धरानमा साहित्यिक अन्र्तक्रिया(फोटोफिचर)


धरान । कवि वम देवान र कवियित्री कुन्ता शर्मा साहित्यमा नौला नाम होइनन् । यी स्रष्टामा साहित्यबाहेक अर्को समानता पनि छ, दुवैलाई सम्झनुपर्दा राजनीतिक जीवन पनि सँगै आउछ । फरक यति मात्रै कि ०४६ को परिवर्तनपछि देवान राजनीतिकरुपमा शिथिल भए भने शर्माको सक्रियता बढ्यो । 
शुक्रबार धरानको होटल रत्न इनमा यी दुवै स्रष्टा आफ्नो साहित्यिक जीवनको लेखाजोखा गर्न स्रष्टा, साहित्यकार एवं पाठकको कठघरामा उभिनु पर्यो । भारतीय दुतावास, बीपी कोइराला इण्डिया नेपाल फाउण्डेशन र महेन्द्र बहुमुखी क्याम्पस, नेपाली विभागले संयुक्तरुपमा आयोजना गरेको अन्र्तक्रिया एण्ड पोयमाण्डु कार्यक्रमअन्र्तगत दुवैलाई साहित्यकार, पाठक सामु थिए । दुवैलाई डायसमा आसन गर्नुअघि एक एक वटा कविता वाचन गर्न लगाइयो । त्यसपछि, शुरु भयो साहित्यिक, राजनीतिक जीवन सम्बन्धित प्रश्नको बर्षा ।


पैसा कमाउन नलगानी किन साहित्यमा लाग्नु भयो भन्ने प्रश्नको जवाफमा कवयित्री शर्माले शुरुमा लहैहलैमा कविता लेखे पनि पछि समाज परिवर्तन गर्नको लागि साहित्य सृर्जनामा लागेको बताइन् । कवितालाई जीवन ठान्ने धारणा व्यक्त गर्दे उनले भोगाई प्रतिबिम्बित हुने र कविताले समाजलाई दिशानिर्देश पनि गर्ने बताइन् । कवि देवानले साहित्यले मानव जीवन सुन्दर बनाउने भएकोले आफु आर्कर्षित भएको बताए । साथै उनले साहित्य रेखिय, पक्षीय हुने धारणा राख्दै कुन किसिमको समाज, देश र सन्तती चाहिने हो त्यहीअनुसार साहित्य लेख्नुपर्ने पनि बताए । जनताको लागि लेख्नुपर्छ भन्ने भावनाले कवितामा आक्रोश पनि पोखिएको उल्लेख गर्दै उनले पछि कलात्मकता पनि अंगालेको बताए ।

अन्र्तक्रियाका सहजकर्ता एवं समालोचक दिपक सुवेलीले दुई स्रष्टालाई मात्रै होइन, साहित्य र दुवै स्रष्टाबारे उपस्थित साहित्यकार, समालोचकहरुलाई प्रश्न सोधेर थप रोचक बनाएका थिए । डा.बद्रीविशाल पोख्रेलले जीवन जगतको लयात्मक, संवेदनात्मक अभिव्यक्ति नै कविता भएको बताए । विचारसहितको कला नै साहित्य भएको उनको भनाई छ । समालोचक रामजी तिम्सिनाले कविता र विचारको सम्बन्धलाई प्रष्ट्याउदै विचारलाई राजनीति भनेर बुझ्नु गलत धारणा भएको बताए । ‘मावनीय चेतना हो भनेर बुझ्नुपर्छ । तर, कवितामा इन्क्लाब आउछ भने त्यो कविता होइन र तर, मानवीय चेतना विचारकोरुपमा छ र कलात्मकरुपमा भए त्यसलाई राजनीति भन्नु उचित होइन’–उनले भने । नारी लेखनबारे बोल्दै इन्दिरा मिश्रले राष्ट्रियस्तरमा नारी स्रष्टाले राम्रो ठाउँ नपाएपछि पछिल्लो समय सन्तोषजनक उपस्थिति रहेको बताइन् । 

कवि भिष्म काफ्लेले कवियित्री शर्मालाई जीवन्त लेखिकाकोरुपमा प्रस्तुत गरे भने प्राध्यापक हरिप्रसाद शर्माले कवि देवानलाई सशक्त कविकोरुपमा उभ्याए । अन्र्तक्रियापछि इटहरी र धरानका दर्जन बढी कवि,कवियित्रीहरुले कविता वाचन पनि गरेका थिए । नेपाल र भारतबीच साहित्यिक, साँस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली विभागका प्रमुख एवं भाषाविद् प्रा.डा.टंक न्यौपानेले बताए । फाउण्डेशनका सचिव एवं कवि अभय कुमारले नेपाल र भारतबीचको राजनीतिक सम्बन्ध जुनै बेला पनि बदलिन सक्ने तर साहित्यिक, साँस्कृतिक सम्बन्ध भने कहिल्यै परिवर्तन नहुने बताए । ‘राजीतिक सम्बन्ध एक बर्षमा परिवर्तन हुनसक्छ, तर साँस्कृतिक, साहित्यिक सम्बन्ध सदियौंदेखिको छ, रहिरहन्छ । यो सम्बन्धलाई वदलिन र विर्सन सकिदैन’–उनले भने ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे