कुवाको पानी सिधै उपभोग
धरान । घर नजिकै खानेपानी संस्थानको सार्वजनिक धारा छ, तर पानी थोपा आउदैन । पिउन, खाना पकाउनै समस्या भएपछि के गर्ने ? एक घण्टा समय खर्चेर भएपनि धरान १७ स्थित फोकल्याण्ड वस्तीकी ६२ बर्षीय शुभलक्ष्मी राई डोकोमा गाग्रो बोकेर पानी लिन सर्दु खोला पारी पुग्छिन् ।
सर्दु खोला पारी विष्णुपादुका जंगलमा कुवा छ । त्यही कुवाको पानी डोकामा बोकेर घर फिर्दा झण्डै एक बिहान समय बित्छ । निम्न आर्थिक अवस्थाकी राईको घरमा पानी प्रशोधन गर्ने फिल्टर छैन । न उनी कुवाको पानी तताएर पिउछिन् । फोहोर पानी सिधै उपभोग गर्दा झाडा, पखलाजस्ता रोग लाग्ने उच्च जोखिम छ । ‘कुवा नजिकै लुगा धुन्छन्, आफ्नो आँखाले देखि देखि पानी भरेर ल्याउछौं’–शुभलक्ष्मी भन्छिन्–‘घरमा फिल्टर छैन, तताएर पनि पिउदैनौं ।’ पानी तताएर अथवा फिल्टर गरेर मात्रै पिउनुपर्छ भन्ने जान्दा जान्दै पनि यहाँका अधिकांश परिवार कुवाको पानी सिधै उपभोग गर्छन् ।
सुख्खा याम लागेपछि खानेपानी संस्थानले स्रोत सुकेको भन्दै माग वमोजिम नियमित पानी वितरण गर्न सक्दैन । सम्पन्न परिवारले ट्यांकरमा सुद्ध पानी मगाएर उपभोग गर्छन् । तर, फोक्ल्याण्ड वस्तीकाझै विपन्न वर्गले भने कुवाको भर पर्नुपर्छ । धेरै दिनसम्म पानी नआउदा कपडा धुन, नुहाउन समस्या हुदा स्थानीय मिलेर ट्यांकरबाट पानी खरीद गर्छन् । त्यो पानी पिउन योग्य हुदैन । फोक्ल्याण्ड खानेपानी मुल उपभोक्ता समितिका अध्यक्ष प्रकाशचन्द्र लावती छरछिमेकलाई नपिउन आग्रह पनि गर्छन् । तर, उनको कुरा सबैले मान्दैनन् । ‘घरमा हिलट्यांक हुनेहरुले पो खानेपानी जोगाएर राखेको हुन्छ, हामीसँग त छैन । त्यही पानी नपिइ हुदैन’–वृद्ध सुकमाया मगरले भनिन् ।
उपमहानगरपालिका भइसकेको धरानका विपन्न वर्गका मानिसहरु शुद्ध खानेपानी पिउनबाट बञ्चित भइरहेको यो एउटा उदाहरण हो । नेपाल वसोवास वस्ती संरक्षण समाजको अनुसार धरान ११, १७, १८ र १६ का वस्तीबासीले विष्णुपादुकाको कुवा, खोलाको पानीमा भर पर्नुपर्ने बाध्यता छ भने धरान १५, १४ का वासिन्दाहरु देउरालीको भित्तामा उम्रेको पानीमा भर पर्छन् । ‘खोलामा बगेको पानी, कुवाको पानी उपभोग गर्नुपर्ने बाध्यता छ । जसको कारणले अधिकांश हैजा, आउ, लुतो, रुघाखोकीले ग्रस्त भइरहन्छन्’–समाजका पूर्वाञ्चल संयोजक कुमार कार्कीले भने–‘भन्न चै हामी उपमहानरबासी भन्छौं, तर खानेपानी जस्तो अत्यावश्यक सेवाबाट हामी बञ्चित छौं ।’
चिकित्सकहरु भने पानीलाई तताएर अथवा फिल्टर गरेर मात्रै पिउन सुझाव दिन्छन् । त्यसो नगरी पिउदा फोहोर पानीमा हुने किटाणुको प्रकार अनुसार झाडा पखाला, रुघाखोकीदेखि जन्डिस र हेपाटाइटिस ए र ई समेत हुनसक्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख डाक्टर प्रल्हाद कार्की बताउछन् । ‘पानी तताएर पिउदा किटाणु मर्छ । केही महिनाअघि विराटनगरमा पानीबाट नै हेपाटाइटिसको महामारी भएको थियो’–उनले भने ।
९ दिनदेखि पानी आएन
फोक्ल्याण्ड वस्तीमा जम्मा ३ सय ८४ घरधुरी छन् । वसोवास वस्ती संरक्षण समाजले आन्दोलन चर्काएपछि त्यहाँका वासिन्दालाई सुविधा स्वरुप सार्वजनिक धारा १२ वटा पुग्यो । आँगनमै धारा त आयो, तर पानी भने कहिल्यै नियमित आएन । ‘घरमा भात पकाउने पानी समेत छैन । नुहाउन नपाएको धेरै भइसक्यो । ९ दिन भयो धारामा पानी नै आएको छैन’–स्थानीय मनिता चौधरीले भनिन् ।
अति समस्या भएपछि फोक्ल्याण्ड खानेपानी मुल उपभोक्ता समितिको नेतृत्वमा शुक्रबार स्थानीयबासी खानेपानी संस्थानको शाखा कार्यालयमा डेलिगेशन गए । संस्थानले शनिबार बिहानै एक ट्यांकर खानेपानी पठाइदिने आश्वासन दिएर उनीहरुलाई फकाईदियो । ‘पानीको अति समस्या छ, लुगा धुन, घरधन्दा गर्न नपाएपछि मिलेर ट्यांकरमा पानी किन्छौं’–समितिका अध्यक्ष प्रकाशचन्द्र लावतीले भने–‘डेलिगेशन गयौं, भोली पानी आउछ भनेर पठाइदिए ।’ विपन्न वस्ती भएकोले उपमहानगरपालिकाले पनि वास्ता नगरेको उनको गुनासो छ ।
खानेपानी संस्थानले भने दैनिक करिब २ करोड लिटर खानेपानीको माग भएपनि अहिले एक करोडको हाराहारीमा मात्रै पानीको स्रोत भएकोले समस्या भएको जनाएको छ । संस्थानका वितरण शाखा प्रमुख कालीप्रसाद शर्माका अनुसार सतहगत स्रोत सर्दु र खर्दुबाट दैनिक ४० देखि ४५ लाख लिटर र जंगलको भुमिगत स्रोतबाट दैनिक ४५ देखि ५० लाख लिटर मात्रै पानी आइरहेकोले धान्नै मुश्किल छ । ‘अहिले धरानलाई पूर्व र पश्चित क्षेत्रमा विभाजन गरेर एक दिन बिराएर बिहान मात्रै पानी वितरण गरिरहेका छौं । फोक्ल्याण्डमा पनि त्यही अनुसार धारामा पानी गएको हुनपर्ने हो’–शर्माले भने–‘भल्वमा समस्याले पनि हुनसक्छ, त्यो हेछौं र भोली(शनिबार) ५ हजार लिटरको टं्याकरमा त्यहाँ पानी वितरण गरिदिन्छौं ।’
Comments
Post a Comment