मुटू बाहिर भएको शिशु जन्मियो

धरान । शरिर बाहिर मुटू ? सुन्दा नै पत्याउन गाह्रो हुन्छ । तर, शनिबार बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शरीर बाहिर मुटू भएको शिशुको जन्म भएको छ । झापा बनियानी ४ की २२ बर्षीया श्रुति कार्की (दाहाल)ले शरीर बाहिरै मुटू भएको बालक जन्माएकी हुन् । मुटू बाहिर भएपनि बच्चाको अन्य अंगहरु भने सामान्य बच्चाको झै भएको चिकित्सकहरुले जनाएका छन् । जन्मदा शिशुको तौल २ किलो ४ सय ग्राम थियो ।
शनिबार बिहान सिनियर रेजिडेन्ट डाक्टर रमेश दाहाल, डाक्टर अञ्जली रसाइली, एनेस्थेसियाका डाक्टर जोशनको टोलीले शल्यक्रिया गरेर बच्चा सकुशल निकलेको थियो । विश्वमा दुर्लभ यस्तो घटना नेपालमा पहिलो पटक भएको चिकित्सकहरुको दाबी छ । चिकित्सकले थप उपचारको लागि शिक्षण अस्पतालअन्र्तगत मनमोहन कार्डिकमा रिफर गरेपछि शिशुसहित कार्की परिवार आइतबार राजधानी प्रस्थान गरेका छन् । कार्कीका श्रीमान् सुवास भने वैदेशिक रोजगारीमा गएका छन् ।
गर्भवती कार्की चार दिनअघि प्रतिष्ठानको प्रसुती विभागमा भर्ना भएकी थिइन् । उनी ३४ हप्ताकी गभवती थिइन् । अल्ट्रासाउण्ड गर्दा बच्चाको मुटू शरीर बाहिर छातीमा देखिएको थियो । विश्वका अन्य देशमा यस्तो बच्चा जन्म भएपछि पनि बच्न नसकेको घटना भएकोले परिवारसँग सल्लाह गरेर कार्कीलाई चिकित्सकहरुले व्यथा लाग्ने औषधी दिएका थिए । तर, व्यथा नलागेपछि शनिबार बिहान शल्यक्रियामार्फत बच्चा निकालिएको डाक्टर दाहालले बताए । ‘यो बच्चाको सबै अंग सामान्य बच्चाको जस्तै छ, तर मुटू मात्रै बाहिर छ’–उनले भने–‘यस्तो घटना नेपालमा अहिलेसम्म भएको थाह छैन ।’
बालरोग विभाग प्रमुख डाक्टर गौरीशंकर शाहका अनुसार विश्वमा एक लाख बच्चा जन्मदा एक जनामा यस्तो घटना हुनसक्छ । जसलाई चिकित्सा विज्ञानमा इक्टपिक कर्डिस् भनिन्छ । छातीको बीचको भागको मांसपेशी(स्टेरनम) राम्रो बिकास नहुदा नवजात शिशुको मुटू बाहिर हुने उनले बताए । ‘कुनै बच्चाको कम, कुनैको बढि बाहिर निस्केको हुन्छ, यो बच्चाको भने मुटू पुरै बाहिर निस्केको थियो’–प्रमुख शाहले भने–‘कहिले कही छाती, घाटी र पेटबाट पनि मुटू निस्कन सक्छ ।’
मुटू शरीर बाहिरै निस्केको बच्चालाई थप शल्यक्रिया गरेर मुटु भित्र राख्नुपर्ने चिकित्सकहरुको भनाई छ । तर, त्यसरी अप्रेशन गरेर मुटू शरीर भित्रै राखे पनि बच्चाको बच्ने सम्भावना भने नहुने विगतको घटनाले देखाएको चिकित्सकहरु बताउछन् । ‘विश्वमा यस्ता बच्चा जन्मिएर अप्रेशन पछि मुटू छाती भित्र राखिए पनि बचेको छैन’–शल्यक्रियामा संलग्न डाक्टर दाहालले भने–‘त्यही भएर हामीले परिवारसँगकै सल्लाहमा डेलिभरि गराउन खोजेपनि व्यथा नलागेपछि शल्यक्रिया गरेर निकाल्यौं ।’


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे