साघुरो राजमार्गमा जही त्यही फलामे तगारो


धरान । करिब तीन साता अघि धरान–काकडभिट्टा रुटमा चल्ने को १ ख १८६६ को यात्रुबाहक बस झापाको झिलझिलेमा प्रहरीले सडकमा राखेको ‘फलामे तगरो’(कर्डन बार)मा ठोक्किदा ढोकामा उभिएका मजदुर सोनम गुरुङ्गको देब्रेहातको कान्छी औला भाँच्चियो । यातायात मजदुरका अनुसार विपरीत दिशाबाट हुइकिएर आएको मोटरसाइकल पनि बससँगै साँघुरो तगारोभित्र छिरेपछि बसका चालकले मोटरसाइकल जोगाउने हुँदा गाडीको ढोकाको ह्याण्डल तगारोमा ठोक्किएको थियो ।
प्रहरीले दुर्घटना न्युनिकरण गर्न भन्दै पूर्वपश्चिम महेन्द्र राजमार्ग र कोशी राजमार्गको विभिन्न ठाउँमा फलामे तगारो राखेको छ । सडकको दायाँ बाया राखिएका ती तगारोले सार्वजनिक सडक ऐनको उल्लंघन त गरेकै छ, त्यसले दुर्घटना घटाउनुको सट्टा जोखिम बढाएको यातायात व्यावसायी एवं मजदुरहरुको भनाई छ । ट्राफिक प्रहरीले भने बढ्दो जनघनत्व, सवारी चापको तुलनामा सडक साघुदिदै गएकोले तगारो राख्न बाध्य भएको जनाएको छ । त्यसकै कारणले राजमार्गमा दुर्घटनामा कमी आएको र मृत्यु दर पनि घटेको ट्राफिक प्रहरीको दाबी छ ।
सडक ऐन २०३१ के दफा १९ मा सडक विभागको स्वीकृति प्राप्त नगरी कसैले पनि सार्वजनिक सडकसँग जोडिने गरी प्रवेश माग बनाउन, सार्वजनिक सडक वा सडक सीमाभित्र खाडल वा कुलो खन्न वा भत्काउन, किला, लट्ठा, तगारो आदि गाड्न वा हाल्न बन्देज लगाएको छ । पूर्वका राजमार्गमा यस्ता तगारो राख्न प्रहरीले सडक डिभिजन कार्यालय वा विभागबाट स्वीकृति लिएको छैन । ‘यातायात मजदुरको कान्छी औला भाच्चिएको त एउटा उदाहरण मात्रै हो, यस्तो थुप्रै घटना भएको छ, तर चालकलाई नै गल्ती देखाउने चलनले ती घटनाहरु गुपचुपमा नै रहन्छ ’–नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका कोशी अञ्चलका उपाध्यक्ष लक्ष्मी बाँनिया भन्छन्–‘यसले दुर्घटना घटाउने होइन, बढाउने काम गरेको छ ।’ उनका अनुसार पूर्वपश्चिम राजमार्गमा धरानदेखि काकडभिट्टासम्मको सडकखण्डमा दर्जन बढी स्थानमा प्रहरीले फलामे तगारो राखेको छ ।
प्रहरीले राजमार्गमा तगारो राखेर सडकलाई साघुरो र घुम्ती झै बनाइदिएको हुन्छ । त्यसलाई दाया बाया गर्दै घुमाउरो पारामा चालकले गाडीलाई पार गराउनुपर्छ । यसो गर्दा तगारोमा गाडी ठोक्किने गर्छ । सशस्त्र द्धन्द्दको समयमा राजमार्ग आसपासमा रहेको प्रहरी कार्यालय, सशस्त्र, सेनाको क्याम्प तथा सरकारी कार्यालयको सुरक्षाको लागि सुरक्षा जाँच गर्न यस्ता तगारो राखिएको थियो । ‘द्धन्द्दकालमा स्वाभाविक थियो, तर अहिले त हिजोको जस्तो कसैको आक्रमणको डर पनि छैन, राजमार्गमा विना अवरोध गाडी चल्न पाउनुपर्ने हो’–बाँनियाले थपे । दुर्घटना कम गराउन र सुरक्षा अपनाउने हो भने सडक क्षमताअनुसार मात्रै सवारी दर्ता र रुट परमिट दिनुपर्ने उनको भनाई छ । अत्यधिक भिडभाड हुने बसपार्क क्षेत्रमा मात्रै यस्ता तगारो आवश्यक हुने भन्दै उनले त्यस क्षेत्रमा राख्न भने व्यावसायी र मजदुर दुवैले साथ दिने बताए ।

एउटा साघुरो सडकमा गाडी, मोटरसाइकल, साइकल, पैदल यात्री, घरपालुवा जनवारलगायत पनि हिड्छन् । त्यसमाथि, प्रहरीले सुरक्षाको नाममा तगारो राखिदिदा ठोक्किएर दुर्घटना हुनेतर्फ भने ध्यान नदिएको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका कोशी अञ्चल संयोजक सरोज श्रेष्ठ बताउछन् । ‘सडकलाई व्यवस्थित गर्नुपर्छ, अतिक्रमण गरेर लाग्ने हाटबजारलाई हटाउनुपर्छ, राजमार्गमा अवरोध हुनु हुदैन । यसतर्फ भने कुनै निकायले ध्यानै दिदैनन्’–श्रेष्ठले भने–‘ट्राफिक प्रहरीले आकस्मिक चेकिङ्ग गर्दा राख्ने र सकेपछि हटाउने गर्नुपर्छ, चेकिङ्ग पनि उपयुक्त स्थानमा मात्रै हुनुपर्छ ।’ करिब तीन महिनाअघि सुनसरीको तहरास्थित पानीपिया भन्ने घुमाउरो स्थानमा चेकिङ्ग भइरहदा ब्रेकफेल भएको ट्रिपरले कारलाई ठक्कर दिएर क्षतिग्रस्त बनाएको थियो भने केही घाइते पनि भएका थिए । राजमार्गमा जथाभावी राखेको तगारोको कारणले पनि यस्तै दुर्घटना निम्तिनसक्ने व्यावसायी एवं मजदुरहरुको भनाई छ । फलामे तगारो कोशी राजमार्गमा तरहरादेखि इटहरी सडक खण्ड हुदै इटहरी, गोठगाउ, सलकपुर, बेलबारी, कानेपोखरी, मंगलबारे, केर्खा, झिलझिले, चारआली, इट्टाभटलगायत दर्जन ठाउँमा छन् ।
इटहरीस्थित पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयकी प्रमुख एसपी पूजा सिंह भने राजमार्ग आसपासमा धेरै वस्ती विकास भइसकेको हुनाले दुर्घटना हुन नदिन यस्ता बार राख्नुपर्ने बाध्यता भएको बताउछिन् । ‘पूर्वपश्चिम राजमार्ग बन्दा दुवै तिर जंगल थियो, अहिले शहरीकरण भएको छ । सडक उस्तै छ, त्यहाँ रिक्सा, साइकल, पैदलयात्री, सवारीको चापले दुर्घटना बढ्यो’–एसपी सिंहले भनिन्–‘हामीले मान्छेको ज्यान जोगाउनकै लागि बार राखेका हौं, चेकिङको लागि होइन । बार राख्दा स्पिड कन्ट्रोल भइरहेको छ ।’
एसपी सिंहका अनुसार यस्ता बारकै कारणले पूर्वपश्चिम राजमार्गमा गएको आर्थिक बर्ष ०७०÷०७१ मा अघिल्लो बर्षको भन्दा दुर्घटना र मृत्यु दरमा कमी आएको छ । उनका अनुसार अघिल्लो आर्थिक बर्षमा दुर्घटनाबाट ४ सय ९ जनाको मृत्यु भएको थियो भने गएको बर्ष घटेर ३ सय ८८ जनाको मात्र मृत्यु भएको छ । ‘हामी बार हटाउन तयार छौं, तर मृत्युदर कम गराउन फुटपाथ बनाउनुपर्यो, आकाशे पुल बनाउनुपर्यो, रिक्सा, साइकललाई गुड्न छुट्टै करिडोर बनाउनुपर्यो । सम्बन्धित निकायले केही उपाय त अपनाउनु पर्छ’–उनले भनिन् । पूर्वक्षेत्रमा दुर्घटना बढी हुने क्षेत्र÷स्थानको पहिचान गरेर अध्ययन, विश्लेषण गर्न आग्रह गर्दै सडक डिभिजन कार्यालयलाई पत्राचार गरेपनि वास्ता नगरिएको उनले गुनासो गरिन् ।
विराटनगरस्थित पूर्वाञ्चल डिभिजन सडक कार्यालय डिभिजन नम्बर ३ का प्रमुख रामचन्द्र राउत भने प्रहरीले गाडीको गति नियन्त्रण र चेकिङको लागि भन्दै राख्ने बारले सडकलाई बिगार्ने बताउछन् । राजमार्गमा बार राख्दा सबै गाडीको चक्का एउटै ठाउँबाट गुड्ने र त्यसमा भार पर्दा सडक बिग्रिएको उनले बताए । ‘राजमार्गमा राख्नै हुदैन, तर देशैभरि राखिएको छ’–उनले भने । कोशी अञ्चल यातायात व्यवस्था कार्यालयका अनुसार हालसम्म यो कार्यालयमा १ लाख ८० हजार २ सय ६ वटा मोटरसाइकल दर्ता भएको छ भने ३९ हजार ५ सय २२ वटा ट्रक, बस,कारलगायत अन्य सवारीहरु दर्ता भएका छन् । दर्ता गर्न कार्यालयमा ल्याएको सवारीलाई दर्ता नगरी फर्काउन नमिल्ने प्रमुख विष्णु पौडेलको भनाई छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे