काठमाण्डौंमा लुटेको सुन खरीद गरेको भन्दै धरानमा छापा


धरान । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरीको योजनामा राजधानीमा लुटिएको सुन खरीद गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले धरानका एक सुन व्यापारीको घरमा छापा मारेको छ । ब्युरोबाट आएका प्रहरी निरीक्षक अर्जुन केसी र पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डिएसपी राजकुमार वैदावरसहितको टोलीले बुधबार धरान २, गीतामन्दिरस्थित सुन व्यापारी गुलजारी लाल अग्रवालको घरमा छापा मारेको हो । उनको घरमा नै पसल पनि सञ्चालनमा थियो । अग्रवाल धरानका पुराना सुन व्यापारीमा गनिन्छन् । उनका छोरा राजेश अग्रवाल सुनसरी सुनचाँदी व्यावसायी संघका सचिव छन् ।


घर खोजतलासको क्रममा प्रहरीले ५० ग्राम काचो सुनको लकेट र ९७ ग्राम सुनको गहना वरामद गरेको जनाएको छ । प्रहरीले छापा मार्दै गर्दा उद्योगी व्यावसायीहरुले विरोध जनाएपछि एक घण्टा ढिलाई भएको थियो । प्रहरीका अनुसार अपराध महाशाखाका प्रहरी नायव निरीक्षक विजयप्रताप शाहको योजनामा विशाल बजारका व्यापारी सञ्जय पाण्डेको लुटिएको ५ किलो सुनमध्ये केही यहाँ बिक्री भएको अनुसन्धानबाट खुलेपछि छापा मारिएको हो ।
जेठ २१ गते बेलुकी पाण्डेको एक किलो दरको ५ वटा सुन लुटिएको थियो । सो घटनामा पक्राउ परेका भिमसेन श्रेष्ठले लुटिएको मध्ये ३ किलो सुन धरानका व्यापारी अग्रवाललाई बिक्री गरेको खुलेको प्रहरीले जनाएको छ । ‘घटनामा पक्राउ परेकाहरुबाट केही सुन यहाँ आएको भन्ने खुलेकोले सिआइबीको टोली अनुसन्धानको सिलसिलामा आएको हो’–क्षेत्रीय प्रहरी कार्यालयका डिएसपी वैदावारले भने–‘प्रारम्भिक चरणको अनुसन्धानको क्रममा छौं ।’ प्रहरी स्रोतका अनुसार लुटिएको सुन खरीद गर्ने व्यापारीबाट एक करोड रुपैया पठाएको प्रमाण पनि फेला परिसकेको छ ।
व्यावसायी अग्रवालका छोरा एवं सुनचादी व्यावसायी संघका सचिव राजेश अग्रवालले भने आफुहरु व्यापारी भएकोले जो कोहीसँग सुन खरीद गर्न सक्ने भन्दै प्रहरीले उद्देश्य प्रष्ट नगरी छापा मारेकोमा असन्तुष्टी जनाए । ‘हामी व्यापारी हौं, यहाँ ल्याएको सुन किन्छौं  । चोरीको हो होइन थाह भएन । चोरले जे भन्यो प्रहरीले त्यसैमा विश्वास गर्ने कि राम्रो बुझेर आउने ?’–उनले भने । छापा मार्न प्रहरी पुगेपछि सुनचादी व्यावासी संघ र सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारीहरुले प्रहरीले खानतलासी गर्न आउदा पुर्जीमा के कारणले र उद्देश्यको लागि आएको प्रष्ट उल्लेख नगरेको भन्दै विरोध जनाए पनि विवाद भएको थियो ।


‘प्रहरीले मुलुक ऐनको दफा मात्रै लेखेको पत्र छ, त्यो दफाअनुसार के उद्देश्यको लागि खोजतलास गर्नुपर्ने हो प्रष्ट नै भएन, त्यसैले प्रष्ट लेखेर आउनुस्, सहयोग गछौं भनेका हौं’–सुनसरी उवा संघका अध्यक्ष सरोज श्रेष्ठले भने–‘हात हतियार, खरखजना वा २ नम्बरी सुन के को लागि खानतलास हो प्रष्ट भएन ।’ इलाका प्रहरी कार्यालय धरानले मुलुकी ऐनको दफा १७२ मा उल्लेख भएको व्यावस्था पनि प्रष्ट लेखेर पत्र थमाएपछि मात्रै स्थिति सामान्य भएको थियो । यसअघि एक साता अघि पनि धरान ४ स्थित एक घरबाट प्रहरीले सुनचादीको गहना र ५२ लाख रुपैया वरामद गरेको थियो । उक्त गहना र नगद सुनसरी सुनचादी व्यावसायी संघका अध्यक्ष सुनिल अग्रवालको भएको खुलेपनि उनी उपचारको लागि भारत गएकोले ती गहना र नगदको वैद्यता अझै प्रष्ट भएको छैन ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे