पाँच लिम्बूवान पार्टीबीच एकता, माघ अघि आन्दोलन चर्काउने


धरान । अरुण सप्तकोशी पूर्वको नौ जिल्ला लिम्बूवान स्वायत्त राज्यको माग गर्दै आन्दोलनतर विभिन्न पाँच लिम्बूवानवादी राजनैतिक दलबीच एकता भएको छ । एउटै माग भएर पनि फुटको शिकारले कमजोर बनेको लिम्बूवानवादी दलहरुबीच साउन १८ र १९ गते धनकुटाको भेडेटार सम्पन्न वृहत लिम्बूवान एकता बैठकबाट एकता भएको हो ।
पार्टीको नाम संघीय लिम्बूवान पार्टी नेपाल भएको घोषणा गर्दै नेताहरुले लिम्बूवान राज्य प्राप्तिको लागि माघ अघि नै निर्णायक आन्दोलन गर्ने उद्घोष पनि गरेका छन् । नयाँ पार्टीको अध्यक्षमा कुमार लिङ्देन ‘मिराक’ छन् । लिम्बूवानी बुद्धिजिवि र साझा जातीय संस्था किरात याक्थुङ चुम्लुङको पहल एवं सहजीकरणमा ७ बुँदे सहमतिसँगै एकता सम्भव भएको हो । एकता बैठकले लिङ्देनको नेतृत्वमा रहेको मिञ्चसम्बद्ध संघीय लिम्बूवान राज्य परिषद, वीर नेम्बाङ् अध्यक्ष रहेको लिम्बूवान मुक्ति मोर्चा, रामभक्त कुरुम्बाङ नेतृत्वको लिम्बूवान मुक्ति मोर्चा नेपाल, कमल छाराहाङ नेतृत्वको संघीय गणतान्त्रिक पार्टी र सञ्जुहाङ पालुङ्वाको संघीय लिम्बूवान राज्य परिषदबीच एकता भएको हो । एकता पछिको पार्टीमा लिङ्देन अध्यक्ष छन् भने वीर नेम्बाङलाई सर्वमान्य नेताकोरुपमा राखिएको छ । यस्तै, सञ्जुहाङ पालुङ्वालाई वरिष्ठ नेता, कमल छाराहाङलाई नेता र रामभक्त कुरुम्बाङलाई वरिष्ठ उपाध्यक्ष पदमा राखिएको छ ।

यस्तै, उपाध्यक्षहरुमा शकुन्तला सुब्बा, दिपक मेन्याङ्बो, खगेन्द्र माखिम, विष्णुमाया तुम्बाहाम्फे र विशेन्द्र चोम्जोङ् छन् भने महासचिवमा सूर्य माखिम छन् । कोषाध्यक्षको हकमा सबै पार्टीको कोषाध्यक्षहरु सम्मिलित एक अर्थ समिति रहने र सो समितिको संयोजक गोकुल भुजेल रहने बैठकमा सहमति भएको महासचिव माखिमले जानकारी दिए । उनका अनुसार सबै महासचिव, उप महासचिव, पार्टी प्रवक्ता, सचिवहरु आगामी एकताको अधिवेशनसम्म सचिव रहने सहमति भएको छ । तर, महाधिवेशनको मिति भने टुंगो नलागेको पार्टीले जनाएको छ । पार्टीको झण्डा निलो, सेतो र रातो तीन रंग भएको र बीचभागको सेतो पृष्ठभुमीमा रातो रंगको १७ कोण भएको गोलाकार सूर्यअंकित झण्डा हुने दलहरुबीच सहमति भएको छ भने दाप सहितको खुकुरी पार्टीको चुनाव चिन्ह हुने सहमति भएको पनि महासचिव माखिमले जानकारी दिए ।
लिम्बूवानवादी पार्टीहरुबीच गत फागुन अन्तिम सातादेखि एकताको पहल शुरु भएको थियो । गत मंसिर ४ मा दोस्रो संविधानसभा चुनावमा भाग लिएका लिम्बूवानवादी दलहरुको नराम्रो पराजयले पनि उनीहरुलाई एक हुन प्रेरित गर्यो । एकताको लागि वृहत लिम्बूवान एकता स्टेरिङ कमिटि र विभिन्न ४ वटा बिषयगत कमिटि बनाइएको थियो भने जेठ ६ गते दलहरुबीच ९ बुँदे सहमति भएको थियो । त्यही सहमतिलाई दुई दिनको भेडेटारको बसाईले अन्तिम रुप दिएर सहमति बनेपछि पाँच दलबीच एकता भएको हो ।

पार्टी अध्यक्ष लिङ्देनले लिम्बूवान राज्यको सुनिश्चितताको लागि पार्टीहरुबीच एकता भएको प्रष्ट्याउदै पार्टीलाई लिम्बूवानी सबै जनताको पार्टीकोरुपमा विकास गर्ने प्रतिवद्धता जनाए । लिम्बूवान राज्यसहित खम्बुवान(किरात), तमुवान, मगरात थरुहट,मधेशलगायत स्वायत्त राज्य प्राप्तीको लागि माघ अघिनै आफ्नो पार्टीले निर्णायक आन्दोलन गर्ने उनले उद्घोष पनि गरे । ‘एकता पछि बनेको पार्टीले लिम्बूवानको सुनिश्चित गर्छ, यो पार्टीलाई सबै जनताको पार्टीकोरुपमा विकास गर्नेछौं । यसले राष्ट्रिय राजनीतिमा पनि सकरात्मक असर पार्नेछ’–उनले भने–‘लिम्बूवान राज्यसहितको संविधान आउनैपर्छ, यसको लागि आन्दोलनको खाका कोर्न थालिसकेका छौं, माघ अघि नै आन्दोलनको आधी ल्याउछौं ।’ लिम्बुवानी आन्दोलनलाई उत्कर्षमा पुर्याउनको लागि माघ ८ गतेसम्म आन्दोलनको खाका कोरेर घोषणा गर्न वरिष्ठ नेता पालुङ्वालाई संयोजक बनाएको पनि उनले जानकारी दिए ।
सर्वमान्य नेता वीर नेम्बाङ्ले विभिन्न कमीकमजोरीको कारणले नै विगतमा लिम्बूवान आन्दोलन सफल नभएको स्वीकार्दै अबको आन्दोलन बौद्धिक आन्दोलनकोरुपमा पनि हुने धारणा व्यक्त गरे । आन्दोलन तयारी समितिका संयोजकसमेत रहेको वरिष्ठ नेता पालुङ्वाले शक्ति एकत्रित गर्नैको लागि छरिएको पार्टीलाई एक बनाएको बताए । ठुला भनिएको पार्टीले तयार गरेको अन्तरिम संविधानले गरेको व्यवस्था विपरीत अहिले आदिबासी, जनाजति, मधेशीको अधिकार र पहिचान नामेट हुने गरी संविधान र संघीयताबारे षडयन्त्र भइरहेको पनि उनले आरोप लगाए । ‘अब राज्यलाई सय किलोको धक्क दिने गरि आन्दोलन गर्छोै, कार्यदल बनिसकेको छ र आन्दोलनको खाका तयारीमा जुटिसकेका छौं । माघ ८ अघि नै आन्दोलन उत्कर्षमा पुर्याउछौं’–उनले भने ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे