रेल्वे चोक व्यवस्थित गर्ने योजना विवादमा

धरान । कोशी प्रोजेक्टको जग्गामा बसेको धरान १७ स्थित रेल्वे चोकलाई व्यवस्थित गर्न नगरपालिकाले गरेको प्रयास विवादमा फसेको छ । चोक विस्तार पहल समितिले सबैसँग छलफल नै नगरी एकतर्फीरुपमा काम गरेको भन्दै स्थानीयले नै विरोध जनाएका छन् ।
पहल समितिको कार्यशैलीसँग असन्तुष्ट स्थानीयले नगरपालिकामा डेलिगेशन गएर चोक व्यावस्थापनबारे सबैसँग छलफल एवं सार्वजनिक सुनुवाई गर्नसमेत माग गरिसकेका छन् । असन्तुष्ट स्थानीयका अनुसार पहल समितिका संयोजक राजेन्द्र खड्काले चोकदेखि पूर्वपट्टि आफ्नो घरपसल जोगाएर थोरै भाग मात्रै भत्काएको आरोप छ । तर, पश्चिमतर्फ भने बाटोमा नपर्ने घरमा पनि पत्र पठाएर भत्काउन उर्दी दिएको उनीहरुको भनाई छ । ‘हाम्रो घर धरान चतरा सडकदेखि भित्र सहायक बाटोतर्फ छ, तर हामीलाई पनि अल्टिमेटम दिदै पत्र आएको छ’–स्थानीय पदमा राईले भनिन् ।

धरान–चतरा सडक खण्डमा पर्ने रेल्वे चोकमा अतिक्रमणको कारण सडक पनि साँघुरिए पछि स्थानीयकै आग्रहमा नगरपालिकाले समिति गठन गरेर व्यावस्थापनको काम शुरु गरेको थियो । रेल्वे चोक धरानको भानुचोक पछिको ठुलो एवं ब्यस्त चोक मानिन्छ । कोशी प्रोजेक्ट चालु अवस्थमा रहदा धरानको फुस्रेबाट ढुंगा लैजान भारतले यहाँ रेल सेवा सञ्चालन गरेको थियो । पछि बस्ती बसेपछि यो ठाउँको नाम पनि रेल्वे रहन गएको हो । प्रोजेक्टको जग्गा अतिक्रमण गरि सयौं घर बसेका छन् । आफुहरु चोक विस्तार र व्यवस्थित गर्न तयार रहेपनि कसैलाई उठाउने र कसैलाई जोगाउन नहुने स्थानीयको माग छ । ‘हामी पनि ठाउँ छोड्न तयार छौं, तर अर्कोतिर पनि त्यसरी नै उठाउनुपर्छ’–नाम उल्लेख नगर्न आग्रह गर्दै एक स्थानीयले भने । रेल्वे चोक आसपासमा सडकतर्फ अतिक्रमण गरि थुप्रै पसल खुलेका छन् ।
स्थानीयले चोक व्यवस्थित गर्दा पञ्चकन्या माविको जग्गा अतिक्रमण गरि बनाएको घरटहरा पनि भत्काउनुपर्ने माग गरेका छन् । अहिले विद्यालयको जग्गामा घरटहरा बनाएर व्यक्तिले लाखौं कमाइ गरीरहेको तर विद्यालय व्यवस्थापनले केही नसकेको उनीहरुको आरोप छ । ‘स्कुलको जग्गा हो, त्यहाँ घर पसल बनाएका छन्, स्कुललाई आम्दानी नै छैन’–पूर्व वडाअध्यक्ष पर्शुराम रोक्काले भने–‘कहाँसम्म भत्काउने, भत्काएपछि कसरी व्यवस्थित गर्ने, योजना कस्तो छ भनेर छलफल नै छैन । सिमिति व्यक्ति बस्छन्, र निर्णय गर्छन् ।’ यसअघि पनि २ पटक चोक व्यवस्थित गर्ने प्रयास गरिएको थियो । त्यतिबेला अहिलेको समितिका संयोजक खड्काले नै अवरोध पुर्याएको असन्तुष्ट स्थानीयको आरोप छ ।

पहल समितिका संयोजक खड्का भने आफ्नो घरतर्फ नगरपालिकाले तोकेको मापदण्डअनुसार नै आफुहरुले ३० फिट छोडेर भौतिक संरचना भत्काएको बताए । पश्चिमतर्फको घरपसलबारे समितिले निर्णय र पत्रचार नगरेको दाबी गर्दै उनले त्यसतर्फ नगरपालिकाको क्षेत्रधिकार भएको बताए । विद्यालय र आफ्नो घरजग्गा सबै कोशी प्रोजेक्टको भएको स्वीकार गर्दै उनले स्कुल स्थापनासँगै आफु पनि बसेकोले पुरै घर भत्काउन नसक्ने बताए । ‘यो स्कुल र हाम्रो घर सबै कोशी प्रोजक्टकै जग्गामा हो, मापदण्डअनुसारको ठाउँ छोडिदिएकै छौं । सबै घर भत्काउनुपर्छ भन्ने हो भने मान्दैनौं’–खड्काले भने । वडा सचिव प्रेम उप्रेतीले रेल्वेबासीकै आग्रहमा नगरपालिकाले चोक व्यविस्थत गर्न शुरु गरेको भन्दै नापजाँच गरेर नै भत्काउन शुरु गरिएको बताए । सडक किनारको ड्रेनसमेत अतिक्रमण गरेर पसल राखिएकोले नगरपालिकाले ती पसललाई ड्रेनबाहिर राख्न मात्रै पत्रचार गरिएको उनले प्रष्ट्याए । ‘व्यवसाय गर्न नदिने होइन, ड्रेन अतिक्रमण भएको पसललाई भत्काएर सार्नुस मात्रै भनिएको हो’–उनले भने । निमित्त कार्यकारी अधिकृत एवं कर शाखा प्रमुख खगेन्द्रप्रसाद खतिवडाले पनि स्थानीयसँग छलफल गरेर नै समस्या समाधान गर्ने बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे