दश हजार क्षयरोगी उपचार गराउदैनन्


धरान । क्षयरोग निवारण तथा उन्मुलुन गर्ने उद्देश्यले नेपाल सरकारले एक दशकदेखि वृहत कार्यक्रमहरु गरिरहे पनि बर्षेनी बर्षेनी ४० देखि ४५ हजारको संख्यामा क्षयरोगीका नयाँ विरामीहरु देखा पर्ने गरेका छन् । चिकित्सकहरुका अनुसार ती मध्ये पनि ३० देखि ३५ हजारको हाराहारीमा मात्रै क्षयरोगीहरु उपचार गराउन अस्पताल एवं स्वास्थ्य संस्थामा पुग्छन् ।
सम्पुर्ण औषधी उपचार निःशुल्क भए पनि अन्य दश हजारको संख्यामा क्षयरोगीहरु उपचार गराउन अस्पताल वा स्वास्थ्य संस्थासम्म पुग्दैनन् । ती व्यक्तिबाट क्षयरोगका किटाणु अन्य व्यक्तिमा सरिरहेकोले उनीहरुलाई अस्पताल एवं उपचारको पहुचमा ल्याउनु मुख्य चुनौती रहेको चिकित्सकहरुको ठम्याईछ । ‘नेपालमा १० बर्षदेखि वृहतरुमा क्षयरोगबारे कार्यक्रम चलिरहेको छ, तर पनि बर्षेनी ४० देखि ४५ हजार क्षयरोगी भेटिन्छन् । चिन्ताको कुरा के छ भने ती मध्ये ३० देखि ३५ हजार मात्रै अस्पतालमा पुग्छन्’–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्षयरोग कार्यक्रम संयोजक एवं जनस्वास्थ्य कन्सल्टेण्ट डाक्टर दिपक कुमार यादवले भने–‘बाँकी दशहजार जति हराइरहेका छन्, अर्थात उनीहरु घरमा, समाजमा रहेर अरुलाई क्षयरोग सारिरहेका छन् ।’
डाक्टर यादवका अनुसार एक जना क्षयरोगीले एक दर्जन भन्दा बढी व्यक्तिलाई रोग सारिरहेका छन् । उनीहरुलाई उपचारको पहुँचमा ल्याउन नसके क्षयरोग नियन्त्रण एवं निर्मुल गर्न गाह्रो हुने उनको भनाई छ । बुधबार देशभर मनाइएको विश्व क्षयरोग दिवसको नारा नै ‘सबै छुटेका क्षयरोगीलाई उपचारमा ल्याई निको पारौं’ भन्ने थियो । ‘क्षयरोगीले खोक्दा, हाच्छिउ गर्दा, बोल्दा नै हावाको माध्यमबाट ब्याक्टेरिया अर्कोमा सर्छ, त्यसैले क्षयरोग लागेको शंका छ भने घरमा नबस्नुस् । गाउँ, टोल छिमेकमा त्यस्ता विरामी भेटिए नजिकको अस्पताल, स्वास्थ्य केन्द्रसम्म पुर्याउन मद्दत गर्नुस्’–डाक्टर यादवले भने । गरिब र अशिक्षाको कारण क्षयरोगीहरु अस्पतालसम्म नआउने गरेको उनको भनाई छ ।
चिकित्सकहरुका अनुसार क्षयरोगको उपचार विधि घटाइएकोले नियमित औषधी सेवन गर्दा अचेल ६ महिनामा नै निको हुन्छ । क्षयरोगको उपचारमा धेरै सफल भएको मुलुकमा नेपाल गनिन्छ । सन् २०२० सम्म क्षयरोग न्युनिकरण गर्दे सन् २०५० सम्ममा दश लाख जनसंख्यामा एक जना मात्रै क्षयरोगीको संख्यामा झार्ने लक्ष्य लिइएको छ । ‘चुनौती ठुलो छ, एक महिनासम्म औषधी खाएपछि सुधार हुदै जान्छ, तौल बढ्छ । विरामीले सामान्य ज्वारो आएर निको भएको जस्तो गरि आफु ठिक भईसके भन्ने भ्रमले गर्दा नियमित औषधी सेवन गर्नै छोडिदिन्छ’–जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका जनस्वास्थ्य प्रशासक डिल्लीरमण अधिकारीले भने–‘त्यसले गर्दा क्षयरोगी निको नै हुदैनन्, त्यसपछि दोस्रो चरणको औषधी चलाउन महंगो पनि पर्छ र लामो समय पनि लाग्छ ।’ क्षयरोगको औषधी छ महिनासम्म नछुटाई सेवन गर्नुपर्ने सन्देश आममानिसमा पुर्याउन आवश्यक रहेको उनले बताए ।
दुई साताभन्दा बढी निरन्तर खोकी लाग्नु, विस्तारै दुब्लाउदै जानु, खानामा रुचि नहुनु, साँझपख ज्वरो आउनु, खकारमा रगतको छिटा देखिनु जस्ता क्षयरोगका लक्षण हुने चिकित्सकहरुको भनाई छ । यस्तो भए खकार जाँच गराएमा तत्काल रोग लागे नलागेको थाहहुन्छ ।

                             चेतनामुलक र्याली सम्पन्न


विश्व क्षयरोग दिवसको अवसरमा बुधबार धरानमा स्वास्थ्य संस्था एवं विभिन्न संघसंस्थाहरुले वृहत जनचेतनाुमलक र्याली तथा कार्यक्रमहरु आयोजना गर्यो । जिल्ला स्वास्थ्य कार्यालय, बीपी प्रतिष्ठान र साहारा नेपालको आयोजनामा धरान ४ स्थित पुरानो अस्पतालबाट वृहत र्याली निकालिएको थियो ।
र्याली नगर परिक्रमा गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पुगेर टुंगिएको थियो । त्यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले उपचारबाट छुटेका, बञ्चित भएका क्षयरोगीहरुलाई स्वास्थ्य संस्थासम्म पुर्याउन समुदायले पनि भुमिका खेल्नुपर्ने धारणा राखे । र्यालीमा बीपी प्रतिष्ठानका चिकित्सक, प्रतिष्ठानस्थित नेपाल मेडिकल ल्याबोटरी स्टुडेन्ट सोसाइटी, स्वास्थ्य स्वयमसेविका, सुनसरी टेक्निकल कलेजमा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए । यसैगरि, नेपाल क्षयरोग निवारण संस्था सुनसरी शाखाले पनि धरान १३ स्थित देवीमार्गमा जनचेतनामुलक कार्यक्रम आयोजना गर्यो ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे