पारसले जोगाए मिस्टर पूर्वाञ्चलको उपाधि

धरान । फिटनेश फ्याक्ट्री धरानका खेलाडी पारस भुजेल छैठौं मिस्टर पूर्वाञ्चल शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार धरान ८ स्थित सभागृहमा आयोजित खुल्ला क्षेत्रीय प्रतियोगिताको ओभरअल राउण्डमा प्रथम हुदै भुजेलले उपाधि जोगाएका हुन् ।

प्रतियोगितामा ७० केजी तौल समुहमा प्रथम हुदै भुजेल उपाधिको लागि ओभरअल राउण्डमा स्पर्धा गरेका थिए । धरान ११ मंगलबारेका भुजेलले गत बर्ष पाँचौं सँस्करण पनि जितेका थिए भने उनी गत बर्षकै मिस्टर नेपाल पनि भइसकेका खेलाडी हुन् । उनी पोखरामा सम्पन्न मिस्टर बुलम्यानमा भने उनी दोस्रो भएका थिए । उपाधि जोगाएपछि खुशी हुदै भुजेलले जेठ तेस्रो साता विराटनगरमा हुने मिस्टर नेपालको तयारीमा जुट्ने बताए । ‘उपाधि जोगाउन सके, खुशी छुँ । अब जेठमा हुने मिस्टर नेपालको टाइटल मेरो लक्ष्य हुनेछ’–उनले भने ।

च्याम्पियन भुजेलले नगद ५० हजारसहित ट्रफी र मेडल हात पारे । यसबाहेक उनले २५ हजार बराबरको ट्रेड मिल(जगर मेशिन) र नगद ५ हजारसहित वेष्ट पोजरको पुरस्कार पनि पाए । दुई पटक मिस्टर पूर्वाञ्चल भइसकेका यारो जिम क्लब दमकका विकास धिमाल दोस्रो भए । उनी ६५ केजी तौल समुहमा प्रथम हुदै ओभरअल राउण्डमा भिडेका थिए । उनले नगद २५ हजारमा चित्त बुझाए । मोष्ट मस्कुलर म्यानको उपाधिसहित उनले थप ५ हजार पाए । यस्तै, ६० केजी तौल समुहबाट भिडेका फिटनेश फ्याक्ट्री धरानकै उत्तम खत्री तेस्रो हुदै नगद १५ हजार थापे भने धरान फिटनेश क्लबका प्रविण राजवंशी चौथो हुदै नगद १० हजार हात पारे । उनी ५५ केजी तौल समुहबाट प्रतियोगितामा सहभागी थिए । प्रतियोगितामा ५ हजारसहितको मोष्ट इम्प्रुभिङ खेलाडीको पुरस्कार मुनाल जम विराटनगरका रोशन कार्कीले पाए ।

विजेता खेलाडीहरुलाई आयोजक एलाइनेट जिम हलका अध्यक्ष बिक्रम लिम्बू, प्रमुख अतिथि एवं समानुपाति सभासद मिन बिश्वकर्मा, एन्फा केन्द्री उपाध्यक्ष किसोर राई, सुनसरी बडिबिल्डिङ संघका उपाध्यक्ष डम्बर तामाङ, डिएसपी सुदम कुमार सिजापति, युवा नेता सन्दिप श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा पूर्वको सुनसरी, मोरङ, झापा, उदयपुर, राजविराजलगायत जिल्लाबाट सहभागी थिए । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौल समुहमा स्पर्धा भएको थियो । प्रत्येक तौल समुहमा पहिलो हुने खेलाडीले मात्रै उपाधिको लागि ओभरअल राउण्डमा प्रतिस्पर्धा गर्न पाएका थिए ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे