बुढासुब्बा गोल्डकपमा एपिएफ सेमीफाइनलमा

धरान । पाहुना टोली सिनाल्चु क्लब सिक्किमलाई हराउदै सशस्त्र प्रहरीको नेपाल महिन्द्रा एपिएफ १७ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा सोमबार सिनाल्चुलाई ४–१ ले पराजित गर्दै एपिएफचले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । जितसँगै एपिएफले पथरी गोल्डकपमा सिनाल्चुबाट व्यहोरेको हारको वदला पनि लिएको छ । पथरी गोल्डकपमा सिनाल्चुले एपिएफलाई टाइब्रेकरमा हराएको थियो । एपिएफले फागुन २० गते आयोजक धरान फुटबल क्लबसँग सेमीफाइनल खेल्नेछ ।
एपिएफको जितमा राजेन्द्र रावल, गणेश लावती, रञ्जन विष्ट र प्रविन साङ्तेनले गोल गरे । सिक्किमको लिग च्याम्पियन भइसकेको सिनाल्चुको लागि भने मार्टिन भुटियाले गरेको गोल सान्त्वनामा सिमित भयो । पहिलो हाफमा एपिएफलाई गोलरहित बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा सिनाल्चुले कमजोर प्रर्दशन गर्यो । दोस्रो हाफको १८ औं मिनेटमा खुसेन मगर रातो कार्ड पाउदै मैदानबाट बाहिरिनु सिनाल्चुको लागि दुर्भाग्य बन्यो । दश खेलाडीमा सिमित भएको सिनाल्चुले त्यसपछि लगातार ३ गोल खाएको थियो । खुसेनले एपिएफका सन्तोष श्रेष्ठलाई मुक्का प्रहार गरेपछि रेफ्री नविन्द्र मर्हजनले रातो कार्ड दिए ।
एपिएफको लागि पहिलो गोल दोस्रो हाफको तेस्रो मिनेटमा राजेन्द्र रावलले हेडमार्फत गरेका थिए । जङ्वु शेर्पाको कर्नरमा उनले गरेको हेडले जाली चुमेको थियो । दोस्रो हाफको २२ औं मिनेटमा डि बक्समा क्लियर हुन नसकेको वललाई प्रहार गर्दै गणेश लावतीले एपिएफको अग्रता दोब्बर बनाए भने लगत्तै २४ औं मिनेटमा रञ्जन विष्टले एक गोल थपे । गणेश लावतीले दिएको पासमा रञ्जनले सिनाल्चुका २ रक्षकलाई छक्याउदै आर्कषक गोल गरे । एपिएफको लागि चौथो गोल प्रविन साङ्तेनले ४४ औं मिनेटमा गरे । गोलकिपर र रक्षापंक्तिका खेलाडीबीच तालमेल नहुदा सिनाल्चुको गोलकिपर विट भएको मौकामा प्रविनले गोल गरे । सिनाल्चुको लागि मार्टिन भुटियाले दोस्रो हाफको ३४ औं मिनेटमा गोल गरेका थिए । निमा तामाङको पासमा उनले गोल गरेका थिए ।
सिनाल्चुका प्रशिक्षक आमोश सुब्बाले एपिएफको प्रसंसा गर्दै जितको हकदार भएको बताए । दश जनामा सिमित हुनु, नयाँ ठाउँ र राम्रो प्रशिक्षण गर्न नपाउनु हारको कारण भएको उनले बताए । ‘एपिएफको टिमसेट राम्रो थियो । हाम्रो खेलाडी फिट छैन, नयाँ ग्राउण्ड थियो, ७ दिन मात्रै ट्रेनिङ गरेको थियौं’–उनले भने । एपिएफका प्रशिक्षक कृष्ण थापाले पथरी गोल्डकपमा भएको हारको वदला लिन सकेकोमा खुशी हुदै पहिलो हाफमा खेलाडीले अपेक्षा अनुरुप स्कोर गर्न नसकेको बताए । ‘पहिलो हाफमा स्कोर नभएपनि नतिजा सोचेजस्तै भयो’–उनले भने । प्रतियोगितामा मंगलबारको खेल मनाङ मस्र्याङदी क्लब र झापाको मुनाल क्लबबीच हुनेछ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे