मेची कोशीमा यातायात खुल्यो


धरान । विगत पाँच दिनदेखि कोशी र मेची अञ्चलमा ठप्प रहेको यातायात सोमबारदेखि सञ्चालनमा आउने भएको छ । यातायात व्यावसायीहरुबीचको विवादले मेचीमा पाँच दिनदेखि यातायात ठप्प थियो भने कोशी अञ्चलमा तीन दिनदेखि सार्वजनिक सवारीका साधान चलेको थिएन ।
मेची अञ्चलमा यातायात व्यावसायी र प्रशासनबीचको वार्ता जारी रहदै आइतबार कोशी अञ्चलका व्यावसायीहरुले दिउँसो करिब साढे ४ बजेतिरै बन्द स्थगित गरेका थिए । मेचीमा वार्ता सकरात्मक रहेको र मेचीका व्यावासायीहरुसँग समन्वय गरेरै कोशीमा आइतबार छिटै बन्द फिर्ता लिएको व्यावासायीहरुले बताए । बन्द फिर्ता भएपछि आइतबार करिब पाँच बजेतिर नै सवारीका साधानहरु सञ्चालनमा आएको थियो ।
सोमबार धरानस्थित पिण्डेश्वर बाबाधाममा जल चढाउन आउने हजारौं भक्तजनहरुलाई असुविधा नहोस् भनेर आइतबार नै बन्दको कार्यक्रम स्थगित गरिएको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका कोशी अञ्चल संयोजक सरोज श्रेष्ठले बताए । उनका अनुसार मेचीमा वार्ता सकरात्मक भइरहेको र सहमतिमा पुग्न समय लाग्ने भएपनि धरानको बोलबम मेलाको अवस्थालाई ख्याल गर्दै कोशीमा भने आइतबार नै यातायात बन्द स्थगित गरिएको हो । ‘मेचीमा वार्ता सकरात्मक भइरहेको छ, टुंगोमा नपुगिहाले पनि धरानको बोलबममा आउने भक्तजनहरुको सुविधालाई ख्याल गर्दै सहमतिमा नै बन्द स्थगित गरेका हौं’–संयोजक श्रेष्ठले भने ।

यातायात बन्द लम्बिदै जादा जनजीवन कष्टकर हुदै गएपछि आइतबार दिउँसो कोशी अञ्चलका यातायात व्यावसायीहरुको बैठक धरानमा बसेको थियो । सोही वैठकले बन्द स्थगित गर्ने निर्णय गरेको हो । यसैबीच, झापामा प्रशासन र व्यावसायीहरुबीच भएको वार्ता सहमतिमा टुंगिएपछि आइतबार साँझदेखि मेची अञ्चलको बन्द पनि फिर्ता भएको छ ।
उज्यालो यातायात व्यावसायी संघले झापाको काकडभिट्टामा शाखा खडा गरेर नयाँ बस सेवा सञ्चालन गरेपछि उत्पन्न विवादले मेची अञ्चलका व्यावसायीहरुले यातायात बन्द गरेका थिए । मेचीका व्यावसायीहरुको आन्दोलनलाई समर्थन जनाउदै असार २३ गतेदेखि कोशी अञ्चलका व्यावसायीहरुले पनि यातायात बन्द गरेका थिए । दुवै अञ्चलका यातायात व्यावसायीहरुको बन्दले अरुण सप्तकोशी पूर्वको सम्पर्क पश्चिमसँग टुटेको थियो ।

उज्यालो र मेचीका बस व्यावसायीहरुबीच वार्तामो माध्यमबाट समस्या समाधान गर्ने प्रयास भइरहे सहमति हुन सकेको थिएन । काठमाण्डौं केन्द्रीय कार्यालय रहेको उज्यालो यातायातले यस क्षेत्रमा लागु भएको आलोपालो प्रणालीलाई स्वीकार नगरेको मेचीका व्यावसायीहरुको आरोप थियो भने उज्यालोका सञ्चालकहरुले आलोपालो प्रणाली सिण्डिकेट भएकोले स्वीकार नगर्ने अडानमा थियो । बन्द अवधिभर प्रेस, एम्बुलेन्स, दुई पांग्रे सवारी, स्कुल बस, कुटनैतिक नियोगका सवारी, हरियो चिया पति बोक्ने गाडी, दुध बोक्ने गाडीलगायतलाई भने अवरोध गरिएको थिएन ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे