ग्रिनह्विल्सको बार्षिकोत्सव, माउण्टेन बाइक फेस्टिवल हुने


धरान । पूर्वाञ्चलकै पहिलो ठुलो माउण्टेन बाइकको बिक्रेता ग्रिनह्विल्स धरानले आगामी मंसिरमा ‘माउण्टेन बाइक फेस्टिवल’ आयोजना गर्ने जनाएको छ । ग्रिनह्विल्सले आइतबार पहिलो बार्षिकोत्सव मनाउने क्रममा फेस्टिवल आयोजनाको घोषणा गरेको हो ।
फेस्टिवलमा विभिन्न कम्पनी एवं ब्राण्डका माउण्टेन बाइक बिक्री तथा प्रर्दशनीसँगै च्याम्पियनसिप पनि आयोजना गरिने ग्रिनह्विल्सले जनाएको छ । ‘पूर्वाञ्चलमा माउण्टेन बाइकको आर्कषण बढ्दै गइरहेकोले फेस्टिवल आयोजना गर्न लागेका हौं, यसले युवाहरुलाई मात्रै नभई सबै पेशा, क्षेत्रका मानिसहरुलाई साइक्लिङ, स्वास्थ्य र वातावरणप्रति सचेत गराउने अपेक्षा छ’–ग्रिनह्विल्सका प्रमुख हेम लिम्बूले भने–‘धरानको साइकल सिटि अभियानलाई गति दिन र अन्य शहरलाई पनि साइकल सिटि अवधारणामा उत्प्रेरणा जगाउन फेस्टिवलले मद्दत पुग्ने आशा छ ।’


ग्रिनह्विल्सका अनुसार फेस्टिवल दुई दिन आयोजना हुनेछ । यो अवधिमा राष्ट्रिय डाउहिल च्याम्पियनसिप र पूर्वाञ्चलस्तरीय खुल्ला साइकल रेस आयोजना गरिनेछ । यस्तै, साइक्लिष्टहरुले फेस्टिवलस्थलमा साइकल स्टण्ड एवं आफ्नो कला, कौशल पनि प्रर्दशन गर्नेछन् । यसको लागि कमेन्सल, चेन ब्राण्डको साइकलको दक्षिण एसियाको आधिकारिक बिक्रेता इपिक माउण्टेन बाइकसँग आवश्यक छलफल भइरहेको प्रमुख लिम्बूले जानकारी दिए ।
....................

                    बाइक पार्क र डाउनहिल टिमको घोषणा


ग्रिनह्विल्स धरानले पहिलो बार्षिकोत्सव मनाउने क्रममा आइतबार पूर्वाञ्चलकै पहिलो डिपोट बाइक पार्क सञ्चालनमा ल्याएको छ । यस्तै, डाउनहिल साइक्लिष्टहरुको टिम द ब्लाक बक्स्को पनि औपचारिक घोषणा गरेको छ ।
यो पार्कको लागि धरान १८ स्थित डिपोट उच्चमाविले स्थान उपलब्ध गराएको हो । स्थानीय साइक्लिष्ट एवं खेलाडीहरुलाई अभ्यास गराउन र नयाँ साइक्लिष्टहरुलाई सिक्ने ठाउँ प्रदान गर्नको लागि पार्कको निर्माण गरेको परिकल्पनाकार एवं साइकल सिटिका अभियन्ता दिपक राईले बताए । ‘यहाँ खेलाडी बन्न चाहने साइक्लिष्टहरुले आफ्नो स्किल तिखार्न अभ्यास गर्छन्, नयाँहरुले माउण्टेन बाइक चलाउन सिक्ने ठाउँ हो’–शिक्षकसमेत रहेका राईले भने ।

उनका अनुुसार शनिबार र सार्वजनिक विदाको दिन साइक्लिष्टहरु पार्कमा नियमितरुपमा अभ्यास गर्न आउछन् । यहाँ र्याम्प, जम्प, वर्म, ड्रपलगायत साइक्लिङका संरचनाहरु निर्माण गरिएको छ । डाउनहिल, कन्ट्रीक्रस कम्पिटिशनलगायत विभिन्न प्रतियोगितामा भाग लिने खेलाडीहरुले यी संरचनाहरुमा अभ्यास गर्न अतिआवश्यक हुन्छ । ठुलठुला खाल्डाखुल्डी र खोल्सा भएकोले पनि पार्क बनाउन सजिलो भएको ग्रिनह्विल्सले जनाएको छ ।
यसैगरि, आइतबार नै ग्रिनह्विल्सले द ब्ल्याक बकस् नामको साइक्लिष्टहरुको डाउनहिल टिमको पनि घोषणा गरेको छ । टिममा साइक्लिष्टहरु दिपक राई, हुकमेन राई, फुर्वा लामा र दिपक जिमी छन् । डाडाको टुप्पोबाट साइकलमा ओरालो झर्नुलाई डाउनहिल भनिन्छ । यो जोखिमपुर्ण भए पनि विश्वमै रोमाञ्चक साइक्लिङ मानिन्छ ।
.......................

                                          ५० वटा साइकल बिक्री


स्थापनाको पहिलो बर्षमा नै ग्रिनह्विल्स धरानले ५० वटा माउण्टेन बाइक बिक्री गरेको जनाएको छ । ग्रिनह्विल्स युवा साइक्लिष्टहरुले सञ्चालनमा ल्याएको पूर्वकै पहिलो र ठुलो ब्राण्डेड माउण्टेन बाइक शोरुम हो । व्यावसायिक दृष्टिले यो कारोबार सन्तोषजनक भएको सञ्चालकहरुले बताएका छन् ।
‘व्यावसायिक हिसाबले यो सन्तोषजनक व्यापार हो । तर, सामाजिकरुपमा हामीले साइकल सिटि अभियानलाई उचाईमा पुर्यायौं, एक बर्षसम्म नै क्रिटिकल मास राइडलाई निरन्तता दियौं र केटाकेटीदेखि युवा, सबै क्षेत्रलाई साइक्लिङमा ध्यान आकृष्ट गर्न सक्यौं, यो ठुलो उपलब्धी हो’–बार्षिकोत्सव समारोहमा सिइओ हेम लिम्बूले भने ।

बार्षिकोत्सव समारोहमा धराने युवा जमातका सल्लाहकार, साइक्लिष्ट एवं पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका शिक्षक समिर शाक्यसँगै तीन जना साना साइक्लिष्टहरुले पाँच पाउण्डको केक काटेका थिए । प्रमुख अतिथि रहेका शाक्यले ग्रिनह्विल्सले युवाहरुलाई साइक्लिङसँगै स्वास्थ्य र वातावरणको क्षेत्रमा पनि सचेत बनाउने अभियान शुरु गरेको भन्दै प्रसंसा गरे ।
ग्रिनह्विल्समा कमेन्सल, चेन, ट्रिंस ब्राण्डको माउण्टेन बाइक उपलब्ध छ भने हेल्मेट, जर्सीसहित साइक्लिष्टलाई आवश्यक सबै ब्राण्डेड सामानहरु पाइन्छ । साथै, प्याकेज टुरमा इच्छुकहरुलाई ग्रामिण क्षेत्र र जंगल सफारीमा पनि साइक्लिङमा लगेर ग्रामिण पर्यटन प्रर्वद्धन पनि गरिरहेको छ ।












Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे