सुनचाँदी व्यावसायीहरुको विरोध प्रदर्शन


धरान । सुनको सहज आपूर्ति नहुदा व्यावसाय धराशायी बन्दै गइरहेको बेला प्रहरीले एक पछि अर्को छापा मार्दै व्यावसायी पक्राउ गरेको विरोधमा यहाँका सुनचादी व्यावसायीहरुले शुक्रबार पसल बन्द गरेर विरोधमा उत्रिए ।
राज्यले व्यावसायिक सुरक्षा दिनुपर्नेमा त्रसित बनाएको भन्दै धरानका सुनचादी व्यावसायीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले शुक्रबार पसल बन्द गर्दै मोटरसाइकल र्यालीसमेत निकाले । इलका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालयमा पुगेर व्यावसायीहरुले व्यावसायिक सुरक्षा, सुनको सहज आपूर्तिलगायत माग राख्दै गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई ज्ञापन पत्र पनि बुझाए । ‘सुनको अभाव छ, सरकारलाई माग वमोजिमको सहज आपूर्ति गर्न आग्रह गर्दा कानमा तेल हालेर बस्छ, ६० बर्षअघिको ऐनले व्यावसायीलाई मर्का परेको छ’–ज्ञापन पत्र बुझाउदै नेपाल सुनचादी व्यावसायी महासंघका केन्द्रीय उपाध्यक्ष मोहनकाजी शाक्यले भने–‘बहुमुल्य बस्तुको खरीदबिक्री ऐन ल्याउन भनेपनि सुनुवाई छैन, तर सरकार जसरी हुन्छ, व्यावसायीलाई चेपुवा पार्ने काम मात्रै भइरहेको छ ।’


व्यावसायीहरुले प्रहरी कार्यालयमा धर्ना दिने र सामुहिक गिरफ्तारी दिने घोषणा गरेपनि शुक्रबार यो पूर्वनिर्धारित कार्यक्रम भने भएन । पसल बन्द गरेका व्यावसायीहरु संघको कार्यालयबाट इलाका प्रशासनसम्म र त्यहाँबाट प्रहरी कार्यालयसम्म हर्न बजाउदै मोटरसाइकल र्याली निकालेर पुगेका थिए । ज्ञापन पत्र बुझाई सकेपछि व्यावसायीहरु फर्किएका थिए । डिएसपी सञ्जयसिंह थापाले प्रहरीले व्यावसायीलाई शान्ति सुरक्षा दिनकै लागि काम गरिरहेको भन्दै त्रसित बनाउने नियतले कुनै पनि गतिविधि नगरेको दाबी गरे । ज्ञापन पत्र माथिल्लो निकायमा पठाउने भन्दै उनले व्यावसायीको मागबारे राज्यले सोच्नुपर्ने बताए ।
प्रहरीले साउन १० गते प्रहरीले धरान ४ स्थित दिपक अग्रवालको घरमा छापा मारेर ७० किलो चादीको गहना, ८० तोला सुनको गहना र नगद ५२ लाख रुपैया वरादम गरेको थियो । सो सुनचादीको गहना र नगद संघका अध्यक्ष सुनिल अग्रवालको भएको बताइएको छ । उनी हाल भारतमा उपचार गराउन गएको भनिएको छ । यस्तै, बुधबार मात्रै डकैती गरेको सुन खरीद गरेको भन्दै अर्का व्यावसायी गुलजारीलाल अग्रवालको घर(पसल)मा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले छामा मारेको थियो । उनलाई पनि प्रहरीले पक्राउ गरेर बिहिबार राजधानी लगिसकेको छ । एक पछि अर्को व्यावसायमा माछा मार्न थालेपछि व्यावसाय नै धरासायी बनेको भन्दै सुनचादी व्यावासायीहरु विरोधमा उत्रिएका हसन् । सुनसरीभरि ५ सय बढी व्यावसायीहरु छन् भने त्यही हाराहारीमा कालीगढ पनि छन् । धरानमा मात्रै सयको हाराहारीमा सुनचादी पसल भएको संघले जनाएको छ ।

कहिले अनुगमन, अनुसन्धान र कहिले चोरी,डकैतीको नाममा राज्यले व्यावसायीलाई त्रसित बनाएको व्यावसायीहरुको आरोप छ । प्रहरीले जे उद्देश्यको लागि छापा मारेको हो, त्यो नभेटेपछि जे भए पनि वरामद गरेको भन्दै लैजाने र व्यावसायी पक्राउ गर्ने गरेकोमा उनीहरुले गम्भीर आपत्ति जनाएका छन् । सुनचादी व्यावसायी संघले १९१० साल पुष ७ गते वनेको पुरानो मुलुकी ऐनले व्यवस्था गरेको चोरीको महल दफा २३, २४ र २५ ले व्यावसायमा बढी समस्या ल्याएकोले सो ऐन खारेजी गर्न पनि माग गरेका छन् । साथै, प्रहरीले २५ दिनसम्म थुनामा राख्न पाउने व्यवस्थाले प्रहरी नाजायज फाइदा लिनेतर्फ उन्मुख हुने भन्दै व्यावसायीहरुले अनुसन्धानको नाममा व्यावसायीलाई थुनामा नराखी तुरुन्त अनुसन्धानमा संघको प्रतिनिधि राख्न वा यो कानुनी व्यवस्थाको खारेज गर्न पनि माग गरेका छन् । भन्सारमा एक तोला बराबार ६ हजार ५० रुपैया भन्सार शुल्कले पनि व्यावसाय मारमा रहेकोले शुल्क कम गर्न पनि माग गरेका छन् । ‘सुनको सहज आपूर्ति गरिदिनुपर्छ, माग वमोजिमको सुन आपूर्ति भयो भने चोरी, तस्करीको समस्या धेरै हल हुन्छ’–उपाध्यक्ष शाक्यले भने ।
व्यावसायीहरुका अनुसार नेपालमा दैनिक ८० केजी सुनको माग छ । त्यसमध्ये दैनिक २५ देखि ३० केजी सुन स्थानीय ग्राहकहरुबाट उपलब्ध हुन्छ । व्यावसायीहरुले बाँकी आवश्यक ४५ केजी सुन उपलब्ध(आपूर्ति) गर्न राष्ट्र बैंक, नेपाल सरकारसँग पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो गरको छन् । नेपालमा दैनिक १५ केजी सुन मात्रै आयात हुन्छ । सुनसरीमा दैनिक २ केजी सुन आवश्कय भएपनि एक सातामा मात्रै त्यति परिमाणमा सुन आउने व्यावसायीहरुको भनाई छ ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे