बुद्धचोकको एमसिमा ओरजिनल कफीको स्वाद
धरान । दक्षिण कोरियाबाट फर्किएका पुर्ण राईले सन् २०१० मा धरान १८ बुद्ध चोकस्थित एमसि(म्याक) कफी आवर खोल्दा मनमा डर थियो, कतै ‘ओरजिनल कफी’ पिाउने मान्छे(ग्राहक) नहोला कि ? किनभने, होटल तथा रेष्टुरेष्टहरुमा कफीको धुलो हालेर बिक्री हुने कफी गुणस्तरीय होइन, तर आम मानिसमा त्यही कफी खाने बानी छ । समय बित्दै जादा भने उनको मनबाट त्यो डर हटिसकेको छ र लाखौंको लगानी पनि सुरक्षित भइसकेको छ ।
हिजोआज धरानमा ओरजिनल कफीका पारखीहरुको संख्या बढ्दै गइरहेको छ । कसैलाई साँच्चैको कफी पिउनु छ भने एमसिलाई सम्झन्छन् । जहाँ कफीका पारखीहरुले अन्र्तराष्ट्रियस्तरको २५ थरीका कफीको स्वाद पाउछन् भने ८० भन्दा बढी आइटमका ‘चाइनिज फुड’को स्वाद पनि त्यही भेट्छन् । ‘पहिला त कफीको ग्राहक होला कि नहोला भन्ने डर थियो, अहिले भने कफीको पारखीहरु बढेका छन् । यहाँ प्रायः नियमित ग्राहकहरु नै आउछन्’–खुशी हुदै सञ्चालक राईले भने–‘कफी पिउने बानी भएकाले यहाँको स्वाद चाखेपछि अन्यत्र जादैनन्, यही आउछन् ।’
सञ्चालक राईका अनुसार यो कफी आवरमा क्याफे मोचा, क्याफे लेते, अम्रिकानो, एस्प्रेसो, हनी लेतेलगायत विभिन्न कफीको स्वाद पाइन्छ । यी विश्वमै बढी चल्ने गरेको कफी हो । विन्टर सिजनमा क्याफे चिनो, अम्रिकानो, मोका म्याडनेस, क्याफे मोचा बढी चल्छन् भने समरमा आइस मोका, आइस क्यापे चिनो, ब्लेन्डेड मोचालगायत कफी बढी चल्छ । काठमाण्डौंपछि ओरजिनल कफीको स्वाद यही मात्र पाउने सञ्चालकको दाबी छ । मिल्क वा ब्ल्याक कफी त जुनै होटल वा रेष्टुरेष्टमा पनि पाइन्छ । तर, ती कफी सामान्यस्तरका मात्रै हुन् । जहाँ केमिकल मिसाइएको धुलो कफी हालेर बनाइएको हुन्छ । ‘यहाँको बिशेषता भनेकै ओरजिनल कफी हो, यहाँको कफी घुलिदैन र शरीरलाई हानीकारक पनि हुदैन’–सञ्चालक राईको दाबी छ ।
कफीका पारखीहरुले एसप्रेसो कफी छ भन्ने बित्तिकै त्यहाँ कफी बनाउने मेशिन छ र ओरिजिनल कफी पाउछ भन्ने बुझिहाल्छन् । उनकोमा विश्वस्तरको कफी मेशिन छ, जसले ग्राहकहरुलाई सन्तुष्टी दिन सकेको उनको भनाई छ । नेपालमा पहिलो पटक कफीको व्यापार शुरु गर्ने हिमालयन जाभाका मेनेजरबाट तालिम प्राप्त वरिष्ता छन् भने उनी आफैले पनि तालिम लिएका छन् । यो कफी आवर राई र ललित विष्टले साझेदारीमा खोलेका हुन् । विष्ट भारतको आसममा व्यापारमा रहने भएकोले कफी आवरको जिम्मेवारी उनले सम्हालेका छन् । धरानको सफलताले हौसिएका उनी गत बर्षदेखि इटहरीमा पनि क्याफे शुरु गरिसकेका छन् । दुवैमा गरि ४५ लाख बढी लगानी भइसकेको छ ।
धरानमा भूपू ब्रिटिश लाहुरेहरुको बसोबास भएकोले कफीको पारखी भेट्न त्यति गाह्रो भएन । तर, युवा पुस्तालाई ओरिजिनल कफीमा बानी बसाउन भने उनले निक्कै पापड बेल्नु पर्यो । शुरुमा आफ्ना साथीभाईलाई बोलाएर कफी खुवाए । साथीभाईले ‘ह्या तितो छ’ भन्दै मुख बिगारे । साथीभाईलाई ओरजिनल कफी भनेकै यही त हो नि भन्दै सम्झाए । शुरुमा तितो मान्नेहरु नै विस्तारै उनको नियमित ग्राहक हुनथाले । ‘यहाँको कफी शुरुमा एकदमै तितो लाग्छ, तर दोस्रो, तेस्रो पटक पिउदै गएपछि मिठास हुदै जान्छ । कफी भनेको तितोबाटै मिठो स्वाद मान्दै पिउने हो, विस्तारै त्यही कफी स्वादिलो लाग्दै जान्छ’–राई भन्छन् ।
कफी कल्चर टिनएज र युवा पुस्तामा बढ्दा अभिभावकहरुलाई पनि फाइदा हुने सञ्चालक राईको धारणा छ । होटल, रेष्टुरेष्टमा धुमपान, मद्यपान पनि हुन्छ, तर क्याफेमा भने यी दुवै कुरा वर्जित हुने उनको भनाई छ । ‘कफी सप, क्याफेको पहिचान भनेकै धुमपान, मद्यपानरहित हो, आफ्ना छोराछोरी क्याफेमा छ भन्दा जाँडरक्सी पिएका छैनन् भनेर अभिभावक पनि ढुक्क हुन्छन्’–उनले थपे । उनकोमा भूपू लाहुरे, विदेश बसेर आउनेहरु उनका ग्राहक हुन् । दशै तिहार घर आएकाहरु उनको नयाँ ग्राहक हुन्छन् । कफीसँगै डेभिल पनिर, हुनान चिकेन, चिकेन किस्मिलगायत ८० भन्दा बढी चाइनिज फुड बिक्री गर्दै आएका राई भविष्यमा बेकरी शुरुवात गर्ने योजनामा छन् । ‘ग्राहकहरुलाई कफी पिएपछि के खाउ के खाउ भन्ने हुन्छ, त्यसैले कफी हाउसहरुमा यस्तो अनिवार्य हुनुपर्छ’–उनले भने ।
Comments
Post a Comment