धरानलाई हराउदै एपिएफ क्लब फाइनलमा
धरान । सशस्त्र प्रहरीको एपिएफ क्लब १७ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा पुगेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा आयोजक धरान फुटबल क्लबलाई ३–० को फराकिलो जित दर्ता गर्दै एपिएफ उपाधि नजिक पुगेको हो ।बुढासुब्बाको इतिहासमा एपिएफ फाइनल पुगेको यो पहिलो पटक हो । सेमीफाइनलमा एपिएफका रञ्जन विष्ट, गणेश लावली र नविन लामाले गोल गर्दै घरेलु दर्शकलाई निराश बनाए । हारसँगै घरेलु मैदानमा उपाधि जित्ने आयोजकको धोको पुरा हुन सकेन । गएको सँस्करणमा पनि सेमीफाइनलमा आयोजक सहारा क्लब पोखरासँग सडन डेथमा पराजित हुदै उपाधि होडबाट बाहिरिएको थियो ।
पहिलो हाफको खेल शुरु भएको २ मिनेटमै रञ्जन विष्टले गोल गर्दै एपिएफले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको दशौं मिनेटमा गणेश लावतीले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाए । यस्तै, दोस्रो हाफको ३९ औं मिनेटमा नविन लामाले गोल गर्दै एपिएफको जित सुनिश्चित गरे । खेलको म्यान अफ दि म्याच एपिएफका नविन लामा घोषित हुदै नगद ५ हजार र ट्रफी थापे । धरानका प्रशिक्षक सुवास केसीले अफ्रिकन खेलाडीले म्याच फिक्सिङ गर्दा हार्नु परेको दाबी गरे । पहिलो हाफमा शुरुमै गोल खानु र हावाले पनि दबाब दिएकोले खेलमा तालमेल हुन नसकेको उनको भनाई थियो । सेन्टर डिफेन्स मनिष घलेको अभाव खट्किएको उल्लेख गर्दै उनले डिफेन्स लाइन कमजोर भएको बताए । ‘विदेशी खेलाडी पिटर, आबा र गोही खेल्नै सकेनन्, बाहिरबाट भनेको पनि मानेन, म्याच फिक्सिङ गर्यो’–धरानका प्रशिक्षक केसीले भने ।
एपिएफका प्रशिक्षक कृष्ण थापाले २ मिनेटमै गोल गरेपछि विपक्षीको खेल विथोलिएको र हावाको कारणले पनि धरानको खेलमा तालमेल हुन नसक्दा आफुहरुलाई फाइदा पुगेको बताए । धरानको खेलाडी व्यक्तिरुपमा राम्रो भएपनि टिमवर्कको अभाव भएको भन्दै उनले आफ्नो खेलाडीको टिमवर्ककै कारण जित भएको बताए । ‘हाम्रोबाट ठिक समयमा स्कोर गर्यो, तर गोल अझै बढी हुनुपथ्र्यो’–म्याच फिक्सिङको सन्दर्भमा उनले भने–‘म्याच फिक्सिङ हुनै सक्दैन, यो अनर्थ, बेकारको कुरा हो ।’ प्रतियोगितामा बिहिबार त्रिभुवन आर्मी क्लब र दुई पटकको विजेता मनाङ मस्र्याङदी क्लबबीच दोस्रो सेमीफाइनल खेल हुनेछ ।














Comments
Post a Comment