गोर्खा स्मृति पार्कको गुरुयोजना बन्दै
धरान । विष्णुपादुका ६, मछामारा डाँडामा निर्माणाधिन अवस्थामा रहेको ब्रिटिश गोर्खा स्मृति पार्कको गुरुयोजना बनाउन थालिएको छ । करिब सात बर्ष अघि नै पार्क दर्ता भएर केही संचरनाहरु निर्माण गरिएपनि व्यवस्थितरुपमा विकास गर्न भर्खरै मात्र गुरुयोजनाको काम अघि बढेको हो ।
पार्क निर्माण समितिका अनुसार काठमाण्डौंस्थित रोयल अर्किटेकलाई गुरुयोजना बनाउने जिम्मा दिइएको छ । गुरुयोजनाको प्रारम्भिक चरणको काम भइरहेको कम्पनीले जनाएको छ । गुरुयोजना बन्दै गरेपनि त्यसअन्र्तगतको ब्रिटिश गोर्खा स्मारक र रेष्टुरेष्टको संरचना भने बनाउन शुरु गर्ने पार्क निर्माण समितिको भनाई छ । त्यसको लागि बिहिबार रोयल आर्किटेकका प्राविधिकद्धय लुसान बराल र सुदेशकुमार राईले निर्माणस्थलको स्थलगत अध्ययन गरेका छन् । ‘मास्टरप्लानको काम हुदैगर्छ, स्मारक र रेष्टुरेष्टको नक्सा बनिसकेको छ, त्यसको निर्माण शुरु भइहाल्छ’–प्राविधिक बरालले भने । उनका अनुसार एक महिनादेखि गुरुयोजना(मास्टरप्लान)को काम भइरहेको छ ।
विश्वका विभिन्न मुलुकमा वीरगति प्राप्त गरेका ब्रिटिश गोर्खाली सेनाको इतिहास र पहिचानलाई स्थापित गर्ने उद्देश्यले बिगेसो सुनसरीले यहाँ गोर्खा स्मृति पार्कको अवधारणा अघि सारेको हो । यसको लागि धरानबाट ९ किलोमिरट उत्तरपश्चिमको मछामारा डाडामा करिब १२ बिघा क्षेत्रफल जमिन खरीद गरेर ०६४ सालमा पार्क दर्ता गरिएको थियो । यहाँ स्मारक, चमेना गृह, भ्यु टावर, सेमिनार हल, आवास गृह, संग्रहालय, पुस्तकालय, पौडी पोखरी, बाल उद्यानलगायत विभिन्न संरचनाहरु निर्माण गर्ने योजना छ । ‘गुरुयोजनामा कुन स्थानमा कुन संरचना बनाउन उपयुक्त हुन्छ भनेर स्थलगत अध्ययनको काम भइरहेको हो’–पार्क निर्माण समितिका सल्लाहकार एवं बिगेसो सुनसरीका अध्यक्ष गजेन्द्र इस्पोले भने–‘गोर्खालीहरुले संसारको धेरै ठाउँमा वीरगति प्राप्त गरे, वलिदानी दिए । त्यसको लेखाजोखा नेपालमा भएन, त्यसैले हाम्रो पूर्खाहरुको इतिहासलाई उत्खनन गर्न र पहिचान स्थापित गर्न पार्कको अवधारणा बनेको हो ।’
गुरुयोजनाअन्र्तगको स्मारकको बेस भि.सि.को मेडलको सेपमा तयार हुनेछ भने स्मारकको बेसमा पनि गोर्खाली सेनाको पहिचान झल्किने पुर्ण कदको मुर्ति राखिनेछ । स्मारककोरुपमा आयो गोर्खाली भन्ने भावको लाहुरे पोशाकमा खुकुरी बोकेको मुर्ति राखिनेछ । यस्तै, त्यहाँ पूर्वजहरुको विभिन्न देशमा रहेको समाधिबाट माटो ल्याएर राखिने पार्कका परिकल्पनाकार रमेश राईले बताए । ‘विभिन्न देशमा लडेर हाम्रा पूर्वजहरुले शाहदात प्राप्त गर्नुभएको छ, र त्यहाँ समाधि पनि छ । ती सबै ठाउँको समाधिबाट माटो ल्याएर स्मारकको जगमा राख्छौं र यो ठाउँलाई ब्रिटिश गोर्खाको पुष्य भुमिकोरुपमा विकास गछौं’–उनले भने–‘अहिलेसम्म जर्मनी, फ्रान्स, मलेसिया, सिंगापुर र हङकङबाट माटो ल्याइसकेका छौं ।’ उनका अनुसार विश्वका एक सय ५० राष्ट्रमा पहिलो र दोस्रो विश्वयुद्धताका ज्यान गुमाएका गोर्खाली पूर्वजहरुको समाधि छ ।
पार्कमा अहिलेसम्म ३ वटा पिकनिक स्पटसहित कटेज बनिसकेको छ भने भ्यु प्वाइन्टमा चौतारा पनि निर्माण भएको छ । जहाँबाट धरानको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । हालसम्म करिब ६० लाख रुपैया लगानी भइसकेको पार्क निर्माण समितिका अध्यक्ष दानबहादुर राईले जानकारी दिए । उनका अनुसार पार्क निर्माणको लागि भूपू ब्रिटिश गोर्खा र हाल सेवारत ब्रिटिश गोर्खा र तिनका परिवारको आर्थिक सहयोगबाट निर्माण कार्य पुरा गर्ने लक्ष्य राखिएको छ । पार्कको गुरुयोजना तयारीको चरणमा रहेकोले पुर्ण लागत अनुमान भने आउन सकेको छैन ।
पार्क बनेपछि ब्रिटिश गोर्खा सैनिक र तिनका परिवारको लागि पवित्रस्थल बनेसँगै यो ठाउँ पर्यटकीय केन्द्रकोरुपमा पनि विकास हुने निर्माणकर्ताहरुले आशा गरेका छन् । पार्कअन्र्तगत भि.सि. गाउँको कल्पना छ, जहाँ १३ जना भिसिको नाउमा फुसको छानो भएको परम्परागत १३ वटा घर बन्नेछ । पर्यटकहरुलाई आर्कषित गर्न संग्रहालय, पुस्तकालय, आफै पकाएर खाने र बस्ने व्यवस्था पनि हुनेछ । सेमिनार हलले विभिन्न सेमिनार, गोष्ठी गर्न आर्कषित गर्नेछ भने भ्यु टावरबाट धरानसँगै तराईको फाँट, सप्तकोशी र सुर्यस्त हेर्न आकर्षित हुने अपेक्षा छ । ‘धरानबाट यहाँसम्म पदयात्रा गर्न पनि एकदम उपयुक्त हुन्छ । एक रात यहाँ बसेर कोका नदी तर्दै छु माला डाँडा, कन्ये डाँडा हुदै भेडेटार निस्कने उपयुक्त पदमार्ग छ’–परिकल्पनाकार राई भन्छन् ।
Comments
Post a Comment