सुनचादी व्यावसायी आन्दोलनमा


धरान । प्रहरीले एक पछि अर्को छापा मार्दै व्यावसायी पक्राउ गरेपछि राज्यले नै व्यावसाय धराशायी बनाएको भन्दै सुनसरी सुन व्यावसायीहरु आन्दोलनको घोषणा गरेका छन् । सुनसरी सुनचादी व्यावसायी संघले बिहिबार पत्रकार सम्मेलन गर्दै व्यावसायिक सुरक्षाको माग गर्दै आन्दोलनको घोषणा गरेको हो । संघको आह्वानमा शुक्रबार धरानका सम्पुर्ण सुनचादी पसल बन्द हुने घोषणा गरेको छ । यस्तै, व्यावसायीहरुले नगरमा जुलुस निकालेर इलाका प्रहरी कार्यालयमा धर्ना र सामुहिक गिरफतारी दिने पनि जनाएका छन् । ‘राज्यले व्यावासीको समस्या समाधान गर्न चासो र पहल नगर्ने, तर अनेक बहानामा व्यावसायीलाई त्रसित बनाउने काम गरिरहेको छ, यसैको विरोधमा सांकेतिकरुपमा उत्रिएका हौं’–संघका कार्यबाहक अध्यक्ष किसन मास्केले भने ।
सुनसरीभरि ५ सय बढी व्यावसायीहरु छन् भने त्यही हाराहारीमा कालीगढ पनि छन् । धरानमा मात्रै सयको हाराहारीमा सुनचादी पसल भएको संघले जनाएको छ । साउन १० गते प्रहरीले धरान ४ स्थित दिपक अग्रवालको घरमा छापा मारेर ७० किलो चादीको गहना, ८० तोला सुनको गहना र नगद ५२ लाख रुपैया वरादम गरेको थियो । सो सुनचादीको गहना र नगद संघका अध्यक्ष सुनिल अग्रवालको भएको बताइएको छ । उनी हाल भारतमा उपचार गराउन गएको भनिएको छ । यस्तै, बुधबार मात्रै डकैती गरेको सुन खरीद गरेको भन्दै अर्का व्यावसायी गुलजारीलाल अग्रवालको घर(पसल)मा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले छामा मारेको थियो । उनलाई पनि प्रहरीले पक्राउ गरेर बिहिबार राजधानी लगिसकेको छ ।

नेपाल सुनचादी व्यावसायी महासंघका केन्द्रीय उपाध्यक्ष मोहनकाजी शाक्यले व्यावासीहरुले राज्यलाई बहुमुल्य बस्तुको खरीद बिक्री ऐन, नियमावली बनाउन पटक पटक आग्रह गरेपनि वेवास्ता गरेकोले समस्या झन् बढ्दै गइरहेको बताए । अनुगमन र अनुसन्धानको नाममा राज्य र उसको निकायले व्यावसायीलाई त्रसित बनाएको उनको आरोप छ । ‘व्यावसायीलाई तर्साउने काम मात्रै भइरहेको छ, जुन उद्देश्यको लागि प्रहरी आउछ, त्यो फेला नपरेपछि जे भए पनि वरामद गरेको भन्दै लिएर जाने नियत देखिन्छ’–उनले भने–‘हिजो(बुधबार)को घटनामा पनि ३ किलो सुन खोज्दै आएको प्रहरीले केही नभेटेपछि अर्कै सामान लगेर गयो, पहिला खानतलासी मात्रै गर्ने भन्थ्यो, पछि मान्छे नै लिएर गयो ।’ संघले १९१० साल पुष ७ गते वनेको पुरानो मुलुकी ऐनले व्यवस्था गरेको चोरीको महल दफा २३, २४ र २५ ले व्यावसायमा बढी समस्या ल्याएकोले सो ऐन खारेजीको माग गरेपनि सुनुवाई नभइरहेको उनले बताए ।
चोरले नाम पोलेको भरमा व्यावसायीलाई पक्राउ गरेर चोर सहर दुःख दिने, व्यावसायीबाट नै चोरीको सामान भराई दिने र चोरलाई भने सजाय नदिई छुटाई दिने प्रवृत्तिले चोरको मनोवल बढेको भन्दै सुनचादी व्यावसायीहरुले यो कार्यशैलीको विरोध जनाए । यस्तै, प्रहरीले २५ दिनसम्म थुनामा राख्न पाउने व्यवस्थाले प्रहरी नाजायज फाइदा लिनेतर्फ उन्मुख हुने भन्दै व्यावसायीहरुले अनुसन्धानको नाममा व्यावसायीलाई थुनामा नराखी तुरुन्त अनुसन्धानमा संघको प्रतिनिधि राख्न पनि माग गरेका छन् । साथै, उनीहरुले यो कानुनी व्यवस्थाको खारेज गर्न पनि माग गरेका छन् । ‘व्यावसायिक शान्ति सुरक्षा कायम गरि स्वतन्त्र र सुरक्षितरुपमा व्यावसाय सञ्चालन गर्न पाउने व्यावसायिक अधिकार सम्बन्धि आवश्यक नीति निर्माण हुनुपर्छ’–उपाध्यक्ष शाक्यले भने ।

व्यावसायीहरुका अनुसार नेपालमा दैनिक ८० केजी सुनको माग छ । त्यसमध्ये दैनिक २५ देखि ३० केजी सुन स्थानीय ग्राहकहरुबाट उपलब्ध हुन्छ । व्यावसायीहरुले बाँकी आवश्यक ४५ केजी सुन उपलब्ध(आपूर्ति) गर्न राष्ट्र बैंक, नेपाल सरकारसँग पटक पटक आग्रह गर्दा पनि सुनुवाई नहुनु नै समस्याको जड भएको उपाध्यक्ष शाक्यको भनाई छ । नेपालमा दैनिक १५ केजी सुन मात्रै आयात हुन्छ । माग वमोजिम सुन नभएपछि केही समुह वा व्यक्तिले अनावश्यकरुपमा फाइदा लिइरहेको व्यावसायीहरुको भनाई छ । ‘सरकारले नै बाध्य भएर चोरी निकासी भएको सुन किन्न बाध्य बनाएको छ, कि व्यावसाय छोड्नु पर्यो कि जस्तो भएपनि सुन किन्नै पर्यो’–एक व्यावसायीले भने–‘राज्यले सुनको सहज आपूर्ति नगर्दा कै समस्या हो यो ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे