सरकारले नै मेथाडोन नामको कडा लागुऔषध खुवाउदै, धरानमा संघर्ष समिति गठन


धरान । अफिमजन्य(हेरोइन)का दुव्र्यसनीहरुलाई उपचार विधि भन्दै नेपाल सरकारले सुईको प्रयोग हटाउन दिईरहेको ‘मेथाडोन’ झनै कडा लागुऔषध भएको दाबी गर्दै धरानका पूर्वलागुऔषध प्रयोगकर्ताहरुले विरोध जनाएका छन् । दातृ निकायको सहयोगमा सञ्चालित प्रोजेक्टमार्फत मेथाडोन धरानमा भित्रिन लागेपछि भुक्तभोगी युवाहरुले संघर्ष समिति गठन गरेर धरानमा मेथाडोन प्रयोगमा आउन नदिन अभियान चलाएका छन् ।
मेथाडोन कडा खालको लागुऔषध भएको र प्रोजेक्ट सकिएपछि युवापिढी यसको तलमा फसेर निस्कनै नसक्ने पूर्वलागुऔषध प्रयोगकर्ताहरुको भनाई छ । युवाहरुको विरोध भएपछि धरानस्थित कियाचु पुर्नजिवन केन्द्रले चैत १ गतेदेखि सुनसरी(धरान)मा मेथाडोन कार्यक्रम कार्यान्वयन गर्न पाएको छैन । ग्लोबल फण्डको आर्थिक सहायतामा सेभ द चिल्ड्रेनले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । धरानमा सुधार केन्द्रजस्ता उपचार विधि सफल भएर आफुहरु समाजमा सम्मानित जीवन बिताइरहेको उदाहरण प्रस्तुत गर्दै पूर्वदुव्र्यसनीहरुले मेथाडोनको प्रयोग उपचार नभएको दाबी गरेका छन् । ‘यो दातृनिकायको डलर खेती गर्ने उद्देश्यले मात्रै कार्यक्रम लागु भएको हो । यसले युवापिढीलाई उपचार गराउने होइन, मेथाडोन जस्तो कडा लागुऔषधको लतमा फसाउने काम मात्रै गर्छ’–पूर्वलागुऔषध प्रयोगकर्ता एवं रिकभरिङ्ग धरानका पूर्वअध्यक्ष दिनेश राईले भने ।
उनका अनुसार प्रोजेक्ट अवधिभर सरकारले दातृनिकायको पैसामा निःशुल्क मेथाडोन वितरण गर्छ, तर प्रोजेक्ट सकिएपछि ती युवाहरुको भविष्य के हुने भनेर सरकार र दातृनिकायले सोचेको छैन । उपचार भन्दै मेथाडोनको लतमा फसेका युवाहरु झन् कडा दुव्र्यसनी बन्ने उनको तर्क छ । ‘मेथाडोनको कार्यक्रम नेपाल सरकारले लागु गर्यो, तर शुरुवातदेखि नै यसबारे विवाद छ’–उनले भने–‘अरुतिरको भन्न सकिन्न, तर यही धरानमा हामी उपचारविधिबाट सुध्रिएका छौं, यो विधि सफल हुदा हुदै अहिले किन मेथाडोन भित्राउन लागियो ?’
हङकङमा रहदा मेथाडोन सेवन गरेका प्रविण राईले यसले दिने पीडाबाट अहिलेसम्म छुटकारा नपाइरहेको अनुभव सुनाए । ‘हिरोइन खान्छु भनेर ढाटेर सरकारले दिने मेथाडोन साढे ७ बर्ष खाए । तर, अहिले पछुतो लागिरहेको छ’–पत्रकारहरुलाई पीडा सुनाउदै उनले भने–‘अझै पनि आङ जिरिङ भइरहन्छ, राती सुत्दा तर्सन्छु, मेरो १६ वटा दात झर्यो । जीउ सबै दुख्छ । त्यसैले यो नेपालमा प्रयोग गर्नु एकदमै गलत हो, फ्रिमा पाइन्छ भनेर मैले जस्तै टाढेर मेथाडोन खाइदिनसक्छ ।’यहा छोटो अवधिसम्म मात्रै प्रोजेक्ट चल्ने भएकोले ती युवाले पुर्ण उपचार पाउन नसक्ने उनको भनाई छ ।
दोस्रो विश्व युद्धपछि न्युयोर्कसिटिमा हेरोइनको दुव्र्यसन र त्यसबाट हुने मृत्यु नियन्त्रण गर्न सन् १९६० ताका कानुनीरुपमा मेथाडोन वितरण शुरु भएको इतिहास छ । सुईबाट प्रयोग गर्ने  हेरोइनका दुव्र्यसनीहरुलाई मौखिक प्रतिस्थापन गर्न मेथाडोन उपचारको नाममा वितरण शुरु भएको थियो । यसलाई मेथाडोन मौखिक प्रतिस्थापन विधि नाम दिइएको छ । यस विधि अनुसार विस्तारै मेथाडोनको डोज घाउदै लगिन्छ । नेपालमा यो कार्यक्रम सन् १९९४ मा पहिलो पटक सञ्चालनमा आएको थियो । सन् २००२ मा बन्द भएको यो कार्यक्रम पुनः २००७ देखि दातृनिकायको सहयोगमा सञ्चालनमा छ । सुईद्धारा लागुऔषध प्रयोगकर्ताहरुलाई मौखिक मेथाडोन खुवाइने भएकोले एचआइभी, हेपाइटीसजस्ता रोग न्युनिकरण हुने भन्दै यो कार्यक्रम नेपालमा लागु छ ।
लागुऔषध न्युनिकरणको क्षेत्रमा कार्यरत नार्कोनन् नेपालका अध्यक्ष बसन्त कुँवरका अनुसार मेथाडोनको प्रयोग विश्वयुद्धताका घाइते सैनिकलाई पेनकिलरकोरुपमा प्रयोगमा आएको थियो । यसले ड्रगबाट छुटकारा दिने नभई जिउको हड्डीभित्रको मासी(बोन म्यारो) विस्तारै सुकाउदै जान्छ र मानिसलाई मार्ने काम गर्छ । उपचार विधिको नाममा मेथाडोन नेपालमा भित्र्याउनै नहुने उनको तर्क छ । ‘अन्य उपचारविधिबाट दुव्र्यसनी रोक्न नसकेपछि अमेरिका, युरोपतिर सरकारले नै मेथाडोन खुवाउने गरेको थियो । किनभने, यसले मान्छेलाई बेसुर बनाइदिन्छ, सुतिरहने भएकोले चोरी, डकैती त गर्दैन र विस्तारै निष्क्रिय हुदै मर्छ भनेरै त्यताको सरकारले दिएको हो’–कुँवरले भने–‘नेपालमा यो भित्र्याउनै हुदैनथियो, बरु यसको पैसा यहाँको सफल उपचार विधिमा लगानी गरेको भए धेरै प्रतिफल हुनेथियो ।’ संयुक्त राष्ट्रसंघका धनी सदस्य राष्ट्रले पैसाको साटो विकाससिल, गरिब मुलुकमा मेथाडोन दिनथालेको कारण पनि नेपालमा यसको प्रयोग बढेको उनको भनाई छ ।
नेपालमा हाल विराटनगर, चितवन, काठमाण्डौं, पोखरालगायत शहरमा मेथाडोन प्रयोगमा आइरहेको छ । सरकारले लागुऔषधको मौखिक प्रतिस्पधान उपचार पद्दतिअन्र्तगत मेथाडोन र बुप्रेनर्फिनको प्रयोग गर्न निर्देशिकासमेत बनाएको छ । जसअनुसार प्रत्यक्ष चिकित्सकको निरारानीमा मात्रै मेथाडोन खुवाइन्छ । तर, दातृ निकायको तार्गेट पुरा गर्न प्रोजक्ट हात पारेका संस्थाहरुले सामान्य लागुऔषध दुव्र्यसनी, रक्सीको लतमा फसेकाहरुलाई पनि मेथाडोन दिने गरेको संघर्ष समितिले जनाएको छ । ‘हामीले कसरी वितरण भइरहेको छ, भनेर अध्ययन गर्दा जाडरक्सी सेवन गर्नेलाई पनि दिएको भेट्यौं । विराटनगरमा त उल्टै १४५० रुपैया पनि दिइदो रहेछ’–पूर्वलागुऔषध प्रयोगकर्ता रोमनकुमार राईले भने–‘दुव्र्यसनीहरुले नरफिन, डाइजिपाम र एभिलको सेट प्रयोग गर्छन्, तर मेथाडोनले नरफिनको मात्रै तलतल मेट्दो रहेछ, त्यसैले उनीहरु मेथाडोन लिएर पनि डाइजिपाम, एभिल प्रयोग गर्ने अधिक सम्भावना हुदो रहेछ ।’
सुनसरीमा मेथाडोन कार्यक्रम लागुगर्ने तयारीमा रहेको पुर्नजिवन केन्द्रका कार्यक्रम प्रबन्धक विजय लिम्बूले मेथाडोन लागुऔषध भएपनि चिकित्सकको प्रत्यक्ष निगरानीमा दिइने उपचार विधि भएको बताए । सुईबाट हेरोइन÷नर्फिन प्रयोग गर्नेलाई एचआइभी, हेपाटाइटिसको जोखिम भएकोले त्यसबाट बचाउन नेपाल सरकारले नै नीति बनाएर कार्यक्रम लागुगरेको उनको भनाई छ । ‘सबै सुधार केन्द्रसम्म जान सक्दैनन्, त्यस्तालाई लक्षित गरेको कार्यक्रम हो । निश्चित अवधिसम्ममा डाक्टरले डोज घटाउदै गएर सुन्यमा झार्ने हो’–उनले भने–‘यो विधि क्षयरोगको उपचार डट्स विधि जस्तै हो ।’ केन्द्रमा १० देखि १५ प्रतिशत हेरोइनका दुव्र्यसनी सम्पर्कमा आउने गरेको दाबी गर्दै केही संस्थाले प्रस्ताव हालेर पनि नपाएपछि कार्यक्रमको विरोध गरेको बताए । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता सुर्दशन निरौलाले भने डक्टरको प्रेस्काइपअनुसार नै दिइने उपचार विधि भन्दै डक्टरले प्रयोग गर्नुहुदैन भनेमात्रै आफुसँग कुरा गर्न प्रतिक्रिया दिए ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे