो, नमस्ते झरना पनि भन्छन्’–चेम्जोङ्गले भने ।
यो झरना पत्ता लागेको धेरै बर्षसम्म पनि गुमनाम नै रह्यो । झरनास्थलसम्म पुग्न निक्कै अफ्ठ्यारो बाटो भएकोले प्राकृतिक सौन्दर्य बोकेर पनि झरनाले कसैलाई लोभ्याउन सकेन । तर, करिब दुई बर्षअघि गाविस, जिविसले त्यहाँसम्म पुग्ने गोरेटो, झर्याङ्ग बनाएपछि भने पर्यटकहरु ओइरिन थालेका हुन् । त्यसो त, चालिसको दशकमा नेपाली चलचित्र पिरतीको सुटिङ्ग यही झरना हुदा केहीसमय चर्चामा रहेको चेम्जोङ्ग बताउछन् । त्यतिबेला सुटिङ्ग युनिट खोलैखोलाको बाटो हुदै झरनासम्म पुगेको उनको भनाई छ । त्यसबेला यो झरनालाई पिरती झरना पनि भनिएको उनी स्मरण गर्छन् । ‘पूर्वाधार अभावले झरना ओझेलमा थियो, अहिले सरकारीस्तरबाट पनि पूर्वाधार विकासमा लगानी हुदैछ’–प्राकृतिक वातावरण स्रोत तथा पर्यटन नामक संस्थाका सचिवसमेत रहेका चेम्जोङ्गले भने–‘राम्रो बाटो, शौचालय, चेन्जिङ्ग रुम, पुललगायत पूर्वाधार बन्दैछ ।’
Comments
Post a Comment