धरानलाई माउण्टेन बाइकको शहर घोषणा गरिने


धरान । धरानलाई वातावरणमैत्री नगर बनाउन माउण्टेन बाइकको शहर घोषणा गर्ने नगरपालिकाले जनाएको छ । साइकल सिटि अभियानअन्र्तगतको क्रिटिकल मास राइड र प्लाष्टिक झोला उन्मुलन अभियानको एक बर्ष पुरा भएको अवसरमा शुक्रबार आयोजित एक कार्यक्रममा कार्यकारी अधिकृत भोजराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
भानुचौकमा आयोजित समारोहमा बोल्दै कार्यकारी अधिकृत खतिवडाले प्रदुषणरहित नगर बनाउने हरेक गतिविधि एवं अभियानलाई प्रोत्साहनको नीति अवलम्बन गरिने पनि बताए । प्रदुषणरहित एवं वातावरणमैत्री शहरको लागि साइक्लिङको महत्वपुर्ण भुमिका हुने भएकोले साइकल सिटि अभियान नगरपालिकाको बिशेष प्राथमिकतामा रहने पनि उनले घोषणा गरे । ‘वातावरणमा प्रदुषण घटाउन साइकलको भुमिका महत्वपुर्ण छ, त्यसैले वातावरणमैत्री नगर बनाउन यस्ता अभियानलाई प्रोत्साहन गर्नेछौं’–अधिकृत खतिवडाले भने–‘अभियन्ताहरुको मनोवल उच्च बनाउन र प्रोत्साहन गर्न धरानलाई माउण्टेन बाइकको शहर बनाउने घोषणा पनि गछौं ।’

प्लाष्टिक झोला उन्मुलन अभियानका संयोजक केशव श्रेष्ठले प्लाष्टिक झोलाले वातावरण र स्वास्थ्यलाई हानि पुर्याउने भएकोले नगरबासी आफै सचेत रहनुपर्ने बताए । प्लाष्टिक झोलाबारे सचेतना र अनुगमन भइरहेको उल्लेख गर्दै उनले साइक्लिङको माध्यमबाट पनि स्वास्थ्य र वातावरण जोगाउन सकिने भएकोले एक साथ अभियान चलाउनुपर्ने धारणा राखे । धरान साइकल सिटिका संयोजकसमेत रहेका ग्रिनह्विल्स धरानका प्रमुख हेम लिम्बूले आफुहरुको अभियान पनि धरानको वातावरण जोगाउनु रहेको प्रष्ट्याए । ‘हाम्रो अभियान पनि वातावरण जोगाउनकै लागि हो, साइकल प्रयोग गर्ने बानी भयो भने पेट्रोलियम पदार्थको खपत कम हुन्छ, त्यसले हाम्रो रकम बाहिरिनबाट जोगिन्छ भने वातावरणलाई पनि प्रदुषण बनाउदैन’–उनले भने ।


विश्वभर प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रबार साइक्लिष्टहरुले क्रिटिकल मास राइड गर्छन् । यसको उद्देश्य कुनै पनि पवित्र कामको लागि सांकेतिकरुपमा दबाब दिने अभियान हो । यहाँका साइक्लिष्टहरुले वातावरण जोगाउन साइकल सिटि बनाउने अभियानस्वरुप गत बर्ष क्रिटिकल मास राइडको शुरुवात गरेका थिए । मास राइड शुरुवातको बर्ष पुगेको अवसरमार धराने युवा जमात, धरान साइकल सिटि र प्लाष्टिक झोला उन्मुलन अभियानले शुक्रबार संयुक्तरुपमा कार्यक्रम आयोजना गरेको थियो । भानुचौकमा औपचारिक कार्यक्रम सकेर करिब दुई दर्जन साइक्लिष्टहरुले क्रिटिकल मास राइडद्धारा धरान नगरको परिक्रमा पनि गरेका थिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे