आर्मीलाई हराउदै मनाङ बुढासुब्बा गोल्डकपको फाइनलमा

धरान । पूर्वविजेता लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब १७ औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा पुगेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहिबार भएको दोस्रो तथा अन्तिम सेमीफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ को झिनो गोलअन्तरले हराउदै मनाङले फाइनलमा स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा लियोन्स जिखाई(डोडोज) र शुलभ मास्केले गोल गर्दै मनाङलाई फाइनलमा पुर्याएका हुन् । आर्मीबाट अमृत बस्नेतले गोल गरेपनि जितको लागि पर्याप्त भएन । यद्यपी, मनाङले जितको लागि अतिरिक्त समयसम्म संघर्ष गर्नुपरेको थियो ।
उपाधिको लागि मनाङले शनिबार फाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबको सामना गर्नुपर्नेछ । एपिएफ बुधबार आयोजक धरानलाई ३–० ले हराउदै फाइनल पुगिसकेको छ । बुढासुब्बामा दुई पटक उपाधि जितेको मनाङ फाइनल पुगेको यो चौथो पटक हो । यसअघि मनाङले ०६० र ०६७ मा उपाधि जितेको थियो भने ०६८ मा थ्री स्टारसँग फाइनलमा पराजित हुदै उपविजेतामा सिमित भएको थियो । खेलमा पहिलो हाफको ५ मिनेटमा नै अमृत बस्नेतले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । टंक बस्नेतको क्रस पासलाई सन्तोष तामाङले डि बक्सबाट प्रहार गरेपनि मनाङका गोलकिपर विशाल श्रेष्ठलाई लागेर फर्कियो । बाउन्स भएको त्यही वललाई अमृतले जाली चुमाएका थिए । एक गोलले पछि परेको मनाङका लागि दोस्रो हाफको नवौं मिनेटमा लियोन्सले बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाए । सुलभ मास्केको कर्नर प्रहार गरेको वल आर्मीको डि बक्सबाट क्लियर हुन नसकेको मौकामा लियोन्सले हेडमार्फत गोल गरेका थिए । दोस्रो हाफको इञ्जुरी समयमा मनाङका लियोनल स्टिेफनलाई हातपात गरेपछि रेफ्री श्रवण लामाले आर्मीका युद्ध शाहीलाई रेडकार्ड दिए । त्यही झोकमा शाहीले रेफ्रीलाई लात हानेपछि तनाव सृर्जना भएर करिब दश मिनेट खेल अवरुद्ध भएको थियो ।
निर्धारित समयको खेल सकिएपछि पनि विवादको कारण करिब २० मिनेटसम्म पनि खेल सञ्चालन हुनसकेन । दश मिनेटको अतिरिक्त समयको खेलमा ३ मिनेटमा शुलभ मास्केले निर्णायक गोल गरे । दश खेलाडीमा सिमित भएपछि आर्मी दबाबमा रहेको मौकामा दिपक राईको पासमा शुभल गोल गर्न चुकेनन् । खेलको म्यान अफ दि म्याच आर्मीका जितेन्द्र कार्की घोषित हुदै नगद ५ हजार र ट्रफी पाए । खेलमा पहिलो हाफमा आर्मीले मनाङलाई दबाबमा राखे पनि गोलपोष्टमा धेरै आक्रमण गर्न सकेन । पहिलो हाफको इञ्जुरी समयमा अमृत बस्नेतको पासमा सुदिप श्रेष्ठको साइड भलि प्रहार आकासिएको थियो । दोस्रो हाफको २५ औं मिनेटमा टंक बस्नेतको पासमा अमृतकै प्रहार मनाङका डिफेन्सलाई ठोक्किदै बाहिरिएको थियो भने ३४ औं मिनेटमा टंकले प्रहार गरेको वलले जाली चुमेपनि लाइन्समेनले अफसाइड दिएका थिए ।
पहिलो हाफको १४ औं मिनेटमा मनाङका रवि पासवानको क्रसमा दिपक राईले वान भर्सेस वानको स्थितिमा गरेको हेड आर्मीका गोलकिपरले समाते । दोस्रो हाफको ८ मिनेटमा दिपक राईको कडा प्रहार गोलकिपरले पञ्च गरेर असफल बनाए । यस्तै, ३२ औं मिनेटमा रवि पासवानको क्रसमा लियोन्सले गरेको हेडलाई आर्मीका गोलकिपरले पञ्च गरिदिए । त्यही वललाई नविन लामाले डि बक्स नजिकैबाट प्रहार गरेपनि डिफेन्सलाई ठोक्किदै बाहिरियो । ४३ औं मिनेटमा लियोन्सले विपक्षी खेलाडीलाई छक्याउदै एकल प्रयासमा प्रहार गरेपनि गोलपोष्ट नजिकबाट बाहिरिएको थियो ।
आर्मीका प्रशिक्षक मेघराज केसीले टिमले राम्रो खेले पनि रेफ्री र लाइन्समेनको कारणले हार्नुपरेको आरोप लगाए । मनाङको पहिलो गोल अफसाइड पोजिसनबाट भएको दाबी गर्दै उनले खेलको नियम नभएका रेफ्री र लाइन्समेनकै कारण हार्नुपरेको बताए । ‘अरु खेलहरु पनि हेरिरहेको छु, रेफ्री, लाइन्समेन क्वालिटिको छैन । यस्त्रो प्रतियोगिता गरेको आयोजकले राम्रो अफिसियलबाट खेलाउनुपथ्र्यो’–उनले भने । मनाङका प्रशिक्षक राजुकाजी शाक्यले पहिलो हाफमा चाडै गोल खाएको र तालमेल नमिलेको भएपनि दोस्रो हाफमा लयमा फर्किएको बताए । ‘दोस्रो हाफमा मात्रै मनाङले आफ्नो शैलीमा खेल्यो र जित्यौं’–उनले भने । प्रतियोगिताको फाइनल शनिबार मनाङ मस्र्याङ्दी र एपिएफ क्लबबीच हुनेछ ।










Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे