जग्गा प्लष्टिङ छोडेर कृर्षि र पशुपालन(फोटोफिचर)
धरान । जग्गाको कारोबार गर्दै आएका धरान १५ का युवा लोक खापुङ र धरान १६ का घनेन्द्र कार्कीले छिमेकी गाविस विष्णुपादुका ५ मा करिब ८ विघा जमिन किनेका थिए । हरियाली डाँडा र खेतलाई प्लटिङ गरेर बिक्री गर्ने दुवैको सोच थियो । तर, घरजग्गाको कारोबारमा एक्कासी मन्दी छाएपछि दुवैको सोच फेरियो ।
प्लटिङ गर्ने उद्देश्यले किनेको त्यही जग्गामा अहिले थप डेढ करोड लगानी गरेर दुवैले के एण्ड के लाइभष्टक एग्रिकल्चर रिसर्च सेन्टर स्थापना गरेका छन् । जहाँ उन्नत जातका गाई, बंगुर र बाख्रा पालन शुरु भएको छ भने हजारौंको संख्यामा मलेसियन सखुवा र हाइब्रिड टिकको विरुवा रोपिएको छ । त्यहाँ चाडैं अग्र्यानिक खेती शुरु गर्ने तयारी पनि भइरहेको छ । एग्रो टुरिज्मको अवधारणा पनि विकास गरिने लगानीकर्ताहरु बताउछन् । ‘खासमा जग्गा प्लटिङ गर्ने उद्देश्य थियो, तर जग्गाको कारोबारमा मन्दी छाएपछि हाम्रो नयाँ योजना बन्यो’–सुन व्यावसायीसमेत रहेका खापुङले भने–‘पशुपालन शुरु भएको छ, चाडै बिषादीरहित अग्र्यानिक खेती शुरु गछौं, एग्रो टुरिज्मकोरुपमा यहाँ विकास गर्ने अवधारणा छ ।’ सानैदेखि व्यावसायिक कृर्षि गर्ने इच्छा अहिले पुरा भएको उनले बताए ।
सेन्टरमा गत असार महिनादेखि गाईपालन, वंगुरपालन र बाख्रापालन शुरु भएको हो । त्यहाँ होलिष्टीनफिजियन जातको २१ वटा गाई छ भने ३ वटा जर्सी गाई छ । यस्तै, साइवाल जातको एउटा र ९ वटा कोरेली गाई(बाछी) छ । त्यही उत्पादन भएको १२ वटा साना वाछी र ६ वटा वर पनि छ । विदेशबाट आयात गरिएका २५ वटा माउ गाईको मुल्य एक लाख देखि एक लाख ८० हजारसम्मको छ । दुध भने २१ वटा गाईले मात्रै दिइरहेको छ । व्यवस्थापक मिन घर्ती मगरका अनुसार अहिले बिहान र बेलुका गरी एउटा गाईले दैनिक १६ लिटरदेखि २४ लिटरसम्म दुध दिइरहेको छ । दैनिकरुपमा सरदर २ सय ८० लिटर दुध धरानमा बिक्री भइरहेको छ । दुध र क्रिमबाट मासिक करिब ५ लाख रुपैया आम्दानी भइरहेको पनि उनले खुलाए । ‘एउटै गाईले २४ लिटरसम्म दुध दिइरहेको छ । यहाँ चाडै ५० वटा माउ गाई पुर्याएर दैनिक एक हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य बनाएका छौं’–व्यावस्थापक मगरले भने ।
सेन्टरमा हाल हेम्पासायर, धराने कालो र कोरियन प्रजातिको ड्युरोक गरि कुल ५३ वटा वंगुर पनि छ । पचास वटा वंगुरको माउको लागि नयाँ व्यवस्थित खोर निर्माण भइरहेको छ । सेन्टरमा २० वटा जमुना पारी जातको माउ र ३ वटा बोका छ भने ४ वटा विटल जातको माउ पनि छ । व्यवस्थापक मगरका अनुसार सेन्टर पशुपालन र खेतीमा मात्रै सिमित नराखी भविष्यमा कृर्षि र पशुको अनुसन्धान केन्द्रकोरुपमा विकास गरिनेछ । पशुलाई आवश्यक दाना यही उत्पादन हुनेछ भने वंगुर र बाख्राको क्रस गरेर उत्पादन पनि यही शुरु हुनेछ । गाईको कृत्रिम गर्भाधान भने उनले शुरु गरिसकेका छन् । दाङको राप्ती प्राविधिक शिक्षालयमा पशु स्वास्थ्य पढेका उनले करिब १२ बर्ष साउदी अरबस्थित अल साफी डायरी फर्ममा पशु स्वास्थ्य, पोषण र कृत्रिम गर्भाधानको अनुभवले खारिएर स्वदेश फिरेका हुन् । सेन्टरमा व्यावस्थापक हुनुअघि उनले अग्र्यानिक फर्टिलाइजरबारे रिसर्च गरिरहेका थिए ।
सञ्चालकद्धयले सेन्टरको जमिनमा गत बर्ष नै करिब ५ हजार मलेसियन सखुवा र हाइब्रिड टिक रोपेका छन् भने कागतीको विरुवा पनि लगाएका छन् । सेन्टर धरानको भानुचौकदेखि करिब १९ किलोमिटर उत्तरपश्चिम गाउँमा पर्छ । सेन्टरमा एक जना व्यावस्थापकसहित १३ जनाले रोजगारी पनि पाएका छन् । उनीहरुको न्युनतम तलब ५ हजारदेखि ३० हजारसम्म छ । जग्गा खरीद, भौतिक संरचना निर्माणसहित अहिलेसम्म साढे ३ करोड लगानी भइसकेको छ । ‘यहाँ चाडै नै अग्र्यानिक खेती लगाउछौं, र अर्को बर्षदेखि माछा पालन पनि शुरु गछौं’–अर्का लगानीर्ता घनेन्द्र कार्कीले भने–‘शहकारीको अवधारणा पनि बनाएका छौं, जसमार्फत हाम्रो उत्पादन गाउँलेलाई वितरण गर्ने योजना छ ।’ उनी करिब पाँच बर्ष कोरिया बसेर सन् २००९ मा फर्केर जग्गाको व्यावसायमा हात हालेका थिए । अहिले स्वदेशमा नै कृर्षि क्षेत्रमा लगानी गरेर रोजगारी पनि दिन सकेकोमा गर्व लागेको उनको भनाई छ ।
Comments
Post a Comment