लिम्बू विद्यार्थी मञ्चका अध्यक्षलाई कारबाही


धरान । लिम्बू विद्यार्थी मञ्चका अध्यक्ष भेषराज चेम्जोङ साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका छन् । उनलाई धरानमा साउन २८ र २९ गते सम्पन्न मञ्चको तेस्रो पुर्ण बैठक तथा पाँचौं परिषद् बैठकले अविश्वासको प्रस्तावमार्फत कारबाहीमा परेका हुन् ।
मञ्चले शुक्रबार बैठकको निर्णयहरु सार्वजनिक गर्दै अध्यक्ष चेम्जोङले मञ्चप्रति गैरजिम्मेवार, अवैधानिक, स्वेच्छाचारी, मनोमानी र आर्थिक हिनामिना गरेकोले अविश्वासको प्रस्तावमार्फत साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा गरेको प्रष्ट पारेको हो । मञ्चका महासचिव बिक्रम सम्बाहाम्फेले निर्वाचित भएयता अध्यक्षले संगठनलाई सहीढंगले नेतृत्व गर्न नसकेको, महाधिवेशनको नीति तथा कार्यक्रमलाई लागु गर्न नसकेको र आर्थिक हिनामिना पनि गरेको कारणले कारबाही गरिएको बताए । ‘संगठनको हितअनुकुल नीति निर्माण, मुद्दालाई अघि बढाउन सक्नु भएन, पुर्ण बैठक र परिषद बैठक बस्न पनि लामो समय लाग्यो । निकासा भएको पैसाले मञ्चको कुनै शिर्षकमा खर्च गरेको देखिएन, विल भर्पाइ पेश पनि गर्नसक्नुभएन’–महासचिव सम्बाहाम्फेले भने–‘बारम्बार आग्रह गरयौं, स्पष्टीकरण लियौं, तर केही प्रस्तुत गर्न सक्नु भएन, त्यसैले अविश्वासको प्रस्तावमार्फत केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको दुई तिहाईको बहमुत तथा सम्पुर्ण क्षेत्र र जिल्ला कार्यसमितिको समर्थनमा विधानको धारा ४३ वमोजिम केन्द्रीय कार्यसमितिको पुर्ण वैठकले साउन २९ गतेदेखि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।’

सो कारबाही प्रक्रियालाई मञ्चको पाँचौं परिषद बैठकले अनुमोदन गरेको पनि उनले बताए । यस्तै, मञ्चको अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष लक्ष्मीहाङ हाङबोलाई चयन गरिएको तथा वरिष्ठ उपाध्यक्ष पदमा आङबुहाङ अबोधलाई चयन गरिएको पनि महासचिव चेम्जोङले जानकारी दिए । कारबाहीमा परेका अध्यक्ष चेम्जोङले संगठनको करिब ६० हजार रुपैया हिनामिना गरेको पनि मञ्चले जनाएको छ । उनी ०६९ कार्तिक २, ३ र ४ गते मोरङको पथरीमा सम्पन्न छैटौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । हालै अध्यक्षको जिम्मेवारी लिएका लक्ष्मीहाङ आङबोले एक बर्षमा ४ वटा पुर्ण बैठक गराउनुपर्नेमा पूर्वअध्यक्ष चेम्जोङले २१ महिनामा २ वटा मात्रै बैठक राख्न सकेको, नियमित बैठक, परिषद बैठक पनि बसाउन नसकेको र आर्थिक हिनामिनाले गर्दा अविश्वास प्रस्तावमार्फत वैद्यानिकरुपमा नै कारबाही गरिएको बताए ।
सो बैठकले लिम्बू भाषालाई कक्षोन्नति गर्दै उच्च तहसम्म पठनपाठनको साथै भाषिक शिक्षक दरबन्दीको व्यवस्था गर्न राज्यसँग माग गरेको छ । नेपाल सँस्कृत विश्वविद्यालयको उत्तरमध्यमा तहको लागि पाँच महिने योग्यता भाषा प्रशिक्षण लिम्बू भाषाका बिषयका विद्यार्थीहरुलाई लिम्बू भाषामा नै प्रशिक्षणको व्यवस्था गर्न पनि बैठकले जोडदार माग गरेको छ । साथै, शास्त्री तहमा लिम्बू भाषा लागु गराउन नेपाल सँस्कृत विश्वविद्यालयसमक्ष पनि बैठकले माग गरेको छ । ‘अहिले १० कक्षासम्म सँस्कृत पढेको छ भने मात्रै सिधै उत्तरमध्यमा तहमा पढ्न पाउछ, नत्र पाँच महिना सँस्कृत भाषा प्रशिक्षण लिएर मात्रै पढ्ने व्यवस्था छ, यसले लिम्बू भाषामा पढ्न चाहनेलाई तगारो भएकोले लिम्बू भाषामा नै प्रशिक्षण हुनुपर्ने माग गरेका हौं’–मञ्चका उपाध्यक्ष मुक्साम लावोतीले भने ।
यस्तै बैठकले मञ्चको सातौं राष्ट्रिय महाधिवेशन आउदो पुष महिनामा लिम्बूवानमा सम्पन्न गर्ने र त्यसअघि संगठनलाई सुदृढिकरण र अध्यावधि गर्ने पनि निर्णय गरेको छ । भावि संविधानमा राज्यको पुनःसंरचना गरिदा अरुण सप्तकोशी पूर्वको ९ जिल्लालाई लिम्बूवान स्वायत्त राज्य घोषण गर्न माग गर्दै बैठकले लिम्बूवानजन्य विभिन्न राजनीतिक दलहरुबीचको एकतालाई लिम्बूवान प्राप्तीको आन्दोलनमा स्वागत योग्य कदम भएको ठहर गरेको छ ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे