बुढासुब्बा गोल्डकपमा कठिन जितसँगै आर्मी सेमीफाइनलमा


धरान । १७ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपमा पोखरा ११, कास्कीविरुद्ध कठिन जित हात पार्दै त्रिभुवन आर्मी क्लब सेमीफाइनल पुगेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा आइतबार भएको खेलमा आर्मीले पोखरालाई टाइब्रेकरमा ५–४ ले हराउदै सेमीफाइलन यात्रा तय गरेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि निर्णय टाइब्रेकरबाट भएको हो । हावाहुरीले खेल प्रभावित हुन थालेपछि निर्धारित समयको खेल सकिएलगत्तै टाइब्रेकर भएको थियो । टाइब्रकेरमा पोखराका कप्तान उत्तम गुरुङ अन्तिम प्रहारमा गोल गर्नबाट चुकेपछि खेलमा आर्मीले जित हात पार्यो । उनको प्रहार गोलपोष्टमा लागेर बाहिरियो ।
टाइब्रेकरमा आर्मीका जितेन्द्र कार्की, हिरष्य मगर, सन्तोष तामाङ, युद्ध शाही र दिपक गुरुङले गोल गरे । पोखराबाट भने प्रदिप गुरुङ, राकेश गुरुङ, भुपाल गुरुङ र शिव सुवेदीले मात्रै गोल गर्न सफल भए । उत्तम गुरुङको प्रहार पोष्टमा ठोकिएको थियो । निर्धारित समयको खेलमा अनुभवविहिन खेलाडी भएको पोखराले अनुमान विपरीत आर्मीलाई कडा चुनौती दिएको थियो । जित हात पार्न आर्मीलाई टाइब्रेकरसम्मै संघर्ष गर्नुपरेको थियो । आर्मीले खेलको शुरुवात नै आक्रमकरुपमा गरेपनि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।
दोस्रो हाफको पहिलो मिनेटमा नै राकेश गुरुङले दर्शनीय गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए । शिव सुवेदीले दिएको पासमा उनले करिब ३० यार्ड टाढाबाट पहिलो बार च्याप्दै गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । एक गोलले पछि परेको आर्मी काउण्टर अट्याकमा उत्रिर्दै दोस्रो हाफको ७ औं मिनेटमा बराबरी गर्न सफल भयो । पोखराको डि बक्सभित्रको वल क्लियर हुन नसकेको मौकामा गोलकिपर विट भएपछि अम्रित बस्नेतले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफको ३३ औं मिनेटमा फ्रि किक प्रहारमा उत्तम गुरुङले पोखराको लागि दोस्रो गोल गरे । आर्मीका खेलाडीले प्रदिप गुरुङलाई लडाएपछि पोखराले फ्रिक किक अवसर पाएको थियो । करिब ३० यार्ड दुरीबाट फ्रि किकमा उत्तमले गोल गरेका थिए ।
खेल सकिन एक मिनेट बाँकी रहदा अम्रित बस्नेतले हेडमार्फत पुनः दोस्रो गोल गर्दै आर्मीलाई हार हुनबाट जोगाए । पदम तामाङको कर्नर प्रहारमा उनले हेडमार्फत वललाई जाली चुमाएका थिए । आर्मीको लागि २ गोल गरेका अम्रितले खेलको म्यान अफ दि म्याच घोषित हुदै ५ हजार र ट्रफी पाए । खेलअवधिमा आर्मीले थुप्रै गोल गर्ने अवसरबाट चुकेको थियो । पहिलो हाफको खेल शुरु भएको एक मिनेटमा टंक बस्नेत र अम्रित बस्नेतको दुई वटा कडा प्रहारलाई पोखराका गोलकिपर नामगेल लामाले बचाएका थिए । पुनः दोस्रो मिनेटमा अम्रितले वान भर्सेस वानको मौकामा पनि गोल गर्न सकेनन् भने ३७ औं मिनेटमा पदम तामाङको पासमा पोखराको गोलकिपर विट भइसके पनि टंक बस्नेतको प्रहार पोष्ट बाहिर गएको थियो ।
अनुभवविहिन खेलाडी भरिएको पोखराले केही अवसरहरु सृर्जना गर्यो । पहिलो हाफको १९ औं मिनेटमा शिव सुवेदीले दिएको पासलाई कमल गुरुङले आर्मीको डिफेन्सलाई विट गर्दै प्रहार गरे पनि गोलकिपरले सजिलै समाते । ४४ औं मिनेटमा शिव सुवेदीको हेड पासमा कुमार गुरुङले डि बक्स नजिकबाट प्रहार गरेपनि गोलकिपरसँग ठोक्किएर फर्कियो ।
पोखराका प्रशिक्षक राजेन्द्र तामाङले अनुभव विहिन खेलाडीले आफुले सोचेभन्दा राम्रो प्रर्दशन गरेकोमा सन्तुष्टि जनाए । दोस्रो हाफमा हावाको दबाब खेप्नु र रेफ्रीले २ वटा ह्याण्ड वल नदिनु दुर्भाग्य भएको प्रतिक्रिया दिए । ‘आर्मीलाई जित्छौं भन्ने त थिएन, तर यस्तो टक्कर खेल हुन्छ भन्ने सोचेको थिइन’–उनले भने–‘अनुभवको कमीले अन्तिम समयमा गोल खायौं र जित्नै लागेको खेल पनि हार्यौं, त्यो चाहि दुर्भाग्य भयो ।’
आर्मीका प्रशिक्षक मेघराज केसीले तीन स्टार स्ट्राकरको अभाव खट्किएको बताउदै अवसर पाएर पनि गोल गर्न नसक्दा जित पाउन ट्राइबे्रकरसम्म पर्खनु परेको बताए । ‘हाम्रा स्टाइकर भरत खवास, नवयुग श्रेष्ठ र टंक बुढाथोकीको अभाव भयो, अवसर पाएर पनि गोल गर्न सकेनौं’–उनले भने–‘पोखराले एक गोल गरेलगत्तै हामीलाई दबाबमा राखेर खेल्यो ।’ प्रतियोगितामा सोमबार पाहुना टोली भारत सिक्किमको चुनाल्चु क्लब र सशस्त्र प्रहरीको एपिएफ काठमाण्डौंबीच खेल हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।




















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे