वृत्तचित्रमा गोर्खाको खुन, पसिना र आँशु


धरान । ‘युद्धले कसैलाई छोड्दैन’–वृद्धा शान्तमाया लिम्बूले आँखाको डिलमा आँशुका थोपा टिलपिल गर्दै बोल्दा गाजा क्षेत्रमा इजरायल र प्यालेष्टिाइनबीच जारी युद्धमा टिप्प्णी गरेजस्तो सुनिन्छ । तर, यो टिप्पणी भने करिब ६ दशकअघिको दोस्रो विश्वयुद्धलाई स्मरण गर्दै उनले गरेकी हुन् । परिस्थिति फरक भए पनि युद्धले दिएको पीडा, आँशु र घाउ भने उस्तै छ ।
विश्वयुद्धमा नेपालको सामेल भएन, तर लाखौं नेपाली युवाहरु ब्रिटिश सेनामा भर्ती हुदै सामेल भए । हजारौं युवाहरुको ज्यान गयो, कति वेपत्ता भए अनि कति घाइते भएर घर फर्किए । ती सबैको साक्षी हुन्, वृद्धा शान्तमाया । जसले जीवनभर आफ्नो पति बाबुराजा लिम्बूको प्रतिक्षा गरिरहिन् । मागी विहे भएलगत्तै सन् १९४१ मा बाबुराजालाई पल्टनमा बोलाइयो । बाबुराजा पल्टन गए, तर घर फर्किएनन् । उनको परिवारलाई सन् १९४९ मा तक्मा र पेन्सन पट्टा मात्रै हात लाग्यो । उनी युद्धमा मारिए या हराए ? बेलायतसँग पनि जवाफ छैन । तर, शान्तमायाले जीवनभर उनको प्रतिक्षा गरिरहिन् । उनले सिन्दुर पुछिनन्, चुरा फुटाइनन् र आफ्नो पति मरेको भनेर कहिल्यै मानिनन् । उनीसँग पतिको चिनो र सम्झना भनेको मात्रै विदाईकोक्षणमा सँगै खिचेको श्यामश्वेत तस्बिर थियो ।

विश्वयुद्धले दिएको पीडालाई शान्तमायाले जीवनभर सहेर बसिन् । भूपू गोर्खा सैनिक रमेश राईको शब्दमा उनी त्याग र संघर्षकी पहाड हुन् । तर, उनको पार्थिव शरीर अहिले छैन । जीवनभर श्रीमान्को प्रतिक्षामा बसेकी शान्तमायाको सन् २०११ मा देहन्त भइसकेको छ । तर, उनको त्याग र संघर्षको कथालाई युवा सञ्चारकर्मीहरुले जीवन्तरुपमा वृत्तचित्रमा कैद गरेका छन् । बिगेसो सुनसरीको आग्रहमा युवाहरुले गुर्खाज ब्लड,स्वेट एण्ड टियर्स( गोर्खाको खुन, पसिना र आँशु) नामको वृत्तचित्र तयार गरेका छन् । यो वृत्तचित्रमा शान्तमाया दोस्रो विश्वयोद्धा इन्द्रबहादुर राईको पीडादायी एवं दर्दनाक जीवनकथा समेटिएको छ ।

सन् १९४० मा दार्जिलिङको घुमपहाडबाट भर्ती लागेका इन्द्रबहादुरले लडाईमा देखाएको वहादुरीको कारण ब्रिटेनबाट ५ वटा वीरता पदक पाए । तर, घुडाको चोटले उनी जीवनभर पिरोलिनु पर्यो । ब्रिटेनले शुरुवाती समयमा उपचार गरे पनि निको नभईनै उनलाई ४० रुपैया हातमा थमाएर सन् १९४७ मा घर फर्काइदिएको थियो । उनले पेन्सन पनि पाएनन् । ‘तिनीहरुले के दिए ? केही पनि दिएनन् । पेन्सन दिन्छु भनेको थियो, मैले पाइन’–वृत्तचित्रमा उनले भनेका छन् । घाइते अवस्थामा नै उनलाई पुनः बेलायतले भर्ती लिएको थियो । सन् १९६० मा बाह्र बर्ष पछि फेरि उनलाई विना पेन्सन घर पठाइदिएको थियो । उनको पनि जीवन पनि अभाव, गरिबी र पीडाले नै बित्यो । उनी जस्ता कयौं योद्धालाई बेलायतले युद्धपछि विना पेन्सन घर फकाइदिएका थिए । सन् २००९ मा उनले मृत्यु भएको थियो । ‘बुबालाई कसैले खोजेन, सोधेन । कहीबाट सहयोग आएन । उपचार नपाएरै बुबाको देहान्त भयो’–छोरा मणिले वृत्तचित्रमा यसरी गुनासो पोखेका छन् ।
शान्तमाया र इन्द्रबहादुरको जीवनमा आधारित ३९ मिनेट लामो वृत्तचित्र बुधबार धरान १० स्थित सैनिक भवनमा प्रर्दशन गरिएको थियो । दुवैको जीवनकथाले दर्शकहरुको आँखा रसाएको थियो । निर्देशक मोजेश राईका अनुसार विगत दश बर्ष मेहनत गरेर वृत्तचित्र तयार पारिएको हो । ‘पूर्खाको इतिहासलाई कोट्याइरहेका छौं र जीवन्त राख्ने प्रयासमा छौं, हामी पनि भूपू परिवारकै सन्तान हौं । हामी पनि यी कथाहरुमा जोडिएका छौं’–निर्देशक राईले भने । वृत्तचित्रमा फोटोग्राफी निर्देशन यात्रा थुलुङले गरेका छन् भने आवाज जसकुमार राई र विकास राईले दिएका छन् ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे