शुरु भएलगत्तै बीपीको ‘पेइङ सेवा’ बन्द


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आचारसंहिता तयार गरेर करिब साता महिनापछि ‘पेइङ सेवा’ सुचारु गरेलगत्तै अवरुद्ध भएको छ । प्रत्यक्ष सरोकारवालासँग छलफल नै नगरी आचारसंहिता तयार गरेको भन्दै प्रतिष्ठानस्थित कर्मचारी कल्याण समाज र तदर्थ समितिले विरोध जनाएपछि ‘पेइङ सेवा’ सुचारु हुन पाएन ।
प्रतिष्ठानको अस्पताल प्रशासनले आइतबारदेखि लागु हुने गरि ‘पेइङ आचारसंहिता, पेइङ तालिका र शुल्कसम्बन्धी सर्कुलर’ जारी गरेको थियो । तर, ‘पेइङ सेवा’ व्यवस्थित गर्नुको साटो शुल्क अत्यधिक बढाएर सर्वसाधारण विरामीलाई महंगीको मारमा पारेको र जेनरल बराबरको शुल्क पनि प्रतिष्ठानमा जम्मा गर्नुपर्ने माग पुरा नगरेको भन्दै कर्मचारीहरुले सेवा सुचारु हुन दिएका छैनन् । समाजले आइतबार नै ‘पेइङ सेवा’को बिल काउण्टरमा ताला लगाइदिएको छ । अस्पतालका अन्य सम्पुर्ण सेवाहरु भने सुचारु छन् ।
गएको भदौमा कर्मचारीहरु आन्दोलनमा उत्रिएसँगै प्रतिष्ठानको पेइङ सेवा बन्द भएको थियो । ‘पेइङ सेवा’मा विकृति बढेको जनगुनासो बढेपछि अस्पताल प्रशासनले पेइङ सेवालाई सुधार एवं व्यवस्थित गर्न डेपुटि अस्पताल निर्देशक एवं प्रवक्ता डाक्टर पशुपति चौधरीको संयोजकत्वमा एक समिति गठन गरेको थियो । कर्मचारीहरुले भने निर्देशिका बनाएर नै ‘पेइङ सेवा’ लाई व्यवस्थित गर्नुपर्ने माग गर्दै आएका थिए । ‘आचारसंहिता एक पक्षीय बनाइयो, सरोकारवालासँग छलफल नै गरिएन । जनता र प्रतिष्ठानकै हितविपरीत बनाइएको छ’–कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले भने–‘शुल्क अत्यधिक बढाइयो, तर जेनरल बराबरको शुल्क अनिवार्य जम्मा गर्ने मुख्य मागलाई पनि समेटिएन ।’ पेइङको विभिन्न परीक्षणलाई आकस्मिक ल्याबबाटै गराउने निर्णयले आकस्मिक सेवालाई प्रभावित पार्ने भन्दै उनले गम्भीर त्रुटी भएको बताए ।
आचारसंहिता तयारी समितिका संयोजक एवं डेपुटि अस्पताल निर्देशक डाक्टर पशुपति चौधरीले शुल्कवापत लिइने सबै आम्दानी डाक्टरले मात्रै लिन्छन् भन्ने गलत बुझाइ रहेकोले समस्या भएको बताए । ‘जेनरल बराबारको रकम अस्पतालले पनि राख्छ, र बाँकी रकम पनि धोवी, पिउन, स्टाफ नर्स, बिल काउण्डटर, कर्मचारीसम्मलाई बाडफाड गरिन्छ, सबै डाक्टरले मात्रै लिदैन’–प्रतिष्ठानका प्रवक्तासमेत रहेको चौधरीले भने–‘यो फ्याकल्टी डाक्टरको मात्रै होइन, प्रतिष्ठानको आम्दानीको स्रोत पनि हो, वृहत हितमा नसोच्ने हो भने सस्थान नै धरासायी हुदै जान्छ ।’ उनले अस्पतालले ७० प्रतिशत आम्दानी लैजान्छ भने त्यसमा फ्याकल्टीहरु सहमत हुने तर प्रतिष्ठानकै तलब लिने अन्य कर्मचारीहरुलाई सिफ्ट बनाएर खटाउनुपर्ने धारणा राखे ।
सर्वसाधारणहरुले बढी शुल्क तिरेर बिशेषज्ञ सेवा पाउने पेइङ अव्यस्थित हुदै गएको, बिशेषज्ञ चिकित्सकहरुको सेवा जनरलमा भन्दा पेइङमा मात्रै केन्द्रीत भएको र त्यसले प्रतिष्ठानको आम्दानी घटेको भन्दै कर्मचारी कल्याण समाजले आवाज उठाउदै आएको थियो । नयाँ आचारसंहितामा पेइङ सेवाबापत लिइने शुल्कमध्ये चिकित्सक, प्राविधिक र अन्य कर्मचारीहरुले ६० प्रतिशत बाँडफाँड गर्ने र अस्पताललाई ४० प्रतिशत बुझाउने व्यवस्था गरेको छ । पेइङ सेवा प्रतिष्ठानमा करिब दशकअघि शुरु भएको हो । प्रतिष्ठान नेपालको एक मात्रै ‘नन्प्राक्टिसिङ ’ स्वास्थ्य संस्थान भएकोले यहाँका चिकित्सकहरु अन्य स्वास्थ्य संस्थामा गएर प्राक्टिस एवं काम गर्न पाउदैनन् । प्रतिष्ठानको तलब र भत्ता कम भएकोले दक्ष एवं राम्रा चिकित्सकहरु बस्न नमान्ने, पलयान हुनेक्रम बढेपछि रोक्नको लागि प्रतिष्ठानले पेइङ सेवाको अवधारणा ल्याएको थियो । जसअनुसार जेनरल सेवापछि सर्वसाधारणहरुले चाहेमा पेइङमा बढी शुल्क तिरेर बिशेषज्ञ सेवा पाउथे ।

                                    पेइङ नचल्दा जनरल सेवामा पनि असर


पेइङ सेवा अवरुद्ध हुदा प्रतिष्ठान, चिकित्सक एवं कर्मचारीको अतिरिक्त आय मात्रै घटेको छैन, जनरल सेवाको उपचार पनि प्रभावित भएको छ । पेइङ सेवा नचल्दा सबै विरामी जनरल सेवामा आउनुपर्ने भएकोले विरामीहरुको भीड छ । जसले गर्दा उपचारको लागि विरामीले घण्टांै पालो पर्खनु पर्छ भने अल्ट्रसाउण्ड, शल्यक्रिया गराउन महिना दिनसम्म पालो कुर्नुपर्ने अवस्था छ ।
‘पेइङ सेवा नहुदा छिटो छरितो सेवा पाउन नसकेको सत्य हो, पैसा हुनेले पेइङमा जचाउन जान्थे र जेनरलमा चाप कम हुन्थ्यो । विभिन्न जाँचको पालो पनि छिटो आउथ्यो’–प्रवक्ता एवं डेपुटि अस्पताल निर्देशक चौधरीले भने–‘पेइङ सेवा नहुदा जेनरललाई पनि असर पुगिरहेको छ । शल्यक्रिया, अल्ट्रासाउण्ड गराउन महिनौं कुर्नुपर्ने अवस्था छ ।’
आन्दोलनरत कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङ पनि पेइङ सेवा नचल्दा जनरल सेवा प्रभावित भएको स्वीकार गर्दै व्यवस्थित गरेर सञ्चालन गर्नुपर्ने बताउछन् । ‘पेइङमा मात्रै बिशेषज्ञ सेवा पाउने, शुल्क मनपरी बाड्ने, अस्पताललाई थोरै दिनेजस्ता कुरामा सुधार ल्याएर सञ्चालनमा ल्याउनुपर्छ भन्ने हाम्रो धारणा हो’–उनले भने ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे