राजमार्ग अवरुद्ध हुँदा तरकारीको भाउ आकाशियो


धरान । धनकुटा–भेडेटार सडक खण्डको लेउती खोलाको बाढीले डाइभर्सन बगाएर कोशी राजमार्ग अवरुद्ध हुदा पहाडी क्षेत्रबाट हरियो तरकारी आउन नसक्दा तरकारीको भाउ आकासिएको छ । कोशी राजमार्गसँगै धनकुटाको भेडेटार–राजरानी सडक खण्डमा पनि पहिरोले बाटो अवरुद्ध भएर तरकारी आयात हुन सकेको छैन ।
धरान १३ स्थित कृर्षि उपज बजारस्थलका अनुसार बिहिबार बिहानदेखि नै पहाडी क्षेत्रबाट हरियो तरकारी नआउदा मुल्य एक्कासी बढेको हो । कृर्षिजन्य हरियो तरकारी बजारसम्म पुर्याउन नसक्दा खेर गएर किसानलाई धेरै नोक्सानी भइरहेको छ । बजारस्थलमा बिहिबार बिहानसम्म बुधबारको स्टक तरकारी कारोबार भएकोले त्यति मुल्य बढेको थिएन । तर, बिहिबार साँझदेखि भने तरकारी अभाव भएपछि मुल्य आकासिएको हो । ‘यहाँ हरियो तरकारी सबै पहाडी क्षेत्रबाटै आउछ, बाढीले राजमार्ग अवरुद्ध हुँदा बिहिबारदेखि तरकारी आपूर्ति भएकै छैन । किसान र व्यापारीले पल्टी गरेर थोरै मात्र ल्याएका छन्’–बजारस्थलका व्यावस्थापक लक्ष्मण भटराईले भने–‘भाउ बिहिबार बेलुकादेखि नै बढेको छ ।’


उनका अनुुसार टमटार, हरियो सिमी, काक्रा, गाँजर, सिमला खोर्सानी, बन्दाकोपी, मुला, धनिया मुठा, अकबरे खोर्सानी, हरियो खोर्साने, नासपातीलगायत तरकारी एवं फलफुल पहाडी क्षेत्रबाट आउने गर्छ । धनकुटा, तेह्रथुम, संखुवासभामा र भोजपुरमा उत्पादन हुने यी तरकारी र फलफुलको मुख्य बजार भनेको धरान हो । कृर्षिउपजमा दैनिक सय मेट्रिक टन आउछ । त्यसमध्ये ७० मेट्रिक टन राजमार्ग अवरुद्ध हुँदा दुई दिन यता आपूर्ति भएको छैन । अहिले पाँचकन्या, मोरङको याङसिला र विष्णुपादुकाको उत्पादन मात्रै धरान आइरहेको छ । धरानबाट इटहरी, विराटनगर, राजविराज, उर्लाबारी, दमक, बेलबारी, पथरीसम्म तरकारी जान्थ्यो । बिहिबारदेखि नै यी शहरमा पनि तरकारी पुग्न नसक्दा ती क्षेत्रमा झनै हाहकार र भाउ बढेको व्यावस्थापक भटराईको भनाई छ ।
बजारस्थलका अनुसार बिहिबार बिहानसम्म टमटरको थोक मुल्य २७-२८ रुपैयामा कारोबार भएको थियो भने शुक्रबार ह्वात्तै बढेर ५५-६० रुपैयामा पुग्यो । बजारमा खुद्र मुल्य कम्तीमा ८० रुपैया माथि भइरहेको छ । हरियो सिमीको बिहिबार बिहानसम्म प्रतिकिलो थोक मुल्य १५-१७ रुपैया थियो भने शुक्रबार ४०-४५ रुपैयामा कारोबार भयो । यस्तै, बिहिबार बिहानसम्म १०-१२ रुपैया थोक मुल्यमा कारोबार भएको मुला शुक्रबार २५ रुपैया पुग्यो भने बन्दाकोपीको थोक मुल्य ८-१० रुपैयाबाट शुक्रबार २०-२५ रुपैया र स्कुसको २५ रुपैयाबाट शुक्रबार ४० रुपैया पुगेको व्यावस्थापक भटराईले जानकारी दिए । ‘आज बिहान एक पिकअप मात्रै हरियो तरकारी आयो, त्यो पनि व्यापारीमाझ हारालुछ जस्तै भयो’–उनले भने ।


अबिरल बर्षासँगै आएको बाढीले बुधबार राती धनकुटाको लेउती खोलाले करिब दुई सय मिटर अस्थायी डाइभर्सन बगाएको थियो । यही ठाउँमा गत बर्ष भदौमा पनि लेउतीले कोशी राजमार्ग बगाएपछि डाइभर्सन बनाएर यातायात खुलाइएको थियो । बजारस्थलका थोक व्यापारीहरुका अनुसार किसानबाट खरीद गरिसकेको हरियो तरकारी समयमै ल्याउन नसक्दा कुहिएर नोक्सानी भइरहेको छ भने गाडी पल्टी(अवरुद्ध बाटोमा तरकारी डोकोमा बोकाएर गाडी परिवर्तन)गर्नुपर्दा थप खर्च व्यहोर्नु परिरहेको छ । लेउतीमा पल्टी गर्नुपर्दा एक डोको बराबर ३ सय रुपैया खर्चिनु परेको थोक व्यापारी अजयकुमार गुप्ताले बताए । उनले शुक्रबार बेलुकी ३२ डोको टमटर धनकुटको गुठीटारबाट बजारस्थल ल्याइपुर्याएका थिए । ‘लेउती पारीसम्मको र वारीदेखि धरानसम्मको ढुवानी खर्च छुट्टै छ, पल्टी गर्दा थप खर्च भयो । यो सबै टमटरबाटै असुली गर्नुपर्छ’–भाउ बढ्नुको कारण बताउदै उनले भने–‘हिजोदेखि थुनिएको तरकारी पल्टी गर्दा कुच्चिएर गन्हाइसकेको छ, त्यो पनि फाल्नु पर्यो ।’
अर्का व्यापारी दिनेश जयसवालले धनकुटाबाट आयात गरेको सिमला खोर्सानी हिजो बिहानदेखि जाम भएपछि गन्हाएर बिक्री नभएको गुनासो पोखे । प्रतिकिलो ८० रुपैयामा कारोबार भइरहेको सिमला शुक्रबार प्रतिकिलो २० रुपैयामा दिदा पनि नबिकेको उनले बताए । बिहिबार बिहानै धरान आइपुग्नुपर्ने सिमला लेउतीकै कारणले शुक्रबार दिउसो पल्टी गरेर धरान आइपुगेको थियो । ‘पानी चुहिन र गन्हउन थालिसक्यो, सस्तोमा दिदा पनि गएन’–चिन्तित हुदै उनले भने ।


कोशी राजमार्ग मात्रै होइन, पूर्वपश्चिम राजमार्गको धनुषास्थित रातु नदीको पुल भासिएर बुधबार रातीबाट यातायात नचल्दा राजधानी जानुपर्ने एक ट्रक केरा शुक्रबार धरान आइपुग्यो । मोरङको लक्ष्मी मार्ग, भाउन्ने, खोर्सानेका किसानले उत्पादन गरेको ती केरा धरानको बजारमा खपत हुने नहुने अन्यौल भएको व्यापारी बताउछन् । धरानमा केराको माग छिमेकी गाविस विष्णुपादुका र पाँचकन्याले धानेको थियो । ‘काठमाण्डौं जानुपर्ने धरान आयो, सस्तैमा भएपनि बेच्नुपर्ला’–व्यापारी सुर्यबहादुर श्रेष्ठले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे