उदाहरणीय किसान बन्दै भूपू लाहुरे


धरान । कमाण्डरको आदेश मान्नु र बन्दुक खेलाउनु पल्टने जीवनको दिनचर्या हुन्छ । धरान ८ का ६० बर्षीय पुष्यबहादुर राईले पनि १९ बर्ष ब्रिटिश आर्मीमा बिताउदाका दिनहरु यो भन्दा फरक थिएन । बेलायती सेनाबाट अवकाश लिएपछि उनी ब्रनईमा थप १२ बर्ष नोकरी गर्न गए भने थप ३ महिना अफ्गानिस्तान र अफ्रिकामा पनि २ बर्ष बिताए ।
जीवनको अधिकांश युवा र उर्बर समय विदेशमा बिताएका उनै भूपू लाहुरे हिजोआज भने आफ्नै देशको पाखो बारी एवं भित्तोलाई खोस्रैदैछन् । धरानबाट करिब ५ किलोमिटर पश्चिमउत्तरको विष्णुपादुका ६ स्थित माछामारा डाँडामा एघार कट्ठा जमिन लिएर उनी व्यावसायिकरुपमा कृर्षि र पशुपालनमा ब्यस्त छन् । विदेशमा रहदा आफुले प्रत्यक्ष देखेको र सिकेको सिपलाई बुढेसकालमा आफ्नै देशमा सदुपयोग गर्दैछन् । ‘धेरै बर्ष विदेशमा राइफल खेलायौं, अब आफनै ठाउँमा गरिखादा के हुन्छ ? भनेर शुरु गरेको हुँ’–गर्विलो स्वरमा उनी भन्छन् । उनी अवकाश लिएर आउदा कादुरी फाउण्डेशनबाट कृर्षिसम्बन्धि तालिम लिएर फर्किएका थिए ।

अवकाश प्राप्त भूपू ब्रिटिश लाहुरेलाई आफ्नो ओहोदा अनुसारको राम्रो पेन्सन आउछ । अझ बेलायत सरकारले आवासिय भिषा दिएपछि त परिवारसहित बेलायत जाने ढोका पनि खुल्ला छ । आफ्नो पल्टने दौतरीहरु बेलायत छिरिसके, तर पनि पुष्य भने त्यो अवसर लत्याएर आफ्नै देशको डाँडा पाखामा रमाएका छन् ।
उनले ०६५ सालदेखि आफैले घरमा वंगुर पाल्न शुरु गरेका थिए । त्यसको एक बर्षपछि माछामारा डाँडामा किनेको एघार कट्ठा जमिनमा बंगुरपालन शुरु गरे । त्यहाँ उनले दुई सय बोट रुद्राक्ष, ४ सय बोट तेजपात, ७ सय ५० कागती र ६ हजार बोट चिया रोपेर खेती शुरु गरेका छन् । यस्तै, एक सय वटा कफीको बोट, ३ सय झ्याङ्ग केरा, २ सय श्रीखण्ड पनि छ । शुरुमा पाँच जना मिलेर शुरु गर्ने योजना बनेपछि अरु साथी पछि हटेपनि उनी एक्लैले अहिलेसम्म त्यहाँ ५० लाख लगानी गरिसकेका छन् । ‘कति दिन अर्काको देशमा नोकरी गर्नु ? जे गर्छु आफ्नै देशमा गर्छु भनेर पशुपालन र कृर्षिको काम शुरु गरेको थिएँ’–उनी भन्छन्–‘लाहुरेहरु पेन्सन थाप्छन्, वियर पिएरै पैसा उडाउछन् भन्ने अरुले सोच्छन्, तर त्यस्तो होइन, हामी मेहनती छौं, आफ्नै देशमा पनि गरिखान्छौं भनेर देखाउनु पनि छ ।’ उनी हरेक दिन धरानबाट यहाँ आउछन् । एक परिवारलाई हेरालु राखेर रोजगारी पनि दिएका छन् ।

उनको यो एकल प्रयासले अब भने संस्थागत स्वरुप लिदैछ । करिब तिन दर्जन बढी भूपू लाहुरे र अन्यको पनि साथ लिएर आफ्नै जग्गा नजिकैको डाँडा लिजमा लिएर किरातेश्वर कृर्षि शहकारी शुरु गरेका छन् । हाल दर्ता प्रक्रियामा रहेको यो शहकारीले विशुद्ध कृर्षि उत्पादन र प्रर्वद्धनको काम गर्ने लगानीकर्ताहरु भूपू लाहुरेहरुको भनाई छ । ‘यत्रो बर्ष एक्लै काम गरिरहको थिएँ, अब भने थुप्रै मिलेर कृर्षि शहकारी बनाएर सामुहिक काम थालेका छौं’–तदर्थ समितिका अध्यक्षसमेत रहेका राईले भने ।  उनलाई साथ दिनेमध्ये एक हुन् धरान १० का ५६ बर्षीय गुमबहादुर राई । उनी पनि ०४९ सालमा रिटायर्ड भएपछि युगोस्लाभिया र इराकमा थप नोकरी गर्न गए । अहिले भने यही कृर्षि शहकारीमा लगानी गरेर समय कृर्षि कार्यमा नै बिताउदैछन् । शहकारीको उपाध्यक्ष जिम्मेवारी सम्हालेका उनी लाहुरेहरु बसेर मात्रै खान्छन् भन्ने धारणालाई तोड्न चाहेको बताउछन् । उनलाई जस्तै धरान ८ का बलबहादुर राई पनि आवासिया भिषामा बेलायत जान छैन । ‘जे गर्ने हो अब आफ्नै देशमा गर्ने । बरु पछि युके घुम्न जाउला नि’–उनी भन्छन् ।


यो शहकारीमा हालसम्म ५२ जना सेयर सदस्य छन् । ती मध्ये ४० जना त भूपू गोर्खा लाहुरे छन् । सेयर वापत हालसम्म १५ लाख ६५ हजार रुपैया संकलन भएको र विभिन्न पशु, बोटविरुवा खरीद गर्दा ९ लाख ३ हजार २ सय १६ रुपैया खर्च भइसकेको कोषाध्यक्ष सुर्यधन राईले जानकारी दिए । शहकारीले ८ बिघा जमिन १० बर्षको लागि लिजमा लिएको छ । यहाँ उनीहरुले उन्नत जातको बाख्रा र वंगुरपालन शुरु गरिसकेका छन् भने विभिन्न बोटविरुवा पनि रोपेका छन् । शहकारीका अनुसार अहिले ११ वटा वंगुर छ भने १० वटा थप्ने तयारी छ । बाख्रा ३९ वटा किनेकोमा अहिले ४६ वटा पुगेको छ । यस्तै, २ हजार किलो हर्दी(बेसार) रोपेको छ भने ५ सय ५० बोट कागती रोपिएको शहकारीले जनाएको छ । फल्न शुरु गरिसकेको कागती बोट बढाएर एक हजार बोट पुर्याउने लक्ष्य छ । अहिले ६ जनाले रोजगारी पनि पाइसकेका छन् ।
‘अम्लिसोको एक हजार विरुवा रोपिसक्यौं, आप र लिचिको बोट पनि छ । मसला, टिक र खयर रोप्नको लागि ५० हजार विरुवा स्टक राखिसकेका छौं’–अध्यक्ष राई भन्छन्–‘आउदो बर्ष आफै विरुवा उत्पादन गछौं र किसानलाई सहुलियतमा बिक्री गछौं । वंगुर, बाखा्र पनि किसानलाई सहुलियतमा दिन्छौं ।’ उनका अनुसार अझै ४३ कट्ठा लिजमा लिएर १५ देखि ४० बिघा क्षेत्रफलमा बेसार खेती लगाउने योजना छ । यस्तै, भविष्यमा माछापालन गरेर सिकाई(अध्ययन)स्थलको केन्द्र बनाउने लक्ष्य राखिएको अध्यक्ष राईको भनाई छ । ‘माछाको लागि धेरै खर्च पनि हुदैन । थोरै जमिन र पानीको स्रोत भए पुग्छ । अरुले हेरेर सिक्न सक्छन् र आम्दानी पनि राम्रो हुन्छ’–उनले थपे ।
ब्रिटिश–गोर्खा भूपू सैनिक संघ सुनसरीका अध्यक्ष गजेन्द्र इस्पोले भूपू लाहुरेहरुको नेतृत्व र लगानीमा व्यावसायिक कृर्षि र पशुपालन शुरु गरिनु प्रसंसनीय कार्य भएको प्रतिक्रिया दिए । ‘लाहुरेहरु आफ्नो देशको लागि केही गर्दैनन्, विदेशमा मात्रै दुःख गर्छन् भन्ने सोचाई छ, तर उहाँहरुको प्रयासले हामीप्रतिको यो धारणालाई परिवर्तन ल्याउन मद्दत पुर्याउछ’–उनले भने ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे