आइत खजुमद्धारा लिखित च्याब्रुङको नालीबेली सार्वजनिक

एक दिन लेखक एवं खोजकर्ता अर्जुनबाबु मावुहाङले तङसिङ पत्रिकाको लागि एउटा लेख लेख्न आग्रह गरे । खजुमले करिब महिनादिन च्याब्रुङबारे अध्ययन गरेर एउटा लेख तयार पारे । उनको त्यो लेख छापियो, तर लेखको मुन्तिर सम्पादकले ‘लेखक खजुमको च्याब्रङबारे चाडै पुस्तक आउदैछ’ भन्ने पनि लेखिएको थियो । यो वाक्यले उनलाई च्याब्रङबारे खोज,अनुसन्धान गर्न बाध्य बनायो । लेखक खजुमकै शब्दमा उनी एघार बर्षसम्म ‘घना जंगल’मा हराएर अहिले बाहिर निस्किएका छन्, ‘च्याब्रङको नालीबेली’ लिएर ।
‘त्यो लेख मुनि चाडै पुस्तक आउदैछ भनेर लेखिएको थियो, यसले मलाई च्याब्रुङबारे खोज,अनुसन्धान गर्न बाध्य बनायो’–बुधबार पुस्तक विमोचन समारोहमा उनले भने–‘सिक्किम, दार्जिलिङ, कालेबुङतिर गए, तप्लेजुङ, तेह्रथुम पाँचथरको गाउँबस्ती डुले, धेरै समयसम्म त घना जंगलमा हराएजस्तो भयो, च्याब्रुङबारे खोज,अनुसन्धानमा लागेको आज ठ्याक्कै एघार बर्ष भएछ ।’ एक दशकभन्दा बढी समय खोज,अनुसन्धान गरेर खजुमले तयार पारेको पुस्तक ‘च्याब्रुङको नालीबेली’को बुधबार धरानमा वरिष्ठ साहित्यकार एवं प्राज्ञ तिलबिक्रम नेम्बाङ(वैरागी काइला)ले विमोचन गरे । यो पुस्तकलाई विश्व याक्थुम मुन्धुम समाजले प्रकाशन गरेको हो । च्याब्रुङ लिम्बूजातिको शुभकार्य, समारोहहरुमा बजाइने प्राचिन मौलिक बाजा हो । विमोचन समारोहमा प्रमुख अतिथि नेम्बाङले च्याब्रुङ बजाएर कार्यक्रम उद्घाटन गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति नेम्बाङका अनुसार अहिलेसम्म च्याब्रुङलाई मुन्धुमको दृष्टिकोणबाट मात्रै हेरिएको थियो । यो पुस्तकले भने संगीत शास्त्रीय दृष्टिकोणबाट पनि च्याब्रुङको अध्ययन गरेर मौलिक कृर्तिकोरुपमा प्रकाशित भएको नेम्बाङले बताए । ‘संगीत शास्त्रको दृष्टिकोणबाट च्याब्रुङको अध्ययन गर्न बाँकी थियो, यो पुस्तकले त्यो अभावको पुरताल गरेको छ’–उनले भने–‘च्याब्रुङको सुर,तालबारे यति गहकिलो, मिहिनरुपमा विश्लेषण भएको थिएन । च्याब्रुङ कसरी शुरु भयो भन्ने मात्रै थियो, बाजाको उत्पति, ताल र सुरको अध्ययन र संगीतको सिद्धान्तमा लिपिवद्ध भएको यो नै पहिलो पुस्तक हो ।’ च्याब्रुङ लिम्बूजातिको प्राचिन मौलिक बाजा भएकोले यसको सर्वाधिकार सुरक्षित गर्न र संरक्षणको लागि स्वयम लिम्बू जाति नै अग्रसर हुनुपर्नेमा उनले सचेत गराए । ‘यस्ता थुप्रै चिज छन्, त्यसको संरक्षण र जर्गेनामा ध्यान दिनैपर्छ’–उनले भने ।
लिम्बू मुन्धुम र इतिहासका अनुसन्धानकर्ता अर्जुनबाबु मावुहाङले च्याब्रुुङले नाच्ने ताललाई लिड(नेतृत्व) गर्ने धारणा राखे । सँस्कृति, इतिहासलाई अनुसरण गर्नसके मात्रै अपनत्व जोगाउन सकिने उनले बताए । ‘च्याब्रुुङ कसरी नाचिन्थ्यो, अहिले कसरी नाचिन्छ र अब कसरी नाच्नुपर्छ भनेर पुस्तकमा प्रस्तुत छ । यो पुस्तकले च्याब्रुुङको सम्पुर्ण नालीबेलीलाई उजागर गरेको छ’–उनले थपे । अर्का लेखक दिवा चेम्जोङले आफ्नो जातिको सँस्कृति संरक्षणको लागि खजुमले त्याग गरेको उल्लेख गर्दै यो खोज र पुस्तक ज्यादै महत्वपुर्ण भएको बताए । पुस्तक प्रकाशन सहयोगी धर्म खड्काले पूर्वी लिम्बूवान प्रान्तमा गुञ्जिरहने च्याब्रुुङको आवाज लिम्बू जातिको साँस्कृतिक धरोहर भएको बताए । लेखकले गाउँ वस्तीमा पुगेर त्यहाँको यथार्थ चित्रण गरेको पनि उनले बताए । उपप्राध्यपाक चन्द्रकुमार फोम्बोले च्याब्रुुङ लिम्बू सँस्कृतिको अभिन्न अंग र साँस्कृतिक पहिचान भएको बताए ।
लेखक खजुमका अनुसार उनले एघार बर्षसम्मको खोजअनुसन्धानमा जे जति तथ्यहरु संकलन गरेका छन्, ती मध्ये २० प्रतिशत मात्रै यो पुस्तकमा समावेश भएको छ । बाँकी तथ्यहरुबाट भविष्यमा थप पुस्तक प्रकाशन गर्ने योजना रहेको उनले खुलाए । प्रकाशक संस्थाका अध्यक्ष सहप्राध्याक ध्रुव सुब्बा मेन्याङ्बोको अध्यक्षतामा सैनिक भवनमा आयोजित विमोचन समारोहमा फागो वनेम कल्याण संघका अध्यक्ष देवेन्द्र वनेम, प्रकाशक संस्थाका सचिव मोहनबिक्रम तिगेलाले पनि मन्तव्य राखेका थिए ।
Comments
Post a Comment