साउदीमा नरकीय जीवन बिताएर फर्किइन् सरिता
धरान ।‘छोरी भेट्छु जस्तो लागेकै थिएन । पाँच बर्ष भयो घर छोडेर हिडेको, केही खबर, पत्तो थिएन’–धरान १७, रेल्वेकी ५७ बर्षीय कृष्णमाया परियारले यसो भन्दा उनको आँखामा आँशु छचल्किरहेको थियो । मंगलबार बिहान घरको आँगन टेकेकी उनकी साइली छोरी सरिता पनि छेउमा टोलाइरहेकी थिइन् ।
अढाई बर्षकी छोरी र डेढ बर्षको छोरालाई माइतीको जिम्मा लगाएर १८ बर्षको किसोर उमेरमा सरिता साउदी अरब उडेकी थिइन् । छोरा पेटमा पाँच महिनाको हुदा नै श्रीमान्ले झुण्डिएर आत्महत्या गरेपछि उनको भरोसा टुटिसकेको थियो । त्यसैले नातेदार र छिमेकी पनि रहेका एजेन्ट(दलाल) मणिकुमार दर्जीको लहैहलैमा लागेर उनी ०६६ मंसिरमा गैरकानुनीरुपमा भारत हुदै साउदी उडेकी थिइन् । आफ्नो र दुई सन्तानको सुनौलो भविष्य बनाउने सपना बोकेर साउदी उडेकी सरिताले पाँच बर्ष भने नरकीय जीवन बिताइन् ।
पछिल्लो डेढ महिना साउदी जेलमा बिताएकी उनी पौरखी नेपाल र नेपाली दुताबासको पहलमा आइतबार स्वदेश फर्किइन । रात्री बसबाट धरान आएकी उनले मंगलबार बिहानै साढे ७ बजे माइतीको आँगन टेकिन् । उनलाई देख्नासाथ वृद्धा आमा कृष्णमायाले आँशु थाम्न सकिनन् । निक्कैबेर रुवाबासी मच्चियो । ‘गएदेखि जम्मा एक पटक मात्रै फोनमा कुरा भएको थियो, त्यसपछि हराएको हरायै भइन्, बाँचेकी छे भन्ने लाग्दै लागेको थिएन । मारेर पो फाल्यो कि भन्ने डर भइरहन्थ्यो’–छोरीलाई सुम्सुम्याउददै कृष्णमायाले भनिन् । उनीसँगै दिल्ली हिडेकी माइली छोरी अनिता भने साउदीमा अढाई बर्ष दुःख गरेर फर्किइसकेकी थिइन् ।
पीडित सरिताका अनुसार उनलाई दलाल मणिकुमारले नै पासपोर्ट बनाएर दिल्ली पुर्याएको थियो । त्यहाँबाट दिदी अनिता तत्कालै साउदी उडे पनि उनलाई डेढ महिना ढिला पठाएको थियो । साउदीमा घरेलु कमादारकोरुपमा रहेको घरमा उनले कहिल्यै सुख पाइनन् । बिहान ५ बजे उठेदेखि राती २ बजेसम्म घरको सारा काम गर्नुपथ्र्यो । केही तलमाथि भयो कि फेरि डबल काममा दलाउथे । गालीगलौजको सिमा नहुदैनथ्यो । त्यस घरमा चार महिनासम्म काम गरेपनि एक रुपैया तलब दिएनन् । घरमा मात्रै एक दिन सम्पर्क गर्न दिए । अति दुःख पाएपछि उनी त्यहाँबाट भागेर अर्को घरमा पुगिन् । जहाँ उनले ४ बर्ष बिताए पनि आधा पैसा मात्रै पाइन् । दलालले उनलाई मासिक ५ सय रियल तबलको आश्वासन दिएकी थिइन् । ‘पहिलाको घरबाट भाग्दा पासपोर्ट पनि थिएन, नयाँ घरमा ४ बर्ष काम गरे, तर पैसा पुरै पाइन’–त्रसित मुद्रामा २३ बर्षीय सरिताले भनिन्–‘पछि थोरै पैसा दिएर घरमालिकले एयरपोर्टमा छोडेर गयो, त्यहाँबाट पुलिसले पक्रिएर लग्यो ।’
पासपोर्ट साथमा नभएपछि उनले कष्टकररुपमा डेढ महिना प्रहरी थुनामा बिताउनु पर्यो । त्यहाँ उनी एक्लै थिएनन्, अन्य नेपाली महिला थिए । भारत, फिलिपिन्स, क्रिमिया, इन्डोनेशिया, श्रीलंकाका महिलाहरु पनि थिए । पासपोर्ट नभएर घर फर्कन नपाएको पीडामा बहुलाएको र झुण्डिएर मरेको महिलाहरु देख्दा उनलाई पनि लाग्थ्यो,–‘म त नर्कमा आएछु, यतै मर्छु क्यारे ।’ धन्न उनले त्यस्तो नियती भोग्नु परेन । पौरखी नेपाल र दुताबासको पहलमा उनी घर फर्कन सफल भइन् । तर, उनको साथमा केही लुगाफाटा र थोरै पैसाबाहेक केही छैन । आउदा उनले नै हवाई टिकट काट्नु परेको थियो ।
यता पाँच बर्षदेखि बेखबर माइती पक्षलाई भने सरिता साउदीमा कहाँ छे भन्ने पनि पत्तो थिएन । उनीहरु ०७० असार ३ गते पौरखी सुनसरीको कार्यालयमा पुग्दा पुरानो एउटा फोटो र साउदी गएको विवरण मात्रै थियो । माइती पक्षबाट सरितालाई गैरकानुनीरुपमा साउदी पुर्याउने दलाल मणिकुमारलाई फेला पारेर पौरखीले प्रहरी कार्यालय पुर्यायो । उसले ३ महिनामा जसरी पनि ल्याईदिन्छु भनेर कागज गरेपनि ल्याउन सकेन । फेरि २ महिनाको भाका राखेर साउदी गएर भएपनि ल्याउने भन्दै श्रीमतिलाई रोहबरमा राखेपनि उनी अहिलेसम्म सम्पर्कविहिन छन् । खोजी प्रयास जारी राखेको पौरखीले एउटा फोन नम्बर फेला पार्यो, निरन्तरको प्रयासपछि सम्पर्क हुँदा मात्रै सरिता जेलमा रहेको खुल्यो । ‘एक दिन सम्पर्क हुँदा साउदी जेलमा रहेको पत्तो लाग्यो, त्यसपछि केन्द्रीय कार्यालय हुदै नेपाली दुताबासमार्फत उनलाई घर फर्काउन पहल शुरु गर्यो’–पौरखी सुनसरीका अध्यक्ष चेतना श्रेङले भनिन् ।
मंगलबार बिहानै धरान आइपुगेकी सरितालाई पौरखीले इलाका प्रहरी कार्यालयको रोहबरमा अभिभावक एवं परिवारको जिम्मा लगाएको छ । साउदीमा लामो समय यतनापुर्ण काम र जेल बसाईले सरिता डिप्रेशनले ग्रसित भएर अवस्थ्य पनि छिन् । उनलाई मनोपरामर्श र उपचारको खाँचो रहेकोले बुधबार अस्पताल लैजाने पैरखी अध्यक्ष श्रेङले बताइन् । ‘उनको छोराछोरीलाई सरकारी विद्यालयमा पढाइदिन्छौं, चाहिन् भने सीप सिकाएर आत्मनिर्भर पनि बनाइदिन्छौं’–श्रेङले भनिन् । पीडित सरिताले पनि अब कहिल्यै विदेश नजाने र यही केही सिप सिक्ने चाहना व्यक्त गरिन् ।
Comments
Post a Comment