बीपी हिडेको बाटोलाई पर्यटन मार्ग बनाइने(फोटोफिचर)


धरान । विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनको क्रममा २००३ साल फागुन तेस्रो साता बीपी कोइरालासहित नेताहरु पक्राउ परेका थिए । उनीहरुलाई अड्डासार गर्दा धरानको फुस्रे हुदै पहाडी बाटोबाट हिडाएर राजधानी पुर्याइएको थियो ।
वीपी शतबार्षिकीको अवसरमा नेपाली कांग्रेसले त्यही बाटोबाट भदौ १ गते आइतबारदेखि विचार यात्राको थालनी गरिसकेको छ । बीपीको सिद्धान्त, आदर्श, सपना एवं पदचिन्हलाई पछ्याउने भनिएको यो विचार यात्राले कांग्रेसलाई कति फाइदा पुर्याउछ, त्यो भविष्यले बताउला । तर, कांग्रेस शिर्ष नेतृत्वले अगुवाई गरेको यो यात्राले पूर्वी नेपालमा पर्यटकीय विकासको ढोका खोलेको छ । बीपी कोइराला हिडेको यो ऐतिहासिक बाटोलाई ‘ट्रेकिङ रुट(पर्यटन मार्ग)’कोरुपमा विकास गर्नुपर्ने नयाँ अवधारणा आएको छ । 

यो अवधारणालाई विचार यात्राको क्रममा सोमबार धरानको फुस्रे आएका कांग्रेस नेता एवं उपसभापति रामचन्द्र पौडेलले नै सार्वजनिक गरेका हुन् । बीपी स्मृति पार्कको शिलान्यास गर्ने क्रममा उनले बीपी कोइराला हिडेको बाटोलाई ट्रेकिङ रुटकोरुपमा विकास गर्ने बताए । ‘यो बाटो महामानव बीपी कोइराला हिडेको ऐतिहासिक बाटो हो, यसलाई ट्रेकिङ रुट बनाउन चाहन्छौं, यो बाटोलाई पर्यटन मार्गकोरुपमा घोषित गछौं’–कांग्रेस उपसभापति पौडेलले भने–‘यो बाटो ट्रेकिङको लागि उपयुक्त छ, पर्यटनको विकास हुनसक्यो भने आर्थिक उन्नति हुन्छ र गरिबि हटाउन पनि मद्दत पुग्छ, जुन सपना बीपीले देख्नुभएको थियो ।’ उनले बीपीको आदर्श, मुल्यमान्यताको राजनीतिलाई अनुकरण गर्न चाहेको पनि बताए ।

अघिल्लो दिन विराटनगरबाट विचार यात्रा शुरु गरेका नेताहरु ठाउँ ठाउँमा पैदल यात्रा गर्दै सुनसरीको भुटाहा हुदै सोमबार बिहान धरान आएका थिए । वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेलसहितका नेताहरुलाई भानुचौकमा कांग्रेस नगर समितिले भव्य स्वागत गरेको थियो । भानुचौकबाट छाता चोकसम्म नेता, कार्यकर्ताहरु पैदल हिडेका थिए । छाताचोकबाट फुस्रेसम्म गाडीमा पुगेका नेताद्धयले त्यहाँ बीपीलाई एक रात राखेको घरको निरीक्षण पनि गरे । त्यहाँबाट सयौं कार्यकर्ताहरुसहित करिब डेढ किलोमिटर पैदल हिडेर विष्णुपादुका ७ स्थित सर्दुजलाधार क्षेत्रमा पुगे । जहाँ नेताद्धय देउवा र पौडेलले बीपी स्मृति पार्कको शिलान्यास गर्नुका साथै एक एक थान सिरिशको विरुवा पनि रोपे । यो पार्क कांग्रेस सुनसरी क्षेत्र नम्बर १ र फुस्रेस्थित नवयुवक संस्थाको पहलमा निर्माण हुन लागेको हो ।
कांग्रेस उपसभापति पौडेलले पार्क निर्माणमा राज्यबाट नै लगानी हुने पनि आश्वासन दिए । पार्कको गुरुयोजना तयार गरिने भन्दै उनले निर्माणको अगुवाई लिन स्थानीयबासीलाई आग्रह पनि गरेका थिए । ‘ट्रेकिङ रुटमा पार्क बनेपछि थप रमणीय बन्नेछ र प्रकृतिमा रमाउन चाहनेहरुको गन्तव्य बन्नेछ, यसको निर्माण र विकासको लागि राज्यबाट सहयोग दिलाउछौं, गुरुयोजना बन्छ, स्थानीयले नै अगुवाई लिनुपर्छ’–पौडेलले भने । अस्वस्थताको कारणले थोरै मात्र बोलेका कांग्रेस वरिष्ठ नेता देउवाले पनि पार्क निर्माणको लागि सरकारले सहयोग गर्ने बताए । ट्रेकिङ रुटको विकास गर्ने सन्दर्भमा उनले नागरिकसँग भने–‘मानिसहरु अहिले पनि हिडिरहेकै छन्, यो बाटोलाई व्यवस्थित गर्नुपर्छ, पर्यटकहरु तातिनसक्छन् ।’

फुस्रे हुदै अघि बढेको बाटो चिउरीबास, साँगुरी, धारापानी, फेदी, लेउती, रमिते डाँडा हुदै धनकुटा निस्कन्छ । त्यहाँबाट हिले, पाख्रिबास, लेगुवाघाट हुदै अरुण नदी तरेर भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, धुलिखेल हुदै राजधानी पुगिन्छ । ००३ सालमा बीपीसहितका नेताहरुलाई यही बाटो हुदै हिडाएर काठमाण्डौं पुर्याइएको थियो । करिब चार दशकअघि कोशी राजमार्ग अन्र्तगतको धरान–धनकुटे सडक बनेपछि भने यो बाटो त्यति चल्तीमा छैन । तर, लामो समय राजमार्ग अवरुद्ध हुँदा अहिले पनि धनकुटा, संखुवासभा, तेह्रथुम, पाँचथर, भोजपुरतिका मानिसहरु यही बाटोबाट ओहोरदोहोर गर्ने गरेको स्थानीयको भनाई छ ।

पार्क बनाउन लागेको स्थानमा बीपी कोइरालासहितका नेताहरुलाई खाजा खुवाएको स्थानीय बताउछन् । त्यसैको स्मृतिमा करिब ८ बिघा क्षेत्रफलमा त्यहाँ बीपीको पुर्ण कदको सालिक र पार्क निर्माणको योजना बनाएको सुनसरी उद्योग वाणिज्य संघका पयर्टन उपसमिति संयोजक एवं नवयुवक संस्थाका अध्यक्ष महेन्द्र प्रधानले बताए । ‘शीर्ष नेताहरुले बीपी हिड्नुभएको बाटोलई पर्यटन मार्ग घोषणा गर्ने भन्नुभएको छ, त्यो हुनसक्यो भने पूर्वको पर्यटन विकासमा कोसेढुंगा सावित हुनेथियो,धरान पदमार्गको केन्द्र(प्रवेशद्धार)कोरुपमा स्थापित हुनेछ’–प्रधानले भने । उनका अनुसार त्यसक्षेत्रमा हरदम पानी आइरहने भएकोले एउटा स्विमिङ पुल, बगैचा,पिकनिक स्पट, मिनि जु, अडोटरियम हल निर्माण हुनेछ र विभिन्न देशको बाँस रोपिनेछ ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे