धरानमा सेउती र सर्दु भन्दा खहरेको त्रास


धरान । मुलुकको विभिन्न स्थानमा भारी बर्षासँगै खोलामा आएको बाढी र कटानले ठुलो धनजनको क्षति भइरहदा पूर्वको नुमना शहर धरानलाई भने खहरे खोलामा आउने ‘आकस्मिक बाढी’ले पिरोलेको छ । अरु समयमा एक थोपा पानी पनि नदेखिने नगर क्षेत्रभित्रको खहरेले बर्षायाम शुरु भएपछि भने आफ्नो रौद्ररुप देखाउछ ।
धरानभित्र तीन ठुला खहरे खोला छन् भने सहायक(साना) खहरे थुप्रै छन् । यी खहरेको दुवै किनारमा सयौं घर सुकुम्बासी वस्ती छ । बर्षायाममा घरजग्गा कटान गरेर बगाउछ भने थुप्रै वस्ती कटानको जोखिममा छ । खहरेले किनारको सुकुम्बासी वस्तीलाई मात्रै होइन, नम्बरी घरजग्गा, सडक र पुलजस्ता भौतिक संरचनालाई पनि क्षति पुर्याइरहेको छ । सुकुम्बासी समुदाय बर्षायाममा जहिल्यै त्रसित भएर बाँच्न विवश छन् ।
सरोकारवालाहरु भने जलवायु परिवर्तनसँगै खहरेमाथिको मानवीय अतिक्रमणले गर्दा यस्तो कहर खप्नुपरेको बताउछन् । धरानमा खहरे किनारमा पच्चिस सय भन्दा बढी घरधुरी भएको अनुमान छ । ‘महिना दिनमा पर्नुपर्ने पानी एकैदिनमा पर्न थालेको छ, यस्तो फ्ल्यास फ्ल्ड(आकस्मिक बाढी) आइदिदा खहरेको आकारले थाम्दैन’–नगरपालिकाका योजना शाखा प्रमुख एवं इञ्जिनियर सुरज श्रेष्ठ भन्छन्–‘खहरेमा सधै पानी भइदिए त स्वर्गै हुन्थ्यो, तर एक पटक आउछ, डाङडुङ बनाएर जान्छ ।’

इञ्जिनियर श्रेष्ठका अनुसार खहरे खोलालाई नियन्त्रण गर्नु र क्षति हुन नदिनु दुई ठुला नदी सर्दु र सेउतीको भन्दा ठुलो समस्या बन्दै गइरहेको छ । अतिक्रमणले साँघुरिदै गएको खहरे बर्षायाम गरिरिदै गएकोले पनि यो थप चुनौतीकोरुपमा देखा परेको छ । सबै भन्दा विकरालरुप धरान १४ स्थित निराजन बस्तीबाट शुरु भएर बनेको तीन ढ्वाङ्गे खहरेले देखाउछ । एक दशकअघि मान्छेले सहजै तर्न सक्ने यो खहरे अहिले सभागृह क्षेत्रमा भने तीन बास जति गहिरो बनिसकेको छ । यस्तै, धरान १३ बाट शुरु भएको अर्को खहरेले धरानलाई बीचबाट चिरा पारेको छ । ‘समयमै नियन्त्रण, संरक्षण र उचित निकासको उपाय नपनाउने हो भने पछि खहरेलाई रोक्न,बाध्न सकिदैन’–इञ्जिनियर श्रेष्ठ भन्छन् ।
सुकुम्बासीहरुको संस्था नेपाल बसोबास बस्ती संरक्षण समाजका नगर सचिव सुवास राईका अनुसार धरानको खहरे र सहायक खहरेमा रहेका वस्ती मध्ये ८० प्रतिशत घर कटानको जोखिममा छन् । नगरपालिकाको चासो ठुला नदी सेउती र सर्दु खोलामा मात्रै भएको उनले गुनासो पोखे । ‘धरान खहरे र सहायक क्षेत्रमा २५ सय घरधुरी छन्, ती मध्ये १३ सय जति अति जोखिम अवस्थामा छन् । खरहेको जोखिम नियन्त्रण र व्यवस्थित गर्न नगरपालिकासँग बिषेश बजेट छुट्याउन माग गरेपनि सुनुवाई भएकै छैन’–उनले थपे–‘सुकुम्बासीको घरजग्गा बगायो भने न कसैले चासो दिन्छ, न त राहत नै पाउछन् ।’
उनका अनुसार चार दिनदेखि परेको बर्षासँगै आएको तीन ढ्वाङ्गेको बाढीले अरुण टोलमा ३ घर बगाईसकेको छ भने गुम्बा मार्गमा सुकुम्बासीले निर्माण गरेको करिब ४ लाख रुपैयाको वाल पनि क्षति पुर्याएको छ । खहरे किनारको दुर्गापथ, वरुण टोललाई जोगाउन वाल निर्माण गर्न नसकिने भएकोले करिब ६० घरजतिलाई स्थानान्तरण गर्नैपर्ने उनले बताए । ‘सुकुम्बासी हुन् भनेर राज्यले वास्तै गदैनन्, तर यी खहरे खोलाले सुकुम्बासीलाई मात्रै होइन, नम्बरी घरजग्गा र राज्यको लगानीमा बनेको पुल, बाटोलाई पनि बगाएको छ । त्यसैले नियन्त्रणमा बिशेष पहल र बजेट हुनुपर्छ’–उनले भने ।

                                   ग्रिनजोनको अवधारणा


नगरपालिकाका अनुसार अहिले बर्षेनी २० देखि २५ लाख रुपैया खहरेको बाढी नियन्त्रणमा खर्च भइरहेको छ । जहाँ समस्या आयो, त्यहाँ लगानी गर्ने कार्यले खहरे बाढीको प्रकोप दिर्घकालीनरुपमा हल हुनसकेको छैन भने लगानी पनि खेर गइरहेको छ । खहरेले क्षति पुर्याएको संरचना एवं क्षेत्रमा लगानी गरेर बनाएको संरचनालाई पुनः अर्को बर्षातमा क्षति पुर्याइदिइहाल्छ । ‘यो ज्यादै न्युन बजेट हो, खहरेलाई नियन्त्रण गर्न योजनावद्धरुपमा काम गर्नुपर्छ । खहरेको उद्गमस्थलबाट नै बाध्दै बाध्दै गएमा उचित निकास हुन्छ’–इञ्जिनियर श्रेष्ठलले भने–‘अहिले नगरपालिकाले ग्रिनजोनको अवधारणा ल्याएका छौं, र यो बर्ष परिषदबाट पारित पनि भइसकेको छ ।’
नगरपालिकाका अनुसार ग्रिनजोन अवधारणा भनेको खहरेलाई उद्गमस्थलबाट वाल उठाएर बाध्ने र खहरे किनारमा साना सवारी मात्रै चल्ने सडक बनाउने हो । खहरेलाई बाधेपछि दुवै किनारमा १० फिट बाटो निर्माण गरिनेछ । आवश्यक ठाउँमा रुखविरुवा पनि लगाइनेछ । यसले दुर्गन्धित पनि बनाउदैन, खहरे नियन्त्रण हुन्छ र वैकिल्पक बाटो पनि बन्छ । जहाँ मानिसहरुले मर्निङ वा इभिनिङ वाक गर्न सक्ने नगरपालिकाको अवधारणा हो । ‘बजेटको समस्या हुदैन, तर राजनीतिक दल र सकुम्बासीहरुसँग वृहत छलफल आवश्यक छ, यो उहाँहरुकै सुरक्षाको लागि हो । वातावरण पनि सुध्रिन्छ र सुरक्षा पनि हुन्छ’–इञ्जिनियर श्रेष्ठले भने ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे