गाडीको ठक्करले वन्यजन्तु मर्दै


धरान । साउनको पहिलो आइतबार(साउन ४ गते ) गते सबेरै विराटनगरबाट दुध बोकेर धरान आउदै गरेको को १ ख २११२ नम्बरको मिनिट्रक कोशी राजमार्गको धरान–इटहरी सडक खण्डको जंगल क्षेत्रमा दुर्घटनाग्रस्त भयो । यो मिनिट्रक दुर्घटना हुनुमा चालकको कमजोरी वा गाडीको खराबी थिएन ।
बिहानै करिब अढाई बजेको समय हुँदो हो, जंगलको बीच सडकमा एक्कासी एक हुल चित्तल देखा पर्यो । चालकले ती चित्तललाई बचाउने हुदाँ मिनि ट्रक नै पल्टियो । ट्रक दुर्घटनाग्रस्त भए पनि दुर्लभ हरिण प्रजातिको चित्तलहरु धन्न जोगिए । ‘एक हुल चित्तल बाटोमा निस्किएछ, चालकले बचाउने हुदा मिनि ट्रक नै पल्टिएको रहेछ’–उद्दारमा गएका तीनकुनेस्थित अस्थायी प्रहरी चौकीका असई गणेश श्रेष्ठले भने–‘चित्तलहरु भाग्यमानी रहेछन्, केही भएन ।’
चारकोसे झाडी (जंगल)मा दुर्लभ हुदै गएका यी वन्यजन्त सधै यस्तो भाग्यमानी भने हुदैनन् । वासस्थान(जंगल)लाई अतिक्रमण गर्दै बीचमा मानिसलाई सहजताको लागि निर्माण गरिएको सडकमा सुरक्षाको लागि आवश्यक उपाय नपनाउदा वन्यजन्तुको मृत्युको कारण बनिरहेको छ । चारकोसे जंगलको बीचबाट खोलिएको कोशी राजमार्गअन्र्तगतको धरान–इटहरी सडकखण्डमा गाडीको ठक्करले वन्यजन्तु मारेको घटना बेला बेला सार्वजनिक भइरहन्छ । मिनि ट्रक दुर्घटनाको तीन दिनअघि (साउन १ गते) अज्ञात गाडीको ठक्करबाट एउटा चित्तल मर्ेको थियो । यस्तै, साउन ७ गते बुधबार बिहानै धरानको लांघाली वन समुहले आफ्नो वन क्षेत्रमा घेराबारा गरेको तारमा अल्झिएर एउटा चित्तल मरेको भेटिएको थियो ।
सरोकारवाला निकायहरु वन्यजन्तुको बासस्थानको बीचमा सडक खुलेकोले वन्यजन्तुको सुरक्षाको लागि अलग्गै करिडोर(जैविक मार्ग) हुनुपर्ने धारणा राख्छन् । ‘जंगलको बीचमा बाटो खोलिएको छ, त्यहाँ ज्यादै स्पिडमा गाडी गुड्छन् । वन्यजन्तु पनि सुरक्षित बासस्थानको खोजीमा ओहोरदोहोर गरिरहन्छ, त्यति बेला गाडीमा ठोक्किएर मर्छन्’–पाँचकन्या÷सेक्टर वन कार्यालय धरानका सहायक वन अधिकृत लखनलाल चौधरी–‘जंगलबीचको यस्ता सडकमा जनावरकोलागि छुट्टै करिडोर हुनुपर्छ कि गाडीहरुको गतिलाई नियन्त्रण गरिनुपर्छ ।’
वन अधिकारीहरुका अनुसार जंगलमा सडक खुला हुने भएकोले चालकले तीब्र गतिमा गाडी हुइकाउने गर्छन् । पानी, सुरक्षित बास र खानाको खोजीमा वन्यजन्तु पनि तीब्र गतिमा दौडिने हुनाले ठोकिएर मर्छन् । गाडीले चर्को हर्न बजाइदिदा पनि वन्यजन्तु तर्सने र ठोक्किएर मर्ने उनीहरुको भनई छ । यो सडकखण्डमा साना ठुला गरि दैनिक दुई हजार बढी सवारी साधान आवात जावत गर्छ । ‘विदेशतिर गाडी गुड्ने सडक मुनि वन्यजन्तुको लागि आवातजावत गर्न छुट्टै बाटो हुन्छ, यहाँ त सम्भव नहोला, तर जंगलबीचको सडकमा गाडीको स्पिड नियन्त्रण गर्न, हर्न निषेध गराउन सक्छौं’–सहायक वन अधिकृत चौधरी थप्छन्–‘यसले वन्यजन्तुलाई अनाहकमा मर्नबाट जोगाउछ ।’ नेपालमा पनि चितवनको वनमा हर्न निषेध, सुस्त गतिमा गाडी चलाउन आग्रहसहितको सुचना तथा बोर्डहरु राखिएको उनको भनाई छ ।


यो सडक खण्डमा बर्ष दिनमा कति वन्यजन्तु ठक्कर दिएर मर्छन् भन्ने यकिन रेडर्क वन कार्यालयसँग छैन । तर, जति संख्यामा गाडीको ठक्करले सडकमा वेवारिसे भेटिन्छन्, त्यो संख्या यथार्यभन्दा कम हो । कतिपय गाडीले ठक्कर दिएर मरेका वन्यजन्तुलाई बोकेर लैजाने गरेकोले थाह नहुने वनअधिकारीहरु बताउछन् । सडकमा वेवारिसे छोडिएका वन्यजन्तुलाई भने मुचुल्का उठाएर गाड्ने गरेको वन कर्मचारीको भनाई छ । कोशी राजमार्गको यो धरान–इटहरी सडकखण्डमा करिब दश किलोमिटर जंगल क्षेत्र पर्छ ।
सामुदायिक वन समुहका अनुसार यहाँको वनमा चित्तल, फड्के, सालक, ढेढु बादर, सुन गोहोरो, बदेल, खरायो, लुइचे, दुम्सीलगायत वन्यजन्तुहरु भेटिन्छन् । चैत बैशाखमा डढेलोले बासस्थान(झाडी) नासिदा यी वन्यजन्तुहरु त्यसबेला धेरै असुरक्षित हुने सामुदायिक वन उपभोक्ता महासंघका धरान नगर अध्यक्ष इन्द्र बजगई बताउछन् । ‘वन क्षेत्रमा गाडीको गति लिमिट गर्न र हर्न निषेधको लागि चालकहरुलाई सचेतना गराउनुपर्छ, वन्यजन्तु जोगाउन ठाउ ठाउमा चेतनामुलक सुचना बोर्ड, होर्डिङ्ग राख्नुपर्छ । यसमा सबैको पहल हुनुपर्छ’–बजगाई भन्छन्–‘सुरक्षा दलको पनि आवश्यकता छ, यसले चोरी निकासी पनि नियन्त्रण हुन्छ ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे