बीपी प्रतिष्ठानमा रजिष्टार नियुक्त


धरान । लामो समयको अन्यौललाई चिर्दै स्वास्थ्य मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नयाँ रजिष्टार नियुक्ती गरेको छ । पद रिक्त भएको करिब पन्ध्र महिनापछि मन्त्रालयले मोरङको विराटनगर निवासी तुलबहादुर श्रेष्ठलाई बिहिबार प्रतिष्ठानको रजिष्टारमा नियुक्त गरेको हो ।
नवनियुक्त रजिष्टार श्रेष्ठले शुक्रबार नै प्रतिष्ठानमा आफ्नो पदभार ग्रहण गरिसकेका छन् । राजनीतिक नियुक्ती भए पनि रजिष्टारको पाँच बर्षे कार्यकाल रहन्छ । यसअघि, तत्कालीन रजिष्टार नन्दकुमार थापाको गत बर्षको जेठ १९ गते पदावधि सकिएपछि प्रतिष्ठान रजिष्टारविहिन रहेको थियो । प्रतिष्ठानका उपकुलपति प्रा.डा.बलभद्रप्रसाद दासको सिफारिशमा स्वाथ्यमन्त्री खगराज अधिकारीले श्रेष्ठलाई रजिष्टारमा नियुक्ती गरेका हुन् । प्रतिष्ठान नियमावलीमा उपकुलपतिले आकांक्षीको नाम सिफारिश गर्ने र ती मध्ये सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्रीले नियुक्ती गर्ने प्रावधान छ ।


नवनियुक्त रजिष्टार श्रेष्ठ आर्थिक प्रशासनसँगै व्यवस्थापनमा दक्ष व्यक्ति हुन् । उनले व्यवस्थापन, कानुन र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । यसअघि उनले नेपाल सरकारको लेखा अधिकृतकोरुपमा १० बर्ष काम गरेका थिए भने उनलाई सरकारले एकाउण्टिङ स्टाण्डर्ड बोर्डमा पनि सदस्यमा नियुक्ती गरेको थियो । उनले डेढ दशक प्राध्यापन पनि गरेका छन् । ‘व्यवस्थापन, आर्थिक प्रशासन, कानुन तिनै बिषय मेरो अध्ययनको क्षेत्र भएकोले यहाँ राम्रोसँग जिम्मेवारी निर्वाह गर्नसक्नु भन्ने विश्वास छ, सबैको साथ सहयोग पाएभने प्रतिष्ठानको समस्यालाई मिलेर समाधान गर्न सकिन्छ’–पदभार ग्राहण गरेपछि उनले भने–‘यहाँको स्थिति र समस्याबारे बुझ्छु, यसअघि व्यवस्थापनले गरेको सहमतिलाई पनि हेरेर अघि बढ्छु ।’ उपकुलपति डा.दासले पनि रजिष्टार नियुक्ती भएकोमा खुशी व्यक्त गर्दै दुई सातापछि सिनेट बैठक बस्ने निर्णय भएको बताए । उनका अनुसार सिनेट बैठक भदौ ३० गते काठमाण्डौंमा हुनेछ ।


प्रतिष्ठान लामो समयसम्म रजिष्टार नियुक्ती नहुदा कर्मचारी प्रशासन, आर्थिक एवं सुरक्षासम्बन्धी महत्वपुर्ण बिषय प्रभावित हुदै आएको थियो । रजिष्टार कार्यकारिणी समितिको सदस्य सचिव पनि हुने भएकोले कार्यकारिणी समितिको पुर्ण बैठक र सञ्चालक परिषद(सिनेट) बैठक पनि प्रभावित थियो । लामो समय रजिष्टार नियुक्ती नभएपछि प्रतिष्ठानले दैनिक कार्यसञ्चालनको लागि डेपुटी मेनेजर अमित श्रीवास्तवलाई निमिक्त रजिष्टारको जिम्मेवारी दिएको थियो । उनलाई महत्पवुर्ण बिषयमा निर्णय गर्ने अधिकार भने थिएन ।

प्रतिष्ठानका कर्मचारीहरुले पनि नवनियुक्त रजिष्टारको स्वागत गर्दै नेपाल सरकारले वृद्धि गरेको तलब खुवाउन पहल हुनेमा आशा व्यक्त गरेका छन् । ‘हाम्रो माग सञ्चालक समिति र सञ्चालक परिषद बैठकबाट अनुमोदन हुनेछ र समस्या हल हुनेमा आशावादी छौं’–कर्मचारी कल्याण समाज, तदर्थ समितिका संयोजक राजन कोइरालाले भने । अघिल्लो सरकारको पालामा खुला प्रतिस्पर्धाबाट रजिष्टार नियुक्तीको प्रक्रिया शुरुवात गरिएपनि संविधानसभा निर्वाचन र सरकार परिवर्तनसँगै नयाँ प्रक्रियाले गति लिन सकेको थिएन । गत बर्षको साउन महिनामा तत्कालीन स्वास्थ्य मन्त्रीको निर्देशनअुनसार प्रतिष्ठानले एक अबखरमा सुचना प्रकाशित गरेर दरखास्त आह्वान गरेर रजिष्टार नियुक्ती प्रक्रिया थालेको थियो । त्यसवमोजिम निवेदन परेकाहरुसँग अन्र्तवार्तासमेत लिइसकेको भएपनि सरकार परिवर्तनसँगै त्यो प्रक्रिया स्थगित भएको थियो ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे