बैदशिक रोजगारीले परिवार टुट्दै


धरान । श्रीमति र तीन छोरीको भविष्य उज्वल बनाउने सपना बोकेर धरान १७, बीचघोपाका चक्रबहादुर लिम्बू साउदी अरब गएका थिए । तेइस महिना साउदीमा बसेर पहिलो छुट्टीमा फर्कदा घरमा सबै ठिकठाक थियो । तीन महिना बसेर उनी फेरि साउदी उडे । पन्ध्र महिना दुःख गरेर गत पुष १७ गते स्वदेश फर्किएका उनी यतिबेला आफ्नै श्रीमति तीस बर्षीय विमलाको कर्तव्य ज्यानको अभियोगमा प्रहरी हिरासत छन् ।
पुषमा दोस्रो पटक घर आउदा पहिला जस्तो ठिकठाक थिएन । श्रीमतिको मोवाइलमा दिनरात जतिबेला पनि फोन र एसएमएस आइरहन्थ्यो । माइतीका आमा बुबा, छरछिमेक र उनी आफैले पनि श्रीमतिलाई सम्झाए । श्रमिति बिहानको खाना खाएर घरबाट निस्किएपछि राती ७÷८ बजेतिर मात्रै घर आउथिन् । चक्रले के काममा ब्यस्त रहन्छौ भनेर सोध्दा तिमीलाई के मतलब भन्थी । असार २६ गते बिहिबारको राती मातेर घर आएकी श्रीमतिसँग झगडा हुदा आवेशमा आएर चक्रले ढोकाको आग्लो प्रहार गरे, विमलाको प्राण गयो । ‘मैले यस्तो दिनको कल्पना पनि गरेको थिइन, परिवारकै उज्वल भविष्य र खुशीको लागि विदेश गएको थिएँ’–इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका लिम्बूले नागरिकसँग भक्कानिदै भने–‘पहिला सबै ठिकै थियो, म १५ महिना साउदीमा रहदा नै श्रीमतिमा परिवर्तन आएछ ।’

परिवारलाई सुखले पाल्ने सपना देख्दै वैदेशिक रोजगारमा जानु चक्रको बाध्यता थियो । तर, त्यही सपनाको कारण आज उनको परिवार खण्डित भएको छ । ०६२ सालमा विमलासँग चक्रको दोस्रो मागी विवाह भएको थियो । पहिलो श्रीमतिसँगको सम्बन्ध विच्छेद हुनुको कारण पनि उनी वैदेशिक रोजगारीमा कतार जानु नै थियो । ०५० सालमा पहिलो विवाह गरेका उनी तीन बर्षपछि ०५३ मा कमाउने उद्देश्यले कतार गएका थिए । दुई बर्षपछि विदामा घर आउदा सबै राम्रो थियो । तर, ०५८ मा दोस्रो पटक विदामा घर आउदा श्रीमति आफ्नी आमासँग छुटिएर बसेकी थिइन् भने श्रीमतिले गर्भ बोकेको रहस्य खुल्यो । सोधी खोजी गर्दा आफ्नै साइला बडा बाको छोरा(देवर)सँगको सम्बन्धले गर्भ बोकेकी रहिछ । पहिलो श्रीमतिसँग उनले डिभोर्स गरेका थिए । ‘घरमा बस्नै मन नलागेर विदेश गएको होइन, परिवारकै लागि हो, तर सब सपना भताभुङ्ग भइदियो’–अहिले चक्र चुकचुकाउदै भन्छन् । उनको पहिलो श्रीमतितर्फबाट एक छोरी(२० बर्षीय) र कान्छीको तर्फबाट ८ बर्ष र ४४ महिनाको थप दुई छोरी छन् ।
चक्रको पीडा भन्दा कम छैन, धरान ११, मंगलबारेमा डेरा गरि बस्ने भिमबहादुर राईको । ६ बर्षअघि मलेसिया गएका उनले कमाएको दश लाख बढी रकम श्रीमतिलाई पटक पटक गरि पठाइदिएका थिए । त्यसबीचमा उदयपुरको कटारी ४ र सुनसरीकै विष्णुपादुका ६ मा श्रीमतिको नाउमा जग्गा पनि जोडिदिएका थिए । तर, ०७० फागुन ९ गते ६ बर्षका छोरालाई छोडेर उनी डेराबाट एक्कासी हराइन् । यो खबर सुनेपछि अत्तालिदै भिम घर फिरे र फागुन १७ गते प्रहरीमा सुन, नगदसहित फरार भएको जाहेरी दिए । प्रहरीले खोजबिन गर्दै जादा सोही घरमा डेरा गरि बस्ने पवन नामको व्यक्तिसँग भागेकी रहिछ । भिमबहादुरले छोराको भविष्यको लागि दुवै ठाउँको जग्गा रोक्का गरेपनि सुन र नगद भने माया मारिदिए । मनभरि पीडा बोकेर उनी फेरि मलेसिया फर्किसकेका छन् ।
परिवार एवं श्रीमति, छोराछोरीको सुख र भविष्यको लागि भन्दै वैदेशिक रोजगारीमा गएकाहरुको परिवार पछिल्लो समय खण्डित हुदै गएको प्रतिनिधि घटना हुन् चक्र र भिमबहादुरको पीडा । नेपाली समाजमा सदियौंदेखि पुरुष(श्रीमान्)बाट महिला(श्रीमति) पीडित हुदै आएको अनेकन घटनाहरु सार्वजनिक भइरहन्छन् । तर, पछिल्लो समय श्रीमतिबाट पनि श्रीमान् पीडित भएको घटनाहरु सार्वजनिक हुन थालेका छन् । ती घटनाहरु बढी वैदेशिक रोजगारीमा गएका पुरुषहरुसँग सम्बन्धित छन् । चाहे महिला अधिकारकर्मी हुन् वा प्रहरी, दुवैको एउटै भनाई छ,–‘वैदेशिक रोजगारीले पीडित श्रीमान्हरुको संख्या बढाउदै लगेको छ, घरपरिवारमा विखण्डन ल्याउदै छ ।’

श्रीमान् कमाउनको लागि भन्दै विदेश लागेपछि श्रीमति छोराछोरीको राम्रो पढाईको लागि भन्दै शहरमा डेरा लिएर बस्छिन् । त्यहीबाट समस्या शुरु हुने इलाका प्रहरी कार्यालय धरानका डिएसपी सञ्जयसिंह थापा बताउछन् । ‘हामीकहा आउने श्रीमान् श्रीमतिको झगडाको अधिकांश घटना वैदेशिक रोजगारीसँग सम्बन्धित छन्, लामो समय श्रीमान् विदेश रहदा यता परपुरुषसँग हिमचिम बढेको र त्यसले परिवारमा बिखण्डन ल्याइरहेको छ’–डिएसपी थापा भन्छन्–‘श्रीमान् विदेश लागेपछि छोराछोरी पढाउने भन्दै शहरमा आउछन्, सासु ससुराको निगरानी पनि हुदैन । श्रीमानले कमाएको पैसा सदुपयोग पनि छैन ।’ श्रीमान् श्रीमतिबीचको खटपट र सम्बन्ध विच्छेदले दुवैले फेरि विवाह गर्छन् तर छोराछोरीले आमाबुबाको राम्रो माया, स्याहार नपाउदा मनोवैज्ञानिक अपर पुग्ने र अव्यावहारिक बन्ने खतरा रहेको डिएसपी थापा औल्याउछन् ।
इलाका प्रहरी कार्यालय धरानको महिला तथा बालबालिका सेलमा विवाहित महिला हराएको निवेदन अत्यधिक आउछन् । ती आएका निवेदनमध्ये ९० प्रतिशतको श्रीमान् वैदेशिक रोजगारीमा विदेशमा हुने सेलकी प्रमुख एवं असई यज्ञकुमारी सुवेदी बताउछिन् । ‘दश प्रतिशतले मात्रै श्रीमान्सँग खटपट भएर घर छोडेका हुन्छन्, ९० प्रतिशतका श्रीमान् विदेशमा हुन्छन्, श्रीमान् आउदैछ भन्ने थाह पाएपछि अर्कैसँग हिडिदिन्छे’–सुवेदी हाक्काहाक्की भन्छिन्–‘विदेश नगएपनि हुन्छ । छोराछोरीले न राम्रो शिक्षादिक्षा पाउछन्, न अभिभावकको माया ममता नै पाएको छ । श्रीमान् नहुदा विकृति मौलाउदै गएको छ ।’ महिला सेलमा आर्थिक बर्ष ०७०÷०७१ मा महिला तथा बालबालिका हराएको  एक सय २५ उजुरी दर्ता छन् । ती मध्ये ८४ जना महिला हराएको उजुरी हो भने ६९ जना महिला विवाहित हुन् । हराउको भनिएका ती सबै विवाहित महिलाको श्रीमान् श्रीमान् वैदेशिक रोजगारमा गएका थिए । उनीहरु परपुरुषसँग विवाह गरेर गएको प्रहरीले जनाएको छ । ‘कतिपय श्रीमान्ले बच्चाको भविष्यको लागि भन्दै घर फर्काउछन्, तर पछि छोडेर गइहाल्छे । घपबार बिग्रन्छ, त्यो भन्दा ठुलो छोराछोरीको भविष्य ब्रिगिरहेको हुन्छ, यसतर्फ कसैले ध्यान दिएको छैन’–सुवेदीले भनिन् ।
महिला दबाब समुहकी सचिव तथा महिला सञ्जालकी कोषाध्यक्ष शिला बज्रचार्यका अनुसार हिजोआज पीडित श्रीमान्हरु पनि सम्पर्कमा आउन थालेका छन् । घरेलु हिंसाको घटनामा बुझ्दै जादा कतिपयको श्रीमान् विदेशमा रहदा श्रीमतिले पैसा उडाइदिएको कारण घरझगडा भएको घटना पनि हुने उनको भनाई छ । ‘सधै महिला पीडित हुन्छन् भन्ने हुदैन, हिजोआज पीडित श्रीमान्हरु पनि हामीकहा आउन थालेका छन्’–बज्रचार्य भन्छिन्–‘सबैको त्यस्तो हुन्छ भन्ने होइन तर पैसा कमाउन विदेश गएकाहरुको अधिकांश श्रीमतिमा विकृति बढ्दै गएको छ । श्रीमतिले पैसाको सदुपयोग गरिदिदैन, त्यही कारणले घरझगडा हुन्छ र घरेलु हिंसा भयो भन्दै हामीकहा आइपुगेको घटना पनि छन् ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे